पुनर्वासमा भाषा संरक्षणको आग्रह

0
155

 Ganga Lamitareगंगाराम लामिटारे, ओहायो, अमेरिका

उपेक्षित पाटोः

तेइस वर्षअघि मार्च १७,१९९३ मा स्थापना भएको नेपाली भाषा परिषद् भूटान, नेपाली साहित्य परिषद् भूटान र वर्तमान साहित्य परिषद् भूटान नै भूटानीको सबैभन्दा जेठो भाषिक एवं साहित्यिक संस्था हो । शरणार्थी जस्तो विकट अवस्थामा पनि भाषिक एवं साहित्यक सङ्घर्ष गर्दै आएको परिषद् पुनर्वाससँगै  वर्तमान अमेरिका भित्रिएको छ र अमेरिकाको ओहायोको केण्टमा औपचारिक रूमपमा दर्ता पनि भइसकेको छ । यसको तत्कालीन उदेश्य भनेको मातृ भाषा पढ्न पाउँने व्यक्तिको जन्मसिद्ध अधिकार हो र मातृ भाषाको पठनपाठनका माध्यमबाट समृद्ध भाषाको विकास गरेर स्तरीय साहित्यको सिर्जना गर्नु हो । भाषा परिष्कार नभएसम्म स्तरीय साहित्यको जन्म हुनसक्दैन । यो भाषा परिषद्को मान्यता हो ।

यद्यपि नेपाली साहित्य  परिषद् भूटान, नेपाली पुस्तकहरू जलाइएका ती दुरदिनहरूको पृष्ठभूमि हो । गोली ठोकी मारिएका तमाम शहीदहरूका त्याग, तपस्या  र बलिदानको इतिहास हो । जेलमा सडिरहेका  र गलिरहेकाहरूका भूटानी जनताहरूको मलमपट्टि र आवाज पनि हो। समस्त भूटानीहरूको सम्झनाको झिल्को र चेतनाको चिनारी हो । भाषाका लागि भोको पेट र खाली खुट्टा खट्ने ती तमाम स्वयंसेवकहरूको वर्तमान हो र भावी पुस्ताका लागि सुनिश्चित भविष्य  हो । धुक्धुकी, स्वभिमान र जातीय पहिचानको मेरुदण्ड पनि हो । खासगरी प्रवासमा लामो समयदेखि जनताको सेवा गर्दै आउने संस्थाहरूमध्ये  २ वटा संस्थाहरू मात्र जीवित छन् । भूटान न्युज सर्भिस र  नेपाली साहित्य परिषद्, भूटान । एउटाले सूचना र अर्कोले चेतना र सिर्जनाको क्षेत्रमा पुर्याएको योगदान कसैले पनि बिर्सन मिल्दैन ।  समाजका लागि निरन्तर सेवा दिइरहेका यी  ऐतिहासिक धरोहरलाई बचाउँनु हामी सबैको साझा कर्तव्य पनि हो । स्थापना काललेखि नै परिषद्ले सञ्चालन गरेका शैक्षिक एवं साहित्यिक कार्यक्रमबाट ८ हजारभन्दा बढी भूटानीहरू लाभान्वित बनेका छन् ।  त्यसमा ५ सयभन्दा बढी त शिक्षकहरू छन् । यसै गरी परिषद्को वार्षिक साहित्य प्रकाशन कोपिलाबाट लेख्न सुरू गर्नेहरू नै आज साहित्यकारका रूपमा अफूलाई स्थापित गर्ने क्रममा छन् ।  तर सिर्जना अभ्यासको वास्तविक पृष्ठभूमि मानिएको परिषद् र कोपिलाको योगदानबारे लेख्न निकै कन्जुस्याइं गरिएको छ ।  शिवलाल दाहालद्वारा लिखित “अलविदा बेलडाँगी”ले जति लेख्नुपर्थ्यो, त्यति लेख्ने जमर्को गरेन । त्यस्तै एतिहासिक भनिएको गजल सङ्ग्रह “दबाइएका आवाजहरु”ले समेत २३ वर्ष लामो भाषिक सङ्घर्ष, साहित्यिक क्रान्तिको इतिहासप्रति इमानदारिता बिर्सिएको छ । स्कुलका भित्तेपत्रिका र हवाइपत्रिकाहरू अटाउन सक्ने  त्यस कृतिमा  ६ अंकसम्म निरन्तर प्रकाशित भएको कोपिला अटाउन सकेन । त्यस कालखण्डमा लेखिएका गजल र तिनीहरूका स्रष्टाहरू अटाउन सकेनन् । यसबाट स्पष्ट हुन्छ कि  वास्तविक इतिहासप्रति जानीजानी दुराग्रह गरिएको छ । चेतना र सिर्जनाको २३ वर्ष लामो इतिहासलाई कुल्चिएर लेखिएका यी कृतिहरू आफैमा पूर्ण छन् वा अपूर्ण, त्यो त समालोचक र इतिहासकारहरूले जान्ने कुरा हो । कुनै पनि कृतिको स्तर निर्धारण गर्ने कार्य समालोचक वा सम्बन्धित इतिहासकारको हो । स्वयम् लेखकले नै कृतिको मूल्य निर्धारण गर्ने हो भने समालोचक र इतिहासकारहरूको के काम ? इतिहास भनेको सत्यको दस्ताबेज हो र लेख्नेहरूले सही अनुसन्धान गरेर मात्र सत्य र तत्थ्यलाई उजागर गर्नसक्नुपर्छ । यो इतिहासकारहरूको धर्म हो । यसरी दुई दर्जनभन्दा बढी कवि र कलाकारहरूको सम्मान र अभिनन्दन गरिसकेको, हजारभन्दा बढी सदस्यहरु भएको र आधा दर्जनभन्दन बढी आजीवन सदस्यहरु भएको, विभिन्न विषयमा विद्यावारीधि गरेका ५ जना प्रोफेसरहरू सम्मानित सल्लाहकारसमेत रहेको साहित्य परिषद्लाई मास्ने चलखेलहरू पनि भइरहेका छन्, यतिबेला । २३ वर्ष लामो चेतना र सिर्जनका क्षेत्रमा संर्घष गर्दै आएको भूटानकै जेठो साहित्यिक संस्थाको योगदानलाई सम्मान गर्नुको सट्टा त्यसको अस्तित्व माथि नै बहस हुनथालेको छ । सबैतिरवाट नेपाली पठनपाठनका लागि साहित्य परिषद् पुनः सक्रिय हुनुपर्छ भनेर जनआवाजहरू उठिरहेका बेला एकताको बहस सुरू भएको छ । एकता हुनु राम्रो कुरा हो । तर एकता भएर केही गरेको उदाहरण पनि हामीसँग छैन । नेपालमा एकताको नाममा दुई दशक खेर फालियो । यो कसैले बिर्सिएको छैन । पुनर्वासमा पनि एकताको नाममा  त्यही पुनरावृत्ति हुँदैछ ।   परिषदबाट यदि कोही फुटेर गएका छन् भने ती पुनः सामेल हुन सक्लान्  तर प्रतिपस्पर्धा गर्ने प्रवृत्तिले खास कुनै उपलब्धि हुनेछैन |  प्रसिद्धिको उच्चाइमा  पुर्याउनका लागि मात्र  गठित हुँदैन संस्था । कुनै निश्चित उद्देश्य प्राप्तिका लागि स्थापित भएको हुन्छ । त्यस्तो संस्थालाई कसैले  मास्न पनि चाहदैन । एकता त गफ मात्र हो , समयको बर्बादी हो  । बरु,  कामले एकता गर्नसक्छ । त्यसैले आजको अवश्यकतातिर कदम चाल्न जरुरी छ । इतिहासलाई कुल्चिने र ढाड भाँच्ने कामबाट कसैको हित  हुँदैन । नयाँ मार्ग निर्माणको झन्झटतिर लाग्नुभन्दा  बरु पुरानैलाई सुधार गरेर  हिँड्दा छिट्टो गन्तव्यमा पुग्न सकिएला । व्यक्तिसँग असन्तुष्टि र दुराग्रह छ भने त्यसलाई सम्वाद र छलफबाट समाधान गर्न सकिन्छ नै । त्यसैले हाम्रो यो  भाषिक धरोहरलाई बचाउनको निम्ति यस्ता चलखेल र षडयन्त्रहरूबाट कसैले विचलित हुने आवश्यकता छैन । अतः सबै सिर्जनशील युवाहरूलाई साथमा लिएर अघि बढ्न साहित्य परिषद् भूटानका वर्तमान कार्यकर्ताज्यूहरू, शुभचिन्तकज्यू र भाषा साहित्यलाई माया गर्ने सबै भूटानीहरूमा हार्दिक आग्रह गर्दछु  ।

पुनर्वासमा भाषाः

पश्चिमतिर सरेको नाथे  ९ वर्ष नबित्तै अघिल्लो र पछिलो पुस्ताबीच नेपालीमा बोल्चाल हुनछाडेको छ । बच्चाले नेपाली बोलेकोमा भन्दा बिर्सिएकामा बढी गौरव महसुस गर्न थालिएको छ । स्थापित साहित्यकार, कलाकार र नेपाली भाषामै जागिर गर्ने सयौँ दोभाषेहरूका घरमासमेत नेपाली भाषाको प्रयोग हुन छाडेको अवस्था छ । पुनर्वासका शुरुकै वर्षमा भाषाको यो स्थिति छ भने २५ वर्षपछिको अवस्था कस्तो होला ?  परिकल्पना नै गर्न सकिन्न ।

सात वर्षसम्मका बच्चाहरूलाई साधारण बोलचालका लागि ३० देखि ३५ सय शब्दहरूको अवश्यकता पर्छ । के  घरमै त्यस्ता शब्दहरु सिक्ने वातावरण हामीले निर्माण गरेका छौँ ?  बच्चाहरूले यति छिट्टो भाषा बिर्सिनुमा कस्को लापर्वाही हो ? बच्चालाई बुवा-मुमा सिकाउनुको सट्टा डेडी मम्मी, मामा-माइज्युको सट्टा अंकल र आण्टी सिकाएर भाषा र संस्कृति पक्षपोषण गर्ने हामी भोलिका लागि कस्तो समाज निर्माण गर्दैछौं ? कुरा गम्भीर छ । सन्तानलाई डाक्टर, इञ्जिनियर, प्रोफेसर र वैज्ञानिक बनाउने होडमा भाषा, संस्कार, संस्कृति र सामाजिक दायित्वहरू सिकाउन बिर्सिएका त छैनौँ ? बच्चाको कलिलो बुद्धि मुछेको माटो न हो, जसलाई जस्तो बानाउन चाह्यो पछि त्यही बन्ने न हो। आमा-बाबुको काख नै बच्चाहरूका लागि पहिलो पाठशाला हो र बाबु-आमा पहिलो गुरु पनि । प्रारम्भमा गुरुले जे सिकायो, त्यसैबाट बच्चहरूको जीवन अनुप्राणित र प्रभावित हुन्छ । जस्तो वृक्ष रोप्यो त्यस्तै फल र जति मलजल गर्‍यो त्यही अनुरूपको फलहरू फल्ने न हो । कवि शिरोमणि लेखनाथले भनेझैं-

खोज्छौ स्वर्ग गर्छौ पाप, जान्दैनौ कर्मको गति ।
रिठ्ठाको बोट रोपेर, कहाँ फल्दछ कागति ?

पुनर्वासको साहित्यः

भाषा साहित्यको नाममा संस्था खोल्ने र भत्काउने अभियान  नै चलेको छ ।  सामाजिक सरोकार भन्दा पनि बढी संस्थाहरू व्यक्तिगत स्वार्थपूर्तिका माध्यम र विज्ञापनका साधन बनेका छन् । नेता बन्ने महत्वकाङ्क्षा  युवाहरूमा बढ्दै छ । संस्था खेल्ने र त्यसको प्रमुख बनेर रातारात सस्तो प्रसिद्धि कमाउने प्रवृत्तिले समाजमा अन्योल र वितृष्णा बड्दैछ । संस्था खोल्ने, कृति प्रकाशन गर्ने र त्यसै संस्थाबाट आफू  स्वयम् सम्मानित हुने परम्परा स्थापित भएको छ । संस्था गठन हुनु आफैँमा नराम्रो  होइन तर समाजको आधारभूत अवश्यकताप्रति जवाफदेही बन्न नसक्नु नै ती संस्थाहरूको ठूलो  कमजारी हो भन्ने मलाई लाग्छ । एकले अर्कालाई हिलो छ्याप्ने र धारेहात गरेर सराप्नेमा  युवापुस्ता व्यस्त छ । म मात्र जान्ने, अरू सबै मूर्ख, मैंले गरेको मात्र ठिक, अरूले गरेको वेठिक भन्ने अभ्यासबाट सचेत र सिर्जनशील युवाहरू आक्रान्त छन् । एकले अर्कालाई सम्मान र इज्जत गर्नुका सट्टा म नै सर्वेसर्वा हुँ भन्ने प्रवृत्ति बढेको छ । समाजलाई निस्वार्थ सेवा दिने काम भाषिक एवं साहित्यिक संस्थाहरूको हो भन्ने कुरा सबैले बिर्सिए झैँ छ । स्वार्थपूर्ति र प्रसिद्धिको महत्वकाङ्क्षाबाट साहित्यक्षेत्र धराशायी भएको छ । राजनीति र साहित्यको धरातल एकै भए पनि विधागतरूपमा पृथक् हुन्  भन्ने पनि बिर्सिए जस्तै छ । साहित्य राजनीतिको मैदान भएको छ । साहित्यलाई राजनीतिकरण गरिनु हुँदैन भन्ने चेत पनि हराए जस्तै छ । खासै कामभन्दा पनि बढी नामकै लागि सामाजिक सन्जालमा होहल्ला चलाइएका छन् । कृतिहरू प्रकाशन र गीति एल्वमहरूको ओहिरो लागे पनि ती वास्तविक स्तरीयताबाट चिप्लिएका छन् । एक दुईवटा गजल र रूबाइ सङ्ग्रह प्रकाशित गर्नेहरू पनि आफूलाई  स्थापित साहित्यकारका रूपमा प्रतिष्ठापित गर्ने प्रयासमा छन् । भाषा हराए पनि साहित्यिक आन्दोनहरू चल्दैछन् । जस्तासुकै  सिर्जना भए पनि त्यसले साहित्यिक मान्यता पाउनु पर्छ भनेर  स्वीकारोक्ति अभियानहरू चालिँदैछन् र त्यस आन्दलनको नेतृत्व विश्व भूटानी साहित्य सङ्गठनले गर्दैछ । एकपछि अर्को कृति र एल्बमहरू प्रकाशनको ताँती नै लागे पनि ती सामाजका सम्पत्ति बन्नसकेका छैनन् । सिर्जना भन्ने कुरा आफ्ना लागि नभएर समाजका लागि हुनुपर्ने हो तर हामीकहाँ त्यस्तो देखिएन । समाजका लागिभन्दा पनि व्यक्तिगत प्रसिद्धि र जस्तो लोकप्रियता चुम्ने अभिप्रायबाट कृतिहरू प्रकाशन भएका छन् र सङ्गठनहरू खोलिका छन् । त्यसैले अधिकांश कृतिहरू र साहित्यिक संस्थाहरू सामाजिककरण हुन सकेका छैनन् ।  लेखक, साहित्यकर र कविको वास्तविक परिभाषा के हो भन्ने बोध पनि हामीले बिर्सिसका छौँ । कला र सङ्गीतको क्षेत्रमा पनि त्यस्तै अवस्था छ । अब भन्नुहोस्, हाम्रो साहित्य र सङ्गीत अग्रगमनतिर छ वा प्रतिगमनतिर ? छुट्याउन निकै गाह्रो छ यतिबेला ।

ठेलीका ठेली किताब  पढेर आफूलाई शिक्षित त ठानियो तर व्यवहार पढिएन । नैतिकता र संस्कार सिकिएन । भूटानमा निर्देशकडासो हुने र नेपालमा राम्रो शिक्षक बन्ने दौडमा हामीले सामाजिक मूल्य, मान्यता, नैतिक जिम्मेवारी र  कर्तव्यसमेत  बिर्सिदियौं । सन्तानलाई जहिले अर्कालाई उछिन्ने, जितेर अघि बढ्ने र पढेर दोस्रो होइन पहिलो हुनुपर्छ भन्ने मात्र सिकायौं । वर्तमान युवाहरूमा देखिएको अकर्मण्यता नै हाम्रा तिनै गलत अभ्यासका दुष्परिणामहरू हुनसक्छन् । शिक्षाका साथसाथै संस्कृति, सभ्यता, परोपकार, अग्रजहरूको सम्मान, अशक्तहरूको सेवा र सहयोग पनि गर्नुपर्छ भनेर सिकाएको भए आज छोराले छाड्यो, छोरीले बिर्सिई, बुहारीले हेला गरी र सन्तानले समाजलाई बिर्सिए भनेर टाउकामा हात राखेर छात्ती पिटीपिटी रूनुपर्ने थिएन नै । जस्तो बिउ रोप्यो त्यस्तै फल फल्ने न हो । संस्कारविनाको शिक्षाले पक्कै पनि कसैको भलो  गर्दैन भन्ने चेत सबैमा हुनुपर्छ । र सन्तानलाई शिक्षाका साथसाथै संस्कार, संस्कृति र नैतिक शिक्षा पनि त्यतिकै जरुरी छ भन्ने बुझ्नुपर्छ ।

पढाउनेको प्रोत्साहनः

भाषा रह्यो भने मात्र साहित्य रहन्छ र जातीयता बाँच्न सक्छ । भाषा नै रहेन भने न साहित्य रहनसक्छ न त साहित्यिक अभियान नै बाँच्नसक्छ; न त संस्कृति र कला नै जीवित रहनसक्छ ।  हाम्रो अवस्था  नेपाली मित्रहरूको जस्तो छैन, नेपालीहरूको आवागमन भइरहेकाले भाषाको समस्या छैन । नेपालबाट प्रवास भित्रिने हरेक मानिसले भाषा लिएर अएका छन् । साहित्य र संस्कृतिका कोशेली लिएर अएका छन् । नयाँ आउने र पुराना नेपाल जाने क्रम जारीरहेकाले पनि भाषाको सङ्कट त्यति झेल्नुपरेको छैन । फेरि उनीहरू भाषा र संस्कृतिप्रति धेरै सम्वेदनशील छन् । भाषा र संस्कृति बचाउने अभियामा उनीहरू एक छन् र व्यक्तिगत वा संस्थागतरूपमा बच्चालाई भाषा सिकाउने महाअभियानमा जुटेका छन् ।  तर हामीसँग पुनर्वासको क्रमसँगै नेपाली भाषाको स्रोत पनि सकिँदैछ । व्यक्तिगत पहलमा भाषा शिक्षणको कामहरू भए पनि त्यसलाई संस्थागत बनाउन सकिएकौ छैन  ।  साहित्यको मेरुदण्ड भनेको भाषा हो ।  भाषा नभै साहित्यको सिर्जना हुनसक्दैन । भाषाविनाको साहित्यलाई कसैले पनि बँचाउन सक्दैन । फेरि  भूटानी नेपाली साहित्यलाई नेपाली साहित्यको मूलधारभन्दा छुट्टै राखेर लैजाने हो भने हामीले साहित्य लेख्नेलाईभन्दा  बढी भाषा पढाउनेहरूलाई उत्साहित गर्नुपर्छ । सम्मान र पुरस्कृत गर्नसक्नुपर्छ । नेपालीमा लेखिएका कृतिहरू भोलि सन्तान र समाजका लागि हुँदैन भने कृति प्रकाशनको कुनै औचित्य छ जस्तो लाग्दैन । बच्चालाई भाषा सिकाइएन भने आज प्रकाशित कृतिहरूले भोलि कुँडादानी भरिनेछ । त्यसैले वर्तमान नेपाली भाषाका कक्षाहरू सञ्चान गर्दै आउने तमाम ती योद्धाहरूलाई सलाम गर्नुपर्छ ।  सन्तानका भविष्यका लागि आफ्नो वर्तमान समर्पण गर्ने ती महान् व्यक्तित्वहरूलाई हार्दिकताका साथै प्रोत्साहनको व्यवस्था गर्नसक्नुपर्छ ।

शिक्षाको अभियानः

अझै पनि केही बिग्रिएको छैन । सम्भावना उत्साहजनक छ । तर  भाषा सिकाउने स्वयम् सेवकरूलाई प्रशिक्षण र पाठ्यपुतकको निर्माणका लागि भाषिक वा साहित्यिक संस्थाहरू अघि आउनुपर्छ । भाषा पढाउन सुरु नगरिएका सहर वा राज्यहरूमा पनि पठनपाठनको अभियानलाई तीव्रता दिनुपर्छ । यसका लागि भाषा परिषद्को हालै सम्पन्न  पिट्स्वर्ग सम्मेलनबाट पारित नेपाली पाठ्यपुस्तक तयारीको कार्यक्रमलाई तीव्र गरिनुपर्छ । पाठ्य-सामग्रीहरू सम्बन्धित ठाउँमा पुर्याउनमा ढिलो  भइरहेको छ । साहित्य सिर्जनाको सम्भावना राम्रो छ, तर गजल मात्र साहित्य हो भन्ने वर्तमान  सोच र धारणालाई सिर्जनात्मक लेखन तालिमहरूको आयोजना र अन्तरसम्वाद गरेर साहित्यका अन्य विधाहरूतर्फ मोड्न पनि त्यतिकै जरुरी छ । स्तरीय साहित्य लेखनका लागि सक्षम व्यक्तिहरू सम्मिलित एउटा बोर्ड वा समिति गठन गर्न पनि त्यतिकै जरुरत छ । उक्त आधिकारिक समिति वा बोर्डलाई  अन्तिम जँचाएर मात्र कृतिहरू प्रकाशन गर्ने प्रणालीको व्यवस्था हुनसकोस् । पुनर्वासपछि हाम्रा शैक्षिक, आर्थिक र राजनैतिक समस्याहरू त समाधान भए तर भाषिक, सामाजिक र सांस्कृतिक समस्या भने यथावत छ । अनि यसका लागि किन आजैवाट नजुट्ने ? प्रवासमा भाषा मात्र  जोगाउँन सकियो भने संस्कृति केही समयपछिसम्म रहनसक्छ । त्यसैले आफ्ना बाल-बालिकालाई  नेपालीको अक्षर चिनाउँने महाअभियान घरैबाट प्रारम्भ गर्नुपर्छ । स्वयम् व्यक्ति वा संस्थाहरू यस अभियानमा जुट्नुपर्छ । रिस, राग र गालीबाट होइन प्रेम, सद्भाव र एकताबाट अघि बड्नुको कुनै विकल्प छैन ।

एकताको  सूत्रः

नेपाली जातिहरूका आ-आफ्नै मातृभाषाहरू छन् । घरमा मातृभाषा बोले पनि व्यवहारमा सबैले बोल्ने, बुझ्ने, साहित्य सिर्जना गर्ने र व्यापार व्यवसायको साझा सम्पर्कको साझा माध्यम नेपाली भाषा नै हो। नेपाली भाषा नेपालको राष्ट्रभाषाको रूपमा मात्र सीमित रहेन अब, दक्षिण एसियाकै हिन्दीपछि बोलिने दोस्रो भाषा पनि हो । नेपालबाहेक भूटान,  बर्मा, बङ्गलादेश, भारतमा मात्र होइन विश्वको कुनै पनि देशमा बसेवास गर्ने सबै नेपालीहरूको साझा सम्पर्कको अनिवार्य माध्यम नेपाली भाषा नै हो । नेपाली भाषा अन्तर्राष्ट्रिय भाषाकारूपमा स्थापित हुने क्रममा छ । यो नेपालीहरूका लागि गौरवको कुरा हो । अब यसैलाई गौरव मानेर बस्ने अवस्था छैन । साझा भाषा नेपालीको संरक्षण र संवर्द्धनमा जुट्नु हामी सबैको साझा दायित्व पनि हो भन्ने सबैले बुझ्न जरुरी छ ।  विभिन्न जात, जाति, धर्म, सम्प्रदाय र वर्णहरूको एकताको बलियो सूत्र नेपाली भाषा नै हो । चाहे नेपाली इसाइ होस् वा किराँत, चाहे नेपाली बौद्ध हुन् वा हिन्दु सबैको साझा सम्पर्कको  अनिवार्य माध्यम त अन्ततः नेपाली भाषा नै त हो। तर विडम्बना! संसारका मानिसहरू आफ्नो नामका लागि सङ्घर्ष गर्छन्, संस्कृति र पहिचानका लागि मरिमेट्छन् तर हामी भने नामै बेच्दैछौं, संस्कार साट्दैछौं । पुर्खाले दिएका सांस्कृतिक धरोहरहरू सखाप पार्ने अभियानमा उद्यत छौँ।  कृष्णहरू कृस बनिदैछौं । जसबहादुरहरू ज्याक्शन हुँदैछौं र जानुकाहरू जेसिका हुँदैछन् ।  प्रवासमा खोलिएका भाषिक तथा साहित्यिक संस्थाहरू पनि जातीयता बोध गराउने  शब्दहरू हटाएर सिंग र पुच्छर बिनाको जानवर जस्तै बनिदैछन् । २४  वर्ष मै  सन्तानहरू पुर्खाप्रति यति कृतघ्न हुन्छन् भन्ने भाषा, संस्कृतिका लागि शहीद हुनेहरूले कहिले पनि सोचेका थिएनन्, ती जेलमा सडिरहेका दाजुभाइहरूले कल्पना अवश्य गरेका थिएनन् नै । हामी जहिल्यै पनि अरूका लागि ढाल भयौँ । अर्काकै मनोरञ्जका गोटी भयौँ । परायकै देश र समाजका लागि बहादुर भयौँ । अर्काकै प्रचारबाजी र विज्ञापनका माध्यम बन्यौं । जब आफ्ना लागि केही गर्ने बेला आयो अनि हामी आपसमा लडिरहेका छौँ । आफ्नो पहिचानलाई छाडेर अरूसँग सती गइरहेका छौँ ।

नेपाली जोडेरै प्रज्ञा प्रतिष्ठानले सबै भाषा र साहित्यको काम गर्नसक्छ, गोर्खापत्र संस्थानले  नेपाली र अङ्ग्रेजी दुवै भाषामा पत्रपत्रिका प्रकाशित गर्नसक्छ ।  तर हामीकहाँ  नेपाली जोडिएका संस्थाहरूले केही गर्न सक्दैनन् भन्ने सोच पलाएको छ । अरूलाई समेट्ने नाममा आफू मेटिदैछौं, आफ्नो पहिचान र स्वभिमान मेटाउँदैछौं । जोंग्खा भाषा त एउटा सम्वाद मात्र हो साहित्य होइन ।  राष्ट्रिय ढिकुटी रित्याएर बन्दुकको बलमा निर्माण गरिएको भाषा हो । जुन भाषाको इतिहास सय वर्षभन्दा लामो छैन, त्यस भाषाको साहित्य कस्तो होला ? नेपाली साहित्यलाई भूटानी  भन्ने हो भने १९९० पछि भूटानमा नेपाली भाषा नै प्रतिबन्धित अवस्थामा छ । जसको अस्तित्व नै समाप्त पारिएको छ । अङ्ग्रेजी त्यसै पनि संसारको बृहत् र सम्भ्रान्त साहित्य हो त्यसको विकास र प्रवर्धन हामीले नै गर्नुपर्छ भन्ने मलाइ लाग्दैन । आफैँ सम्पन्न र विकसित साहित्यको उन्नति गर्न के जरुरी छ ? बरु, संसारमा हामी थोरै छौं । सिन्धुमा बिन्दु छौँ ।  सिन्धुको होइन अब बिन्दुको संरक्षण गर्न जरूरी छ । नेपालीहरूले स्थापना गरेका संस्थाहरूमा  नेपाली जोड्दा हानीभन्दा पनि बढी फाइदहरू छन् । नेपाली शब्द जोडिनासाथ दुई करोड  नेपालीको सरोकार बढ्छ । जातीय शब्दले जहिले नजिकपन ल्याउँछ । नेपाली मनलाई प्रभावित पार्छ । एउटा नेपालीको उन्नति र अवन्नतिप्रति उत्सुकता र चासो राख्ने पनि अर्को नेपाली नै त हो । भूटानी त हाम्रो राष्ट्रियता मात्र हो, तर जातीयता नेपाली हो । प्रवासमा राष्ट्रियताभन्दा पनि जातीय अभियानलाई प्राथमिकता दिन नितान्त आवश्यक छ । राष्ट्रियता त्यति बेलासम्म रहन सक्ला जति बेलासम्म भूटानमा जन्मिएको पुस्ता जीवित रहनेछ । त्यसैले अबको अभियान जातीय पहिचानका लागि हुन जरूरी छ ।  यसतर्फ हामीले  केही गरिएन भने एक दिन हाम्रो भाषा, संस्कृतिका साथै पहिचान पक्कै पनि मासिनेछ । सन्तति बिचल्लीमा पर्नेछ । बाटो हराएका भावी सन्नतिले हामीलाई धिक्कार्ने छन् । र हाम्रा शुभचिन्तक र मित्रहरूबाट पनि डरलमा सति गएका भूटानी भनेर हाम्रो खिल्ली उडाइनेछ । त्यसैले बेलैमा सचेत हुन जरुरी छ ।

यद्यपि मानिस हिन्दुबाट इसाइ र इसाइबाट हिन्दु बन्न पनि सक्दोरहेछ। त्यसैगरी बौद्धबाट इसाइ र इसाइबाट बौद्ध बन्न पनि सक्दोरहेछ। किराँतबाट इसाइ र  इसाइदेखि पुनः किराँतमा फर्किन सक्दोरहेछ । चाह्यो भने यसरी  आस्था र विश्वास पनि परिवर्तन हुँदोरहेछ र नाम पनि फेरबदल  गर्दा हुँदो रहेछ । तर भाषा र जाति भनेको सत्य, शास्वत अपरिवर्तनीय रहेछ । त्यसैले चाहे बौद्ध होस् वा इसाइ, चाहे हिन्दु होस् वा किराँत अन्ततः सबैको जात र पहिचान त नेपाली नै हो । सबैको दु:ख सुख साटासाट गर्ने साझा माध्यम त नेपाली भाषा नै हो । आस्था, विश्वास, अभ्यास र मन्तव्यहरू फरक फरक भए पनि अन्तत: सबैको गन्तव्य त एउटै न हो । तन फरक फरक भए पनि अन्ततः मन त सबैको नेपाली नै हो । यसरी जातीय पहिचान र परिचयको शास्वत र अनिवार्य माध्यम बनेको  नेपाली भाषाको  पठनपाठनका लागि सामूहिक अभियानको  त्यतिकै खाँचो छ ।

भन्नै पर्ने कुराः

मातृ भाषा नै हराइरहेको बेला हामी समग्र देशको साहित्यको कुरा गर्छौँ । आफ्नो साहित्य नै दिशाविहीन भइरहेका बेला हामी विश्व साहत्यको गफ छाँट्छौँ । राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरको प्रतिनिधित्व गर्नु राम्रो हो । तर त्योभन्दा उत्तम जातीय साहित्यको विकास र प्रवर्द्धनमा लाग्नुपर्छ भन्ने मेरो आग्रह हो । समग्र देशकै प्रतिनिधित्व गर्नसक्ने क्षमता हामीमा छ छैन? त्यो आफैँले सोच्ने कुरा हो । स्वयम् बलियो नभएपछि परिवार बलियो बनाउँछु भनेर हुँदैन । घरै बलियो नभएपछि समाज कसरी बलियो हुन्छ ? राष्ट्रै दरो नबनेपछि विश्व कसरी बदल्नसकिन्छ ?  त्यसैले पहिला आफ्नो घर बलियो बनाउनुपर्छ । समाज दरो बाउनुपर्छ । बलियो समाजले नै व्यक्तिको प्रसिद्धि र प्रतिष्ठा दुवै उच्चाइमा पुर्याउनसक्छ । यद्यपि जातिको स्वभिमान,अस्तित्व र पहिचान उसको भाषा हो । त्यसैले आफ्नो स्वभिमान,अस्मिता र अस्तित्वको आधार मानिएको नेपाली भाषाको उन्नतिमा  जुट्न आजको आवश्यकता हो, भन्ने मलाइ लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here