निरन्तर प्रयोग भए मात्र भाषा बाँच्दछ : भाषा उत्पत्ति र विकाशका केही वैज्ञानिक तथ्यहरू

0
133
स्तम्भकार / फोटो साभार : निज
स्तम्भकार / फोटो साभार : निज

 लुइभील,केन्टकी / ७ जनवरी, २०१७

डा.लक्ष्मीनारायण ढकाल

पुनर्वास संगै भाषा लोपोन्मुख हुँदै गएको अवस्थामा हामि सबैको चिन्ता र दायित्व बढेको छ | यो दायित्वको थालनी  आ-आफ्ना स्तरबाट नयाँ पुस्तालाई मातृभाषाको संस्कार कसरी  प्रदान गर्ने र यसलाई स्थाई र  दृढिकारण कसरि बनाइ राख्ने भन्ने सम्बन्धमा हो | म यहाँ मात्र भाषा शिक्षणको या संरक्षणको कुरा गर्दै छुइन,भाषिक संस्कारको वैज्ञानिक तथ्यलाई व्यवहारमा प्राविधिक रूपमा बुझ्न र तदनुरूप प्रयत्न गर्न हामीले जागरुक हुनु पर्दछ भन्न चाहान्छु | किनकि यो मातृभाषाको सम्बन्ध हाम्रो रगत र जीनसंग सम्बन्धित तत्व हो, यदि यसको व्यवहार भैरहे यो फलिरहन्छ,फुलिरहन्छ,नत्र मुर्झाउनेछ,झर्ने छ अनि समाप्त हुनेछ | जस्ता प्रकारले चैत वैशाखको खडेरीमा जलराशीको मुहान सुक्ने बित्तिकै खहरेहरू ढुंगा र बगरमा परिणत हुन्छन् भने त्यही खहरे असार साउनको मूल फुट्दा तरिनसक्ने महाकाय बन्दछ | त्यसको कारण खहरे स्वयं  होइन,अपितु खडेरी र बर्षा हो | त्यस्तै भाषा पनि बर्षा भैरहे प्रवाहित बनिरहन्छ,मुहान सुकेका दिन खहरे झैँ निर्जल,ढड्यान बन्दछ | यो मात्र कल्पनाका लड्डु होइनन् ,इतिहास साक्षी छन् हाम्रा सामु,भाषा लोप हुँदाका पीडा कास्ता हुन्छन् भन्ने जान्नका निम्ति | वतुत:  व्यवहारका अभावमा भाषाको भाषिकता समाप्त हुन्छ र केवल ग्रन्थको भाषा भएर सीमित हुन जान्छ | जस्ता प्रकारले प्राचीन कालमा संस्कृत भाषा लोक व्यवहारको (बोलचालको) भाषा थियो,विस्तारै त्यसको व्यवहार घट्दै घट्दै शून्यमा पुग्यो र लामो कालखण्डसम्म मात्र ग्रन्थको भाषा भएर रहनु परेको हो  | त्यसैलेत हाम्रा वेदहरूको भाषा सामान्य बोलचालको संस्कृत भाषा भन्दा दुरूह छ, कठिन रहेको छ | त्यस्तै हामीले हिब्रु भाषाको इतिहासलाई हेर्दा थाहा पाउँछौं, उसको बोलचालको चलन समाप्त भएका कारण संसारका भाषिक मानचित्रबाट एक पटक  समाप्त भैसकेको थियो, पछि आएर  जब त्यसको अभाव खट्किन लाग्यो,मात्र पुस्तकमा थन्कियो,संस्कृति सकियो,शासन र जातीय अस्तित्व मेटिन थाल्यो, तब पुन: त्यसको जीर्णोद्द्धार गर्न लामो संघर्ष गर्नु परेको थियो यहूदीहरूलाई | त्यही समस्या हामि पुनर्वासमा भएका सम्पूर्ण नेपाली भाषीहरूलाई आउँन सक्ने खतराका लक्षणहरू देखिन थालेका यस वस्थामा चेतनाका निम्ति सम्बन्धित चर्चा र अनुभवहरू बाँट्न यहाँ प्रयास गर्दैछु  | चेतना भन्ने तत्व चाहे त्यो कुनै पनि विषय प्रतिको या कार्य प्रतिको किन नहोस् सकारात्मक भएमा र निरन्तर अभियानमा व्यवह्रित भएमा मात्र उसको महत्व दृष्टि गोचर हुन्छ | जव मानव चेतना शून्य हुन्छ उ निष्प्राण बन्दछ,जसलाई मृत्यु भनिन्छ | यो कार्य प्रतिको चेतना,संस्कार,भाषा संस्कृति,धर्म या अन्य कुनै पनि विषयमा यदि सक्रियता र जागरुकता रहेन भने त्यो लक्ष्य या विषय पनि अस्तित्वहीन वन्दै समाप्त हुने गर्दछ |अत: हाम्रा समाजका प्रत्येक सदस्यहरूमा मातृ भाषा प्रतिको चेतना विकशित गराउन जरूरी छ ,तब मात्र भाषिक आन्दोलनको यो मिशनले दिगो र प्रभावकारी रुप धारण गर्न सक्नेछ | तदर्थ सम्बन्धित  बौद्धिक खुराक पस्किन अत्यावश्यक देखिन्छ |

   हामि  स्वयं विचार गर्न सक्दछौं वातावरणका अभावमा नेपाली भाषाको अध्ययनको अभावमा हाम्रो बोली र ज्ञान स्तर दिनानुदिन कसरी घट्दै गैरहेको छ I हाम्रो हिजोको धराप्रवाहित आज अवरूद्ध अब्नेको छ,बोल्दा कतैं कतै अफ्ट्यारो अनुभव हुनलागेको छ,किनकि हाम्रा मस्तिष्कमा र प्रयोगमा अर्को भाषाले घर जमाउन थालेको छ,बातावरण तदनुरूप बन्दै गएको छ I जब भाषाको प्रयोग घट्दै जान्छ शब्दभन्डार रित्तिंदै जान्छ | शब्द विना भाषामा भन्न खोजिएको अभिव्यक्ति अधूरो,असाभाविक,असहज प्रतीत हुन्छ | अत: हामि जन्म देखि प्रयोग गर्दै आज ६०-70 बर्षको उमेर हुँदा पनि वातावरणमा परिवर्तनका कारण श्रोत,सामग्री र अभिवृद्धिका साधनहरूका अभावका कारण लोपोन्मुख तिर लम्किन्दैछौँ भने जुन पुस्ता यहाँ जन्मियो या भविष्यमा जन्मिने छ उनीहरूको अवस्था कस्तो होला जव त्यस समयमा हामि रहनेछैनौं | त्यो विकराल परिस्थितिलाई आजैबाट आकलन गर्न सकिन्छ |

पुनर्वासका यी ८-९ वर्षमा हाम्रो भाषिक प्रयोगका क्षेत्रमा आएको पुस्तागत आंकडालाई विचारने हो भने यस विषयलाई छर्लंग बुझ्न गारो हुँदैन | आकडात्मक तथ्य भन्दछ हामीमा अहिलेको घडीमा मात्र ६० प्रतिशत व्यक्ति बोल्न,लेख्न र पढ्न सक्दछ, रहल ३० प्रतिशतमा २० प्रतिशत युवा वर्ग बोल्न सकेता पनि उनीहरूको बोली तोते हुँन थालेको अवस्था छ भने  लेख्न र पढ्न असहज मान्न थालेको छ या छोडेको छ  | त्यस्तै शेष १० प्रतिशत वर्ग जो पुनर्वासमा जन्मिएको छ हामि अभिभावक नेपालीमै बोल्ने भएकाले आधा अधुरो बोल्नत सक्दछ तर चेतनाको अभावमा प्रयोग शून्यता र सम्बन्धित शिक्षाको अभावमा उनीहरूको लेखन र पढ्ने क्षमता छैन भने यस्तै अवथा रहेमा अबका १० वर्ष पछीको अवस्थालाई हामि स्वयं आकलन गर्न सक्दछौं |

   अत: हाम्रा घरहरुमा मातृ भाषाको प्रयोग निरन्तर स्वयंले गर्न र बाल-बालिकाहरूलाई बोल्न लगाउन र त्यस प्रति प्रेरित गर्दै सहयोग गर्नु हामि अभिभावकहरूको प्रथम कर्तव्य हो | कष्टको विषय के छ भने हामि बीचका धेरै चेतनाशून्य अभिभावकहरू लंगडो आधुनिकता र संवेदनहीनताका कारण आफु स्वयं अंग्रेजी बोल्ने गर्दछन र नानीहरूलाई पनि त्यसप्रतिनै प्रेरित गरिरहेका छन् | यस वर्गलाई जगाउन जरूरी छ ,भाषाको महत्त्व र भाषाहीनताका पीडाहरुको इतिहास र यथार्थताको जानकारी गराउन आवश्यक छ |  यो चेतना र समर्पणको भावना पारिवारिक स्तरमा भएमा मात्र कक्षा संचालन र पाठ्यक्रम निर्माण आदि अभियानहरूले गति र स्थायित्व पाउन सक्नेछन् I पारिवारिक स्तरको चेतना र निरन्तर प्रयोगनै भाषाको भाषिक पक्षलाई जोगाउने प्राथमिक र कारगर उपाय हो,यस कुरालाई युद्ध स्तरमा चर्चा गर्न परम आवश्यक छ |

        यो उपर्युक्त विश्लेषणलाई सैद्धान्तिक रूपमा बुझ्न भाषाको सम्बन्ध र संस्कार कहाँबाट र कसरि आरम्भ हुँदै विकाशका क्रममा गतिमान हुन्छ भन्ने तथ्यलाई साधारण रुपमा मात्र नभएर यसको मनोवैज्ञानिक विश्लेषण गरिन आवश्यक देखिन्छ I हामी  भन्नलाई भन्छौं भाषाको प्रथम पाठशाला आफ्नो परिवार हुन्छ I हामीले सुन्दै र भन्दै पनि आएका हौँ की प्रत्येक शिशुका  निम्ति आफ्नी आमा प्रथम गुरु हुन्छिन् | तर यति मात्र होइन भाषाको सम्बन्ध पुर्खाको रगत र जीनमा रहेको हुनु पर्दछ  I यदि यसो नहुनुथ्यो भने एकै समाज भित्र,एकै परिवार भित्र भषा प्रतिको दृष्टिकोण र झुकावप्रति भिन्ना-भिन्नै विचार र व्यवहार किन हुन्छ ? कोइ मातृभाषाको संरक्षण गरिनु पर्ने सैद्धान्तिक संस्कार लिएर हिड्छ भने त्यहि परिवारको अन्य सदस्य आधुनिकता र लैपुंगे मायाजालका संयन्त्र भित्र किन रोमल्लिन्छ ? उनीहरूको चेतनामा,भावनामा अन्तर आउनुको कारण के हो ? यी गम्भीर विषयहरूको चिन्तन हुन जरुरी छ |यो मात्र दन्त्य कथा या भनाइ मात्र नभएर वैज्ञानिक तथ्य पनि हो | त्यसैले त आफुँले आरम्भमा बोलेको भाषालाई मातृ भाषा भनिन्छ, जुन भषामा आफ्नो वंशको रक्त, अणुवंशिक  र आमाको दूध मिश्रित हुन्छ,जुन भाषामा आफ्ना पुर्खाहरूको संस्कृति अभिन्न रोप्मा मिलेको हुन्छ | भाषा विना संस्कृतिको परिकल्पना गर्न सकिंदैन I किनकि यो भाषा र संस्कृतिको आधार आधेय भाव सम्बन्ध रहेको हुन्छ | जस्ता प्रकारले तिर्खा लागेका अवस्थामा विना साधन पानि पिउँन सम्भव हुँदैन,किनकि त्यो पानि अडिने आधार कुनै पात्र गिलास लोटा,बत्तल आदि चाहिन्छ,कुँवा अथवा धारामा भएको पानि पनि  अँजुलीको आधार विना पान गर्न सम्भव हुँदैन | त्यस्तै प्रकार भाषा विना संस्कृति जीवित रहन सक्दैन |

 अत: यहाँ भाषाको संस्कार परम्परा कसरी र कहाँबाट विकशित हुँदै अभिवृद्धि पथमा गतिमान हुन्छ भन्ने वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने प्रयत्न गरिनेछ |

 परिवार शिशुहरूको पहिलो नैसर्गिक भाषाशाला हो | त्यसैले आमा बाबा मात्र नभएर एउटा बालकका निम्ति परिवारका सम्पूर्ण सदस्यहरू,समाजका सदस्यहरू उत्तरदायी हुन्छन्,भाषा र संस्कारगत शिक्षाका निम्ति | यो भाषा संस्कारको  मूल लहरो पुर्खाको अणुवंश र रगतमा अविछिन्न हुँदै जन्म पूर्व (गर्भावस्थामा ) संस्कारका रूपमा त्यस भ्रूणले सिक्ने गर्दछ भने जन्म पश्चात् प्रथमत: ध्वनिगत रूपमा आमाका मुखबाट शिक्षणको आरम्भ हुने गर्दछ | यसरी विचार गर्दा भाषावैज्ञानिक दृष्टिकोणमा भाषा विकाश क्रमका आरम्भिक पाँच खुड्किलाहरू देखा पर्दछन् | ती खुड्किलाहरूलाई यसरी राख्न सकिन्छ –

१. अव्यक्त श्रवण २.व्यक्त श्रवण ३.भाषण ४ .पठन  र  ५. लेखन

यी उपर्युक्त  खुड्किलाहरु सर्वथा वैज्ञानिक छन् |भाषाका अध्येताहरुले या अध्यापकहरुले या  लेखक र अनुसन्धाताहरूले यस विषयलाई समग्रमा बुझ्न अत्यावश्यक हुन्छ  | यस विषयलाई बुझ्न हामीले उदाहरणका लागि घरबाट टाढा जाइरहनु पर्दैन,उदाहरण घरभित्रै छन्  |  चिन्तन गर्नुहोस् प्रत्येक घरमा स्वत: घटित भैरहने प्रतिदिनका क्रियाकलापहरूमानै यो सिद्धान्त निहित छ-

१.अव्यक्त श्रवण-  

जब शिशु आमाका गर्भमा हुन्छ त्यस समयमा त्यस भ्रूणमा सम्पूर्ण वातावरणको प्रभाव पर्ने गर्दछ | यस तथ्यलाई मनोविज्ञान, चिकित्सा शास्त्र र आध्यात्मिक दर्शनले पनि स्वीकार गरेको छ I यदि अन्य विषय या घटना र खानपीनको प्रभाव उक्त भ्रूणमा पर्दछ भने भाषागत संस्कार पनि अवश्य पर्नु पर्दछ भने हाम्रो अनुमान छ | यदि गर्भावस्थामा विशेष गरेर माताले आफ्नो मातृभाषाको प्रयोग र चिन्तन गरेका अवस्थामा त्यो गर्भस्थ जीवमा पनि तदनुरूप अव्यक्त भाषिक संस्कार बन्ने हुँनाले प्रत्येक आमाहरूले तदर्थ जागरुक हुन जरूरी छ |माताको आचरण र व्यवहारबाट प्रभावित त्यस शिशुले जन्म पश्चात् अवश्य पनि तदनुरूप क्षमता धारण गर्ने हुनाले बालकले गर्भावस्था देखिनै भाषाको अध्ययन गर्न थालेको हुन्छ |

२.व्यक्त श्रवण-

  हाम्रा घरहरुमा जब नयाँ बाल-बालिकाहरु जन्मिन्छन् त्यतिबेला उनीहरुका मुखमा केवल अस्पष्ट रोदन मात्र हुन्छ | केहि महिना पछि घरका सदस्यहरु बोलचाल गर्दा शिशुहरु टुलु टुलु मुखमा हेर्दै सुन्ने गर्दछन् | यस क्रमले उनीहरुका मस्तिष्कमा शब्द श्रवणको एक प्रकारको संस्कार(बानि) निर्मित हुन्छ | अर्थात् परिवारजनले बोलेका शब्दहरुलाई र वाक्यहरुलाई बुझ्ने क्षमता नभए पनि सुन्ने र मनमा सम्बन्धित एउटा सानो कोमल चित्र निर्मित गर्ने गर्दछन्,जुन चित्र भावात्मक हुन्छ |  सुनेको वाक्यको भावलाई समेटेर बनेको यो चित्र शिशुका मन-मस्तिष्क,बुद्धि,स्नायु र रक्तका कण-कणमा घुलमिल हुन्छ  | त्यसैले मातृभाषाको सम्बन्ध रक्तसंग अथवा वंशसंग जोडिएको हुनाले व्यक्तिलाई आफ्नो मातृभाषा प्यारो हुनेगर्दछ | मानवलाई आफ्नो  मातृभाषा त्यती नै प्यारो हुन्छ,जति प्यारी आफ्नी जन्मदातृ आमा हुन्छिन् | अत: जन्म दिने आमा र मातृभाषामा समानताको तुलना र व्यवहार  गरिन्छ I यो भाषाको सानो आकृति, विशेष गरेर शिशुहरूले आफ्नी आमाबाट सुनेका शब्द या वाक्यहरुलाई मातृभाषाका रुपमा आमाको माया ममता र दुधसंगै सम्मिश्रित गरेर स्वीकार्ने गर्दछन् |    त्यसैले त आमा शिशुलाई “ताते ताते नानि “माम माम हाम्म” “थिरी थिरी”आदि अनुकरणात्मक शब्दहरुको प्रयोगद्वारा आफ़्ना शिशुहरुलाई शब्द र वाक्य सुनाउनुहुन्छ I यसरी आमा या अन्य परिजनद्वारा प्रतिदिन गराएका श्रवण संस्कारले जब शिशु एक-डेढ वर्षको हुन्छ उ  तोते बोल्न थाल्दछ | जबसम्म शिशु बोल्न सक्षम हुँदैन तबसम्म उ सुनिनै रहन्छ,मनमा सम्बन्धित चित्र कोरिनै  रहन्छ,भाव र अर्थ जान्न प्रयत्न गरिनैरहेको हुन्छ I यही श्रवण संस्कार हो |

 यसरी सुनेर  गरेका शब्दहरुको पुनरावृत्तिको जुन संस्कारात्मक आकृति या चित्र बन्दछ यहिनै भाषाको व्यक्त रुपमा थालनी हो र भाषाको आरम्भ विन्दु पनि हो | अर्थात् भाषा बोल्नु भन्दा पहिला सुन्न आवश्यक छ भन्ने तथ्य यस उदाहरणले दर्शाउँछ I त्यसैले पहिलो सोपानलाई  यसरी व्यक्त र अव्यक्त रूपमा श्रवण संस्कार सोपान भन्न सकिन्छ |

३ . भाषण-

 भाषा विकाशको दोश्रो सोपान हो भाषण | अर्थात् अन्य व्यक्तिबाट सुनेका शब्द या वाक्यलाई नै शिशुहरूले बोल्ने गर्दछन्,त्यसैले बोल्नु भाषा-विकाशक्रमको दोश्रो कदम हो | जब शिशुहरूले आमा-बावा र परिजनबाट नित्यरुपमा सुनेका शब्दहरुको बारम्बार अभ्यासले सुन्ने बानि बसालिसकेपछि आफैं ती सुनेका शब्दहरुलाई उच्चारण गर्न थाल्दछन् तब उनीहरू भाषाको अघिल्लो  कदममा प्रवेश गर्दछन् | आरम्भिक स्तरमा टुटे-फुटे उच्चारणनै भएता पनि विस्तारै शुद्ध र पूर्ण वाक्यहरु उच्चारण गर्न थाल्दछन् |अत: श्रवण संस्कारबाट अभिप्रेरित भएको शिशु जबसम्म स्पष्टरुपमा आफ्ना भनाइ अरु समक्ष राख्न सक्षम हुँदैन तब सम्म भाषण सोपान पूर्ण हुँदैन | शिशुले आफ्ना भावहरूलाई अभिव्यक्त गर्नु भाषण गर्नु (बोल्नु) यस यात्राको तेश्रो  खुड्किलो उक्लिनु हो | तर यतिमात्रले भाषा परिपूर्ण हुँदैन | यहाँबाट भाषा र शिक्षाको  शिक्षण शिलशिला आरम्भ हुँदै अन्य सोपानतिर त्यो शिशु अग्रसर हुन्छ |

  ४ .पठन –

    शिशुहरू जब सुनेर बोल्न सक्ने क्षमता हासिल  गर्दछन् त्यसपछि उनीहरु ती शब्द या वाक्यहरुलाई पढ्ने क्रममा अघि बढ्दछन् | शिशुहरू सर्वप्रथम पढ्ने क्रममा वर्णमालाबाट आरम्भ गर्दछन् | यसरी वर्णमालामा प्रवेशसंगै आफ्नो भाषिक क्षमतालाई दिनानुदिन बढाउँदै अघि बढ्दछन् | त्यसैले यो पठन अभ्यास भाषा विकाश-क्रमको चौथो  सोपान हो | पढ्ने अभ्यासले शब्द भण्डारको अभिवृद्धि र अन्य कलाहरु विकशित हुन्छन् |अत: पठन अभ्यास अत्यन्त महत्वपूर्ण विन्दु हो | यहाँ आएर औपचारिक शिक्षणको थालनी हुन्छ | त्यसैले यस अवस्थामा शिक्षणका अन्य तरिका,प्रविधि,साधनहरू र योग्य  शिक्षकको खाँचो हुन्छ | यस अवस्थामा आएर पाठ्यपुस्तक या पाठ्यक्रम र अन्य सहायक शिक्षण-सामाग्रीहरुको आवश्यकता पर्ने हुन्छ |

 ५ . लेखन –

  मुख्यतया भाषाका दुइ भाग हुने गर्दछन्,मौखिक र लिखित भाग I बोलेर मात्र भाषा पुष्ट नहुने हुनाले बोलेका कुरालाई सम्बन्धित लिपिमा लेख्न सक्नुनै लेखन पक्षको चरमता हो | वस्तुत: शिशुहरू वर्णमालालाई पढेर या अन्य कुनै प्रविधिबाट वर्ण,शब्द र अर्थ बुझ्नसक्ने भएपछि या पढ्दा-पढ्दै लेख्ने अभ्यास पनि गर्दछन् | यसरी पढेर लेखको अभ्यासनै भाषा विकाशक्रमको पाँचौं  र अन्तिम सोपान हुन जान्छ | यी सम्पूर्ण अवस्था| तर बर्तमानमा भाषाको पूर्ण जानकारी र अध्ययन विनानै युवा पुस्तामा साहित्यको होहल्लाले भाषिक गुणस्तर र अध्ययनको शिलशीला अवरूद्ध बनेको अवस्था छ बने वातावरण,सैद्धान्तिक अध्ययन र वैज्ञानिक चिन्तनको अभावमा समस्त युवा पुस्ता धराशायी बन्दै गएको हाम्रो अनुमान छ |त्यसैले साहित्यकार बन्न र ग्रन्थ प्रकाशान गर्ने प्रतिस्पर्धा गर्नु भन्दा स्वयंले साहित्यको अध्ययन र नयाँ पुस्ताहरूलाई भाषाको शिक्षण गर्दै भाषा बचाउन अघि बढ्नुनै हाम्रो बुद्धिमत्ता हुनेछ |

    उपर्युक्त प्रकारले प्रारम्भिक  भाषा विकाशको वैज्ञानिक सिद्धान्तलाई केलाउँदा यी उपर्युक्त पाँच  क्रमगत सोपानहरू देखा पर्दछन् I  प्रथम दुइ सोपानहरु श्रवण र भाषण ध्वनिसंग सम्बन्धित हुन्छन् भने अन्तिम दुइ सोपानहरु शब्दसंग आबद्ध हुन्छन् |यदि भाषाको अर्थ,शब्द र ध्वनि दुवै हो भने उपर्युक्त सबै  सोपानहरु विना भाषा पूर्ण र पुष्ट हुँदैन,अत:भाषाका जिज्ञासु,शिक्षक या अभ्यासकर्ताहरुका लागि यी सबै  सोपानहरु क्रमगतरुपमा विकशित हुन या गराउन पर्याप्त अवसर प्रदान गर्नु पर्ने हुन्छ I त्यसैले भाषा शिक्षकहरूका निम्ति र अभिभावकहरुका निम्ति पनि यो वैज्ञानिक ज्ञान र मनोवैज्ञानिक प्रक्रिया जान्न परम आवश्यक देखिन्छ I साथै यस अध्ययनले हामीलाई हाम्रा कर्तव्य र भाषा अध्ययन प्रतिका आवश्यकीय तत्वहरू प्रति प्रेरित तथा क्रियाशील बन्न सघाउ पुग्नेछ भन्ने हाम्रो लक्ष्य हो |

             वस्तुत: भाषा शिक्षणका निम्ति हाम्रा सामु  एकापट्टि  आधुनिक प्रविधिको तारत्म्यता मिलाउन तथा स्थानीय पाठ्य सामग्रीहरू निर्माण गर्न बर्तमानमा एक ठूलो चुनौती खडा भएको अवस्था छभने भाषा प्रतिको चेतना घट्दै गैरहेको अवस्थामा चिन्तन र जागरुकताका साथ-साथै द्रूतगतिमा काम गर्नु पर्ने समयको माँग रहेको अवस्था  छ | अत: सम्पूर्ण भाषाप्रेमी मित्र र भूतपूर्व शिक्षकवर्गमा हाम्रो विनम्र अनुरोध छ, यहाँहरू यस महायज्ञमा अघि आउनुहोस् र समाजको मार्गनिर्देशन गर्नुहोस्,जनै सुपारीको प्रतीक्षा गर्दा समयले हामीलाई धेरै पछाडी फालिदिनेछ,यस तथ्यलाई हामीले स्वयं बुझेकोनै बुद्धिमत्ता होला |

    यस शृंखलामा आवश्यक चिन्तनगत सैद्धान्तिक तथ्यलाई र आफ्ना अनुभवहरूलाई वितरण गर्दै हाम्रो मिशनलाई सहयोग पुर्याउने हाम्रो ध्येय हो | अग्रिम लेखमा शिक्षण मनोविज्ञान सम्बन्धित चिन्तन प्रस्तुत गर्ने प्रयास गरिने छ |

पाठक वर्गलाई विनम्र निवेदन के गरिन्छ भने यस सम्बन्धित आफ्ना अनुभव र ज्ञान राशीलाई प्रतिक्रियाका रुपमा व्यक्त गर्नुहोस् ताकी हामीमा परिष्कार र गति आउँन सकोस् |