भूटानी शरणार्थी शिविरका  सार्छोक्पा शरणार्थी

0
118
शिविर भित्र निर्मित एक बौद्ध मन्दिर जहाँ बौद्धवलम्वीहरु पूजा पाठ गर्दछन् तस्विर सौजन्य: गोविन्द रिजाल

 गोविन्द रिजाल, बेलडाँगी झापा 

भूटानी शरणार्थी शिविर बेलडाँगीमा लोच्छाम्पा बाहेक भूटानकाअरू समुदायका सदस्यहरूको संख्या न्यून भएकोले, उनीहरूको उपस्थितिबारे कमैजानकारी बाहिर आउने गर्दछन्। भूटानमा तीन प्रमुख र बीसभन्दाबढि समुदाय र जनजाति बसोबास गर्दछन। तीन प्रमुख समुदाय मध्ये शार्छोक्पा (पुर्बेली) सबै भन्दा ठूलो र पुरानो समुदाय हो र उनीहरू शाङला भाषिका बोल्छन् । शब्दार्थ शार्छोकपाहरु भुटानको पूर्वका जिल्लाहरूमा बस्ने समुदायका मानिसहरू हुन । लोच्छाम्पा (दक्षिणबासी) दोस्रो ठूलो समुदाय दक्षिणको समतल देखि मध्यपहाडी भेगमा बस्छन र नेपाली भाषा बोल्छन् । ङालोंग  विगत एक शताब्दी देखि शाही परिवार र शासनको नजिकरहेका छन र यस समुदायका मानिसहरू जोङ्खा भाषा भिन्न भिन्न लवजमा बोल्छन् | सन् १९७१मा जोंग्खालाई भूटानको राष्ट्रिय भाषा घोषणा गरिएको थियो ।

भूटान सरकारले अपनाएको जातिय सन्तुलनको नाममा भूटानी नागरिक लोच्छाम्पाहरूको संख्या घटाउने कसरत र राजनीतिक आन्दोलन दमनगर्ने क्रममा विभिन्न तानाबाना रचेर झण्डै एक लाख नागरिकलार्इ  जबरजस्ती देश निकाला गरेको यथार्थ विषयमा सरोकारवालाहरू, अन्तर्राष्ट्रिय निकायहरू र विश्व समूदाय जानकार नै छन् ।

सन १९९० मा दक्षिण र १९९७ मा पूर्व भूटानमा भएका राजनैतिक प्रदर्शनहरुको प्रतिउत्तरमा सरकारको क्रूर दमन पछि देशबाट निष्कासन भइ शरणार्थी बन्न पुगेका लोच्छाम्पा र शार्छोक्पा मध्ये भाषाको निकटता र संख्याको बहुमतले लोच्छाम्पाहरु नेपालमा भूटानी शरणार्थीको पर्याय बनिरहे। गैर लोच्छाम्पाहरुमा शार्छोक्पासाथै भुटानका अरू भाषा बोल्ने जनजाति पनि छन।

स्वर्गीय रोङथोङ कुनले दोर्जीको पार्टी ड्रुक नेशनल काँग्रेसले आयोजना गरेको सन १९९७ को प्रदर्शनमा भाग लिएको अभियोगमा दुईहजार भन्दाबढि जेल परे, सयौंलाई सामूहिक कुटपिट गरियो र सयौं शरणार्थी बने। उक्त प्रदर्शनपछि लुनसी, मोंगर, टासिगाङ, टासियांसि, पेमागाच्छेल र सामड्रु पजोंखर जिल्लाका बौद्ध धर्मअन्तर्गत निङमापा सम्प्रदायका विहारहरू बन्द गरेर त्यहाँ अध्यानरत भिक्षुहरूलाई घर पठाइयो। मोंगर जिल्लाका भिक्षुक कर्मालार्इ गोली हानी मारियो। निमा गय्लछेनको थिम्पुको केन्द्रिय कारागारमा र उगेन वाङदिको चेम्गाङजेलमा मृत्यु भयो।

हाल बेलडांगीमा सत्र परिवार गैर-लोच्छाम्पा भूटानीहरु छन् । उनीहरू शार्छोक्पा परिचयले चिनिए पनि साम्प्रदायिक हुन नचाएको र समपुर्ण भुटानी आनदोलनको अभिभारा बोकेको गर्व गर्छन् । ड्रुक नेशनल कांग्रेसका अध्यक्ष रिनछेन दोर्जी भन्छन, “भूटानका सबै जिल्लाबाट आएकाछौ र नेपाली-भाषी वा शाङला-भाषी भनेर विभाजित हुँदा राष्ट्रिय आन्दोलन कमजोर हुन्छ।”

भारतमा भारतीय र ईनडियन शब्दहरूको प्रयोग जस्तै भूटानमा ‘ड्रुकपा’ र ‘भूटानी’ शब्दहरूको अर्थ स्पष्ट पार्न भूटानी विद्वानहरूलाई अनुरोध गर्दछन रिन्छेन |

उनिसँग भुटानका जेलहरुमा रहेका राजनैतिक बन्दीहरूको अद्यावधिक नामावली छ । दुई हजार भन्दा बढि बन्दीहरुको विभिन्न समयमा रिहा हुँदै हाल राजधानी थिम्पूनजिकैको चेम्गाङ जेलमा तेह्रजना गैर लोच्छाम्पा राजनैतिक बन्दीहरू छन् । चेम्गाङ जेलको राजबन्दीराख्ने ‘एन्टि नेश्नल सेल’मा पच्चीस लोच्छाम्पा शरणार्थी र पाँच भूटानभित्रका लोच्छाम्पाहरु छन् । जेलबाट छुटेकाहरु सबैलाई आ-आफ्नो जिल्ला लगेर गाँउ प्रमुखलाई बुझाइन्छ भने रिहाइपछि लोच्छाम्पा शरणार्थी बन्दीहरूलाई भने भूटानको सिमाना कटाएर छोडिन्छ। राज्धानीबाहेक अन्य जिल्लामा रहेका राजबन्दीको विवरण पाउन गाह्रो परेको रिछेन दोर्जी स्वीकार्छन् ।

शरणार्थी शिविरमा आफ्नो भाषा अध्ययन अध्यापनको वातावरण नभएको जोङ्खा भाषा शिक्षक सेरव छेत्री गुनासो गर्छन्। अरु राजनैतिक दलहरूसँगको सम्बन्धमा र शिविर भित्रको पीरमर्का विषयमा रिछेन दोर्जी भन्छन “पूर्वको भगवानलाई र्ढोग्दा पश्चिमको भगवानलाई ढाड पर्छ।”शरणार्थी शिविर व्यवस्थापन समितिहरूमा गैर-लोच्छाम्पाहरुको प्रतिनिधित्व नभएको हुँदा अल्पसंख्यकमा परेका समुदायका पीर मर्का कठिनाइहरू सही निकाय सम्म पुर्याउन नसकेको र सुनवाइ नहुने गरेका घटनाहरू पनि छन। सानो समुदाय भएर नै सबै नजिकै बसेका छन्, एउटा बौद्ध विहार बनाएकाछन, लोसार र चाडपर्वहरू संगै मनाउँछन, फुर्सदमा काँड-धनु र तारो खेल्छन जुन भूटानको राष्ट्रिय खेल हो ।

उता देशभित्र आन्दोलनमा संलग्नका परिवारजनलाई सुरक्षा सफाइ प्रमाणपत्र “नो अबजेक्सन सर्टिफिकेट ”नदिएको हुदाँ विद्यालय प्रवेश, पठन पाठन गर्न नपाएको र सरकारी सुविधाहरुबाट बन्चित भएको दुई-तीन दशक भै सक्यो भन्ने उनीहरूको गुनासो छ तर सुन्ने कसले ?

सन १९९० को शुरूदेखि सन २००७ सालसम्म पुर्बी नेपालका झापा र मोरङ्गका शरणार्थी शिबिरमा दुःख, निरासा, तनाव, मानसिक सन्त्रास, र अनिश्चित भविष्य भोग्दै बाँच्न बाध्य भूटानी शरणार्थीहरू २००८ साल देखि २०१६ सालको बिचमा तेस्रो देश स्थानन्तरण कार्यक्रम अन्तर्गत अमेरिका, क्यानाडा, अष्ट्रलिया लगायत थुप्रै पश्चिमा मुलुकहरूमा सुदृड जीवन यापन गर्न पुगिसकेका छन। तेस्रो मुलुक जान ईच्छा जनाउने गैर लोच्छाम्पा शरणार्थीहरुमा प्राय युवापुस्ता छन् । हाल सम्म तेह्र जना शार्छोक्पा युवाहरु अमेरिकाको भर्जेनिया र जर्जिया पुगिसकेका  छन। कोहि बुझेर, कोहि बाध्यतामा परेर र कोहि जहाजको अनुभव लिन तेस्रो देशप्रति ईच्छा गरेको एक जोङखा भाषा शिक्षक सुनाउँछन् । । त्यसो त अझै स्वदेश फिर्तीकै पक्षमा पाँच देखि दश हजार शणार्थीहरू शिविरमा तीन दशकदेखि संकटपूर्ण जीवन बाँच्न बाध्य छन् जस्मा एक सय तीस जनजाति गैर लोच्छामपा शरणार्थीहरु आ-आफ्नो भविष्यको पर्खाइमा छन बेलडांगी शिविरमा शरणार्थी भित्रका शरणार्थीहरू भएर।