नेपाली कथानक चलचित्र ‘देश खोज्दै जाँदा’ दादासाहेब फाल्के अन्तर्राष्टिय चलचित्र महोत्सव छैटौमा दिल्लीमा अफिसियल छनौटमा परेको थियो । चलचित्र दुई विधामा अन्तिम प्रतिस्पर्धामा पुगेको थियो ।
फिचर फिल्मतर्फ नेपालबाट ‘चलचित्र देश खोज्दै जाँदा’ बेस्ट एक्टर र बेस्ट चलचित्रको नोमिनेशनमा पर्न सफल भएको थियो । जुरीको दुई हप्ताको निर्णयबाट संसारभरका सात सयभन्दा बढी फिचर फिल्महरुबाट अफिसियल छनौटमा चलचित्र ‘देश खोज्दै जाँदा’ चुनिएको हो ।
दुई हप्तासम्म चलेको महोत्सव फाल्केको जन्म जयन्तीमा अप्रिल ३०, २०१६ शनिवारका दिन टिभोली ग्रेन्ड होटल एन्ड रिसोर्ट, नयाँ दिल्लीमा एक भव्य समारोहबीच समापन भएको हो ।
दादा साहेव फाल्केलाई भारतीय सिनेमाका पिता मानिन्छ । भारतमा सर्वप्रथम चलचित्र भित्र्याएका उनको वास्तविक नाम ढुंडीराज गोविन्द फालके हो । यस वर्ष दादासाहेबको एक सय सत्चालिस औं जन्मजयन्ती पनि परेको थियो ।
उक्त महोत्सवको अन्तिम सेमिनारमा सहभागिता जनाउन नेपालबाट कलाकारहरु हेमन्त बुढाथोकी, पटकथाकार उपेन्द्र सुब्बा, लेखक/निर्देशक प्रकाश आङदेम्बे र अमेरिकाबाट आर्ट/पोस्ट प्रोडक्सन डाइरेक्टर प्रल्हाद गुरुङ आएका थिए ।
चलचित्र ‘देश खोज्दै जाँदा’ भूटानी शरणार्थीहरूको नेपालको शिविर बसाइको वास्तविक कथामा आधारित छ । यस चलचित्रमा हेमन्त बुढाथोकी, बाबु बोगटी, अरुणा कार्की, मिना कोइराला, एलपि जोशी, केशव आचार्य, शिवशंकर थापा, टंक विकल्प, प्रताप सुब्बा, प्रकाश बुढाथोकी आदिले अभिनय गरेका छन् । चलचित्रको फाइनल पोस्ट प्रोडक्सनको कार्य कर्निज इफ स्टुडियो क्यालिफोर्निया (अमेरिका) मा भएको हो ।
लेखक/निर्देशक आङदेम्बे भन्छन्, ‘यो चलचित्र हाम्रो पहिलो प्रयास हो । पहिलो कार्यले नै यति ठुलो चलचित्र महोत्सवमा अफिसियल छनौट र दुई विधामा अन्तिम प्रतिस्पर्धामा आइपुग्न पाउँदा खुसी लागेको छ । चलचित्रका सम्पूर्ण सदस्यहरू प्रति आभारी छु ।’
प्रत्येक दश वर्षमा मात्र आयोजना हुने यो फेस्टिबल केही वर्षदेखि वार्षिक रूपमा हुँदै आएको छ । छोटो चलचित्र, वृत्तचित्र, विज्ञापन, गीतको भिडियो, एनिमेसन र फिचर विविध विधाहरू महोत्सवमा सहभागी रहने गर्छन् ।
यसका अलावा बाजिराहो मस्तानी (भारत), स्विट गर्लस् (स्विजरल्याण्ड), माझी द माउण्टेन मेन (भारत), मृगनभि (भारत, आसामिज), समर लिफ डफ (जापान), द पिउर हार्टेड भिलेन (तमिल), जन्जस (अर्जेन्टिना), उन हम ल मर (बेल्जियम), द रिर्टन (इरान), एडभन्चरर्स अफ अप्पु एन्ड गप्पु (अमेरिका), मिराकल्स अफ लाइफ फोर्स (जर्मनी), द बुक (युक्रेन) पनि महोत्सवमा सहभागी थिए ।
महोत्सवमा लाइफ टाइम एचिभमेन्ट अवार्ड अभिनेता मनोज कुमार, फाउण्डेशन अवार्ड बलिउड अभिनेत्री प्रियंका चोपडा तथा उन्नाइस पटक गिनिजबुकमा नाम चढाएका रामरहिम सिंहलाई दिइएको थियो ।