Tuesday, June 15, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

बालमनोविज्ञानलाई ध्यानमा राखेर बनाइएको एउटा उदाहरणीय नेपाली पाठ्यक्रम 

Must Read

पाठ्यक्रम भन्नाले बालबालिकालाई कसरी पढाउने भन्ने कुरामा सहायता प्रदान गर्ने सामग्री हो । अर्थात् निर्देशिका हो । हामी यहाँनेर भाषा शिक्षणबारे कुरा गर्न लाग्दैछौं । शिक्षणको प्रसंग उक्काउँदै गर्दा सबैभन्दा पहिले शिक्षक, शिक्षार्थी र पाठ्यक्रम-यी तीन तत्वको उपस्थिति हुन्छ । त्यसपछि शिक्षार्थीको उमेर तथा भाषाज्ञानको स्तरको कुरा पनि शिक्षणको आधार हुन्छ । भक्खरै तरकारी पकाएको कराईलाई संकेत गरेर ‘यो तातो छ है’, भन्दियो भने वयस्क शिक्षार्थीले कराई छोयो भने पोल्छ भन्ने कुरा बुझ्छ । तर, एउटा शिशुलाई त्यही कुरो बुझाउनु पऱ्यो भने,‘यो कराई नछुनु, छोयो भने पोल्छ, घाउ हुन्छ’, भनेर विस्तारपूर्वक व्याख्या गर्नुपर्ने हुन्छ ।

यसर्थ, बालकक्षा पढाउनेहरुका लागि कसरी पढाउने भनेर दर्शाइएको कुनै आधारभूत निर्देशक सामग्री उपलब्ध भइदिए उनीहरुले पाठ्ययोजनामा आफ्नो बहुमूल्य समय खर्च गर्न पर्दैन भने एउटै निर्देशिका उपयोग गरेर पढाइए सबैतिरको शिक्षास्तरमा समेत एकरूपता कायम हुन्छ । यो अनिवार्य परिस्थितिलाई सम्बोध गर्दै साहित्य परिषद-भूटानले नेपाली भाषामा पहिलो तहको पाठ्यक्रम सार्वजनिक गरेको छ

मानिस संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो भाषालाई बोकेर जान्छ । भाषाले आफ्नो समाजको सभ्यता, संस्कृति र जीवनदर्शनका कुरा सधैं जोगाइराख्छ भन्ने कुरामा कोही पनि अन्जान छैन । यो चेतना शरणार्थी शिविरबाट पुनर्वाशमा आएका सबै नेपालीभीषी भूटानीहरुमा पनि विद्यमान थियो ।

यही चेतनाद्वारा अभिप्रेरित पूर्व शरणार्थीहरुद्वारा पुनर्वाशपछि विगत एक दशकदेखि अमेरिकालगायतका देशहरुमा नेपाली भाषा पढाउने अभियान चलिरहेको थियो । अहिले त्यो क्रम बढेर अझै परिस्कृत र व्यवस्थित हुँदै गएको छ । तर, अझै पनि एकरूपतामा यो प्रक्रिया चल्न सकेको छैन । भविष्यमा नेपाली भाषालाई स्थानीय कानूनी मान्यता दिलाउनलाई सबै क्षेत्रमा एउटै पाठ्यक्रम सुचारु गरी बालबालिकालाई भाषा सिकाउनु जरुरी भएको छ ।

यही उद्देश्यपूर्ति गर्न विभिन्न महानगरहरुमा स्थानीय सामुदायिक संगठन र व्यक्तिहरुको पहल सञ्चालित यो अभियानले एकरूपता कायम गरोस् भन्ने अभिप्रायले साहित्य परिषद-भूटानले पहिलो यो पाठ्यक्रम सार्वजनिक गरेको बताइएको छ । यो पाठ्यक्रम साहित्य परिषद-भूटान अन्तर्गत श्री खिम खतिवडाले अगुवाइ गरेको पाँच सदस्यीय ‘पाठ्यक्रम अनुसन्धान समिति’ले तयार पारेको हो ।

Cover page of Nepali Curriculum. Photo- LCOB

साहित्य परिषद-भूटानका डा.लक्ष्मीनारायण ढकालको कथनानुसार पुनर्वाशित देशहरुमा सम्पूर्ण नेपालीभाषी बालबालिकाहरु हिँजोआज नेपाली भाषा बोल्न छोडेका छन् । यो अवस्थामा साप्ताहिक कक्षा लगायत घर-परिवारमा पनि भाषाशिक्षाको अभ्यास आवश्यक देखिएको छ । केही मात्रामा हुँदैछन् तर, पर्याप्त भएका छैनन् । स्थानीय देशकाल र परिस्थिति अनुरुपको पाठ्यक्रम नहुँदा भाषा पढाउन अनेक समस्याको सामना गर्नु परेको अवस्थामा सोही आवश्यकतालाई परिपूर्ति गर्न यो पाठ्यक्रम अनिवार्य भएको हो ।

हामी धेरैजसो परम्परागत शिक्षा-पद्धतिका अनुभवी छौं । प्रौढ समयका हामी कतिपयको शैक्षिक जीवन विद्यालय पुग्नेबित्तिकै पाठ गर्ने, घोकेर श्लोक सुनाउने प्रक्रियाबाट चलेको थियो । घोकेका हरफहरु जस्ताको तस्तै लिखतमा उतार्ने प्रक्रियाबाट त्योबेलाको अभ्यास चलेको थियो । चरणबद्ध स्वर-व्यञ्जन रट्नु, बाह्रखरी घोक्नु, बिनामात्रा र मात्रायुक्त शब्द चिन्नु, क्रमश वाक्य र कविताहरु पढ्नुपर्ने उतिबेलाको शिक्षण व्यवस्था थियो । तर, अबको समय घोकन्ती विद्याको होइन । अनुभव र अभ्यासको व्यवस्थापन, प्रविधिको उपयोग जस्ता कुराबाट प्रभावित बनेको अहिलेको मानसिक चिन्तन पुरानो समयको तुलनामा काया पलट भइसकेको छ ।

जीवनको अधिकांश समय अर्थोपार्जनमा लगानी गर्नुपर्ने भएकाले अबका दिनमा पढ्ने र पढाउने दुवै पक्षको समय वचतबारे सोच्नु पनि अनिवार्य पक्ष हो ! त्यसो हुनाले छोटो समयमा सिकाइ र बुझाइको फैलावट विस्तार गर्ने पद्धतिहरुको विकास पनि सँगसँगै भइरहेको छ । शिक्षणमा यो चुस्त-दुरुस्त पद्धतिको अनिवार्यता कसैले नकार्न सक्ने कुरो भएन ।

अबको शिक्षणमा बनिबनाउ कविता र उखानका शब्दहरु कोट्याउनुभन्दा पनि शुरुमा बालबालिकाले आफ्नो शैशवकालमा भोगेका जीवनका अनुभवबाट संकलित कुरालाई बोलचाल-बातचित वा अन्तरक्रियाको माध्यमबाट आदान-प्रदान गर्ने विधिलाई प्रमुखता दिनु आवश्यक भएको छ । अतः अबको शिक्षणमा शब्दको घोकाइ र रटाइ नभएर रुचि जागृत गर्ने, उत्प्रेरणा जगाउने र क्रिया-अभ्यासबाट नयाँ कुरा सिकाउने सिद्धान्तको अनुशरण गर्नुपर्ने अनिवार्यतालाई साहित्य परिषद-भूटानले आफ्नो पाठ्यक्रममार्फत दर्शाएको छ ।

अहिलेसम्म नेपाली भाषा पढाउने संस्थान र व्यक्तिहरुले नेपालमा छापिएका पाठ्यपुस्तक र विभिन्न स्रोतबाट सामग्री संकलन गरी उपयोग गरिरहेका छन् । अधिकांश स्थानीय शहरहरु पढाउने स्वयंसेवीहरु शिक्षण अनुभव नलिएका अथवा पेशागत दक्षता हासिल नगरेका कारण पनि कतिबेला के पढाउने, कसरी पढाउने भन्ने अर्को समस्या छ । तर, अब भने परिषद-को पहलमा निर्मित पाठ्यक्रमको उपयोग गरेमा पढाउने स्वयंसेवी शिक्षकहरुलाई सहज हुनेछ ।

डा.ढकाल मार्फत प्राप्त जानकारी अनुसार साहित्य परिषद-भूटानद्वारा निर्मित यो पाठ्यक्रम बालबालिकाहरुका लागि होइन, शिक्षकहरुका लागि, अभिभावकहरुका लागि हो । यो पठ्यक्रमको सहायताले हामी हाम्रा नानीहरुलाई भाषा सिकाउन सक्छौं । नेपालमा उतैको परिवेशमा बनेका पाठ्यक्रम र पाठ्य-सामग्रीहरु हामी पुनर्वाशित देशहरुमा पर्याप्तरूपले सान्दर्भिक नहुने यथार्थ एकातिर छ भने अर्कोतिर हाम्रा बालबालिकालाई आफ्नै भाषामा स्थानीय इतिहासको मर्म बुझाउनु ऐतिहासिक दृष्टिले अनिवार्य हुन्छ । यसर्थ, यहाँको स्थानीयता, भूगोल, इतिहास र संस्कृति जनाउने शब्दहरुसमेत समेटेर बनाइएको पाठ्यक्रमको खाँचो थियो, सो परिपूर्ति गर्ने परिषद-को यो पहिलो सत्प्रयास हो ।

देश, काल र परिस्थिति अनुसार समुदायका सबै मानिसहरुले जीवन धान्ने अर्थोपार्जन- रोजगारमा अधिकांश समय खर्च गर्नुपर्ने यथार्थ सबैलाई थाहा छ । यो अवस्थामा हामी वर्षका सबै महिना वा महिनाका सबै हप्ता र दिनहरुमा भाषा-कक्षा सञ्चालन गर्न समर्थ छैनौं । यसर्थ ३६५ दिनलाई घटाएर हामीले केही दर्जन घण्टामा समेट्नुपर्ने भएको छ । अवस्था अनुसारको पाठ्यक्रम भएकाले यसभित्र निम्न विशेषताहरु छन् ।

  • यस पाठ्यक्रममा ४५ वटा कक्षाको सामग्री व्यवस्थित गरिएको छ । यसमा स्तर-अनुसार वर्ण, शब्द, वाक्य र सांस्कृतिक पहिचानका विषयहरु, स्थानीय भूगोल र इतिहासलाई संकेत गर्ने प्रयत्न गरिएको छ ।
  • स्थानीय शिक्षणपद्धतिमा ‘क्रेडिट’ व्यवस्था र ‘सेमेस्टर’ प्रणाली अपनाइने हुनाले तदनुरुप ढाँचा तयार गर्नु यसको अर्को विशेषता हो । स्थानीय शिक्षापद्धतिलाई पालन गरेर यस पाठ्यक्रमको व्यवस्थापन गर्ने प्रयास निर्माण समितिले गरेको छ ।
  • समाजको हितमा समय अर्पण गरेर योगदान दिइरहेका हाम्रो स्वयंसेवी शिक्षकहरु सबैले पेशागत शिक्षा लिन नपाउनुभएकोले उहाँहरुलाई सहजता प्रदान गर्नका साथै घर-घरमा अभिभावक स्वयंले पनि भाषा-शिक्षणको अभ्यास गराउन सक्ने गरी उनीहरुका लागि यथेष्ट सामग्री र निर्देशन यस पाठ्यक्रममा समेटिएको छ । त्यसैलेः
  • यस पाठ्यक्रममा के पढाउने ? कति पढाउने ? र, कसरी पढाउने ? भन्ने कुरालाई निर्धारण गरिएको छ ।
  • यसको अर्को महत्वपूर्ण विशेषता के भने यसमा पाठ्यक्रम, दैनिक पाठयोजना र पाठ्यवस्तु पनि राखिएको हुँदा यो आजसम्मकै नौलो प्रयोग हो ।
  • साथै शिक्षाशास्त्र र भाषाशास्त्रका सिद्धान्तलाई अक्षरशः पालन गर्दै शिक्षण सिकाइका प्रत्येक सोपानहरुलाई क्रमशःसुनाइ, बोलाइ, पढाइ र लेखाइलाई क्रमानुसार नै राखिएको छ । किनकि विषय शिक्षण र भाषा शिक्षणका प्रकृयामा केही भिन्नता हुन्छ । भाषा सिकारुमा सुनाइ र बोलाइलाई विशेष ध्यान दिनुपर्ने हुन्छ ।
  • अर्धवार्षिक र वार्षिक मूल्यांकनका लागि ७० अंकको मौखिक र ३० अंकको लिखित परीक्षाका लागि नमूना प्रश्नपत्रसहित राखिएको छ ।

देश, काल र परिस्थिति अनुसार शिक्षकहरुले निर्धारित धेरै प्रकृतिका कक्षा क्रियाकलापहरु आवश्यकता अनुसार छानेर प्रयोग गर्न सक्नेछन् । अनुकूलता अनुसार शिक्षण सामग्रीहरुको चयन र प्रयोग पनि गर्न सकिन्छ । यो पाठ्यक्रम पूर्णरूपमा बालमनोविज्ञानलाई ध्यानमा राखेर बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest News

Grassroot efforts aim to empower Bhutanese youths and promote positive social change

I once read somewhere that to be truly content with life, one needs to build his or her own...
- Advertisement -

More Articles Like This