Wednesday, April 14, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

अमरिकामा आफ्नो घर, अमेरिकी सपनाः पुनर्स्थापित होइन, स्थापित

Must Read

श्रीरामचरितमानस- नेपाली भाषामा पनि

सोह्रौ शताव्दीमा गोस्वामी तुलसीदासद्वरा रचित ‘श्रीरामचरितमानस ’ ग्रंथ विश्व प्रसिद्ध मधुरतम ग्रंथ हो।वर्तमान  समयमा हिन्दू जगतमा...

मारुतीनन्दन पञ्चाङ्गमाथि कोलम्बसमा छलफल सम्पन्न

नेपाली सम्वाददाता / कोलम्बस, ओहायो        विगत पाँच वर्षदेखि प्रकाशनमा ल्याएको मारुतीनन्दन नेपाली पञ्चाङ्ग तथा भित्तेपात्रोको छैठौ प्रकाशन गत आइतबार...

संस्कृत कक्षा सन्चालन

सि.एम. निरौला/ ह्यारिस्बर्ग जेट वाल्डले ह्यारिस्बर्गमा संस्कृत कक्षा सन्चालनमा ल्याएको छ। यो तेस्रो समुह हो ! सो कक्षालाई प्रज्ञ कक्षको नामले चिनिने गरेको छ। हिन्दु...

राजेश कोइराला

अमेरिकामा पुनर्स्थापित भएको ८ वर्ष पुग्दा घर किन्ने भूटानीको संख्या सन्तोषजनक गतिमा बढ्दो छ । घर किन्ने इच्छाकै कारण एक राज्यबाट अर्को राज्यमा बसाइँ सर्ने क्रम जारी छ । घर किन्नेको संख्या राज्यपिच्छे कम-बेसी देखिन्छ । घरमालिक बनिसकेका आफ्ना सदस्यको संख्या भूटानीका धेरैजसो सामुदायिक संस्थाहरुसँग पाइँदैन । अनुमानका आधारमा धेरै राज्यको कुरा गर्ने हो भने देशभर १५-२० प्रतिशत भूटानी घरमूली हुनुभएको छ । यो आधिकारिक तथ्याङ्क होइन ।

नागरिकता लिने र घर किन्ने कामलाई स्थायी बन्ने प्रक्रिया मान्नुपर्छ । त्यसैले ‘पुनर्स्थापित’ शब्दलाई ‘स्थापित’ शब्दले विस्थापित गर्दैछ । कुनै पेशा-व्यवसायमा दरिलो देखिएको परिवार बढी स्थापित भएको छ । त्यस्तो परिवार ठाउँ सर्नेमा पनि कम छ ।

सस्तो घरको खोजी

अन्य सुविधासहित घर सस्ताले ओहायो सर्ने क्रम सबैतिर जारी छ । ओहायोबाहेक अन्य राज्यमा पनि घर सस्ता पाइएको बताउने भने प्रशस्त भेटिनुहुन्छ ।

केन्टकीको लुइभिलका भीम कोइराला भन्नुहुन्छ, ‘आएर बसेको पहिलो ठाउँबाट सर्ने गरेको दोस्रो ठाउँका रूपमा केन्टकी चिनिन्छ । यहाँ २० प्रतिशत जनसंख्या अन्तबाट सरेको हुनुपर्छ । त्यो पनि धेरैजसो स्थायी बसोबासको सोचमा यहाँ आउने गर्छन् ।’

लुइभिल, केन्टकी राज्यको सबभन्दा ठूलो शहर हो । भूट्निज सोसाइटी अफ केन्टकीका जनसम्पर्क-सचिव कोइरालाको बुझाइमा केन्टकीमा थोरै पैसामा बाँच्न सकिन्छ । काम पाउन सजिलो छ र देश मध्य-भागमा परेकाले जुनै राज्य जान सजिलो छ ।

भीमका अनुसार त्यहाँ इँटका घर छन् र सस्ता छन् । उहाँका अनुमानमा केन्टकीमा १ सयभन्दा बढी परिवार घरधनी भएको हुनुपर्छ ।

सरकारी तथ्याङ्कअनुसार केन्टकीमा २ हजार ४ सय ४० जना पुनर्स्थापित हुनुभएको छ । सबभन्दा बढी १ हजार ८ सय ४ जना लुईभिल तथा बोइलिङ ग्रिन र लेक्जिङ्गटनमा क्रमशः १ सय ७० र ४ सय ६६ जनालाई पुनर्स्थापित गराइएको हो । अरू केही ठाउँमा थोरै-थोरैलाई बसाइएको हो ।

उता मिनेसोटाका रोम बिस्ट भन्नुहुन्छ, ‘यहाँका घरहरू सस्ता हुन् । करिब एक सय ५० परिवार घरधनी भइसकेको छ ।’ यहाँको भूटानी समुदाय सामूहिक कार्यमा निकै अगाडी देखिँदै आएको छ ।

मिनेसोटामा १ हजार १ सय १९ जना भूटानीलाई पुनर्वास गराइएको हो । मुख्य गरी यहाँको मिनियापलिसमा ४ सय ९० र सेन्ट पलमा ४ सय ९८ जना पुनर्स्थापित गराइएको हो । अरूठाउँमा थोरै संख्यामा ल्याएको तथ्याङ्क देखाउँछ ।

यता न्यु ह्याम्सरका कंकर्ड र म्यानचेस्टरमा सबैजसो भूटानीको बसोबास छ । कंकर्डमा १६ र म्यानचेस्टरमा ३४ भूटानी  परिवारले घर किनेको भूट्निज कम्युनिटी अफ न्यु ह्याम्सरका कार्यालय सञ्चालन-निर्देशक एनपी पौडेल बताउनुहुन्छ ।

न्यु ह्याम्सरमा २ हजार १ सय ७३ जना ल्याइएकोमा मुख्य कंकर्डमा १ हजार १ सय २९ र म्यानचेस्टरमा ९ सय ९१ पुनर्स्थापित हुनुभएको हो । अरु दुई शहरमा थोरै संख्यामा पुनर्स्थापित भएको थियो ।

जर्जिया अगाडी

दक्षिण-पूर्वी राज्य जर्जियामा घर किन्ने ४० प्रतिशत नै पुगेको थियो । स्थानीय कृष्ण ढकाल भन्नुहुन्छ, ‘भूटानीले घर किन्न थालेका राज्यमा जर्जिया अगाडी पर्छ । यहाँ सन् २००९-२०१० मै घर किन्ने साथीहरू भेटिनुहुन्थ्यो । बढी नै यहीँ किनिएको हुनुपर्छ । तर बिस्तारै ५ प्रतिशतले बेचेर अन्यत्र बसाइँ सर्नुभयो ।’

जर्जियामा कुल ५ हजार ९ सय ३४ लाई पुनर्स्थापित गरिएकोमा अट्लान्टामा १ हजार ७ सय ८५, क्लार्कस्टनमा १ हजार ९ सय ३१, डिकेटरमा १ हजार २ सय ५२ र अन्यत्र सानो संख्यामा बसाइएको हो ।

उता सबैभन्दा बढी भूटानी पुनर्स्थापित गरिएको पेन्सलभेनियालाई घर किनेर स्थायी रूपमा बसोबास थाल्नेमध्ये अर्को गतिलो राज्य भने हुन्छ । त्यहाँ १५ देखि २० प्रतिशत परिवार घरधनी भएको अनुमान ह्यारिसवर्गका धन बस्नेतको छ ।

पेन्सलभेनियामा कुल ९ हजार ७ सय ९५ जनालाई पुनर्वासको बन्दोबस्त मिलाइएको देखिन्छ । यहाँ इरिमा २ हजार ७ सय १०, पिट्सवर्गमा २ हजार ९४, ल्यानकास्टर र फिलाडेल्फियामा बराबर संख्या १ हजार ४ सय ९, ह्यारिसवर्गमा १ हजार १ सय ८०, स्क्र्यान्टनमा ८ सय ९९ लाई पुनर्स्थापित गराइएको हो ।

कोलोराडोका पृथ्वी काफ्ले भन्नुहुन्छ, ‘यहाँ त २ सय परिवार घरधनी भएको हुनुपर्छ ।’ काफ्ले ग्लोबल भूट्निज कम्युनिटी कोलोराडोका उपाध्यक्ष हुनुहुन्छ ।

कोलोराडोमा ३ हजार ३ सय ५५ लाई पुनर्स्थापित गराइएको हो, जसमा डेनभरमा २ हजार ५ सय ४०, अरोरामा ५ सय ३९, कोलोराडो स्प्रिङ्समा २ सय ३५ जना हुनुहुन्छ ।

घर किनेरै न्यु ह्याम्सरबाट कन्सास बसाइँ सरेका धन रसाइलीको बुझाइ भिन्न छ, ‘यहाँ घरमात्र सस्तो नभएर काम पाउन पनि सजिलो छ ।’

कन्सासमा निकै कम भूटानी पुनर्स्थापित गराइएको सरकारी तथ्याङ्क छ । त्यहाँ ६ सय ४४ जनामात्र पुनर्स्थापित भएकोमा कन्सास सिटीमा मात्र ६ सय ५ को बसोबास देखिन आउँछ ।

यता म्यासच्युसेट्सको वुर्स्टरमा करिब ३० घर किनिएको नन्दु मिश्र बताउनुहुन्छ । मिश्र भने वुर्स्टरबाट न्यु ह्याम्सर बसाइँ सर्नुभएको छ । त्यहाँ करिब २ सय ५० परिवार बसोबास गर्दै आएको उहाँ बताउनुहुन्छ ।

म्यासाच्युसेट्समा ३ हजार १७ पुनर्स्थापित हुनुहुन्छ । सबभन्दा धेरै वुर्स्टरमा ९ सय ६९, वेस्ट स्प्रिङ्गफिल्डमा ८ सय ९२, स्प्रिङ्गफिल्डमा ३ सय ७८, लोअलमा २ सय १८ जनालाई बसाइएको छ । अरु स्थानमा स-सानो संख्यामा  राखेको पाइन्छ ।

महँगा ठाउँ

ठूला उद्योग भएका र महँगी बढी भएका शहरहरूमा घरको मूल्य चर्को छ । त्यहाँ घर किन्नेको संख्या त्यति छैन ।

भूटनिज कम्युनिटी अफ क्यालिफोर्नियाका कोषाध्यक्ष कृष्ण सुब्बा भन्नुहुन्छ, ‘हामी धेरैका लागि क्यालिफोर्नियामा घर किन्नु गाह्रो छ ।’

क्यालिफोर्निया अमेरिकाको तेस्रो ठूलो राज्य भए पनि यहाँ १ हजार ३ सय ७३ जना भूटानीलाई पुनर्स्थापना गराइएको सरकारी तथ्याङ्क बताउँछ । यस राज्यको ओकल्यान्डमा २ सय ८६, स्याक्रमेन्टोमा २ सय ९४, र सान डियागोमा २ सय ६३ जनासहित अन्यत्र सानो संख्यामा राखेको पाइन्छ ।

केही दिनअघि कामको सिलसिलामा मिजुरी पुगेका सुब्बा भन्नुहुन्छ, ‘मिजुरी त कता हो कता सस्तो छ ।’

‘के यतै सर्ने विचार त गर्नुभएन ?’, भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘मिजुरी होइन, ओहायो चाहिा सर्छु कि !’

उता वासिङ्गटन राज्यको सियाटल बस्ने युग दवाडी भन्नुहुन्छ, ‘सियाटल, अझ भनौं न ग्रेटर सियाटल महँगो छ ।’

उहाँका अनुसार त्यहाँ माइक्रोसफ्ट, बोइङ विमान जस्ता नामी कारखाना भएकाले अलि निकै कमाउने मात्रले घर किन्न सक्छन् । ‘सियाटलभन्दा अलिपर स्पोकेनमा घर सस्ता छन्,’ दवाडी भन्नुहुन्छ, ‘त्यहाँ राम्रै प्रगति भएको छ ।’

वासिङ्गटन राज्यमा २ हजार ८ सय १ जनालाई पुनर्स्थापित गराइएको हो । सियाटलमा ११ सय २५, स्पोकेनमा ५ सय ८३, केन्टमा ४ सय ५३, र टुक्विलामा ३ सय १० जना बसोबास गराएको देखिन्छ । अरु केही ठाउँमा थोरैलाई बसाइएको छ ।

सिराकसका काजीका अनुसार यहाँ करिब ८ सय परिवारमा १ सयभन्दा बढी परिवारको घर भइसकेको छ ।

न्युयोर्क राज्यमा ७ हजार ४ सय ४० जनालाई पुनर्स्थापित गराइएकामध्ये रोचेस्टरमा सबभन्दा बढी २ हजार ४ सय ४६ र सिराकसमा २ हजार ७४ जनालाई बसोबास गराइएको देखिन्छ । बफेलोमा १ हजार ८ सय ७०, युटिकामा ३ सय ४९ र अल्बानीमा ३ सय ३४ जना पुनर्स्थापित भएको देखिन्छ । अन्यत्र सानो संख्यामा राखेको पाइन्छ ।

एउटै भाषाको मान्छे

प्रत्येक राज्यमा घरबिक्रिको काम गर्नेको संख्या पनि एक/दुई गर्दै निकै हुनुभएको छ ।

न्युयोर्कको सिराकसमा घरबिक्रिको कारोबार गर्ने काजी गौतम भन्नुहुन्छ, ‘घर किन्नुअघि बुझ्ने कुरा धेरै हुन्छन् । नेपाली बोल्नेसँग काम गर्दा जान्नैपर्ने कुरा छर्लङ्ग हुन्छन् ।’

उहाँको बुझाइमा कसै-कसैको शंका गर्ने बानी हुन्छ । यहाँको घर किनबेचमा सबै काम छर्लङ्ग हुन्छ । कारोबारीले घर बेच्नेसँग पैसा खालान् भन्नु पर्दैन ।

घरको चाह

आफ्नो बास गुमाएको महसुस गर्ने पुस्तासँग काम गर्ने क्षमता छैन । भाषाका कारण सक्रिय छैन । आफ्नो घर नदेख्ने, देखे पनि सपना जस्तो ठान्ने युवा भने घर किन्न चाहन्छ ।

फरक परेको तथ्याङ्क

सरकारले ल्याएर देशभर गराएको संख्या बरु करिब उस्तै होला । राज्यपिच्छे बसोबास गराएको संख्या अब त्यस्तो छैन । बसाइँ सर्नेका कारण पक्कै कम-बेसी छ । शुरूको तथ्याङ्कलाई आधार मात्र मान्न सकिन्छ ।

किन्न हतारिनु हुन्नः काजी गौतम

काजी गौतम न्युयोर्कको सिराकसमा बस्नुहुन्छ । गौतम नियमित जागिरबाहेक फुर्सदका बेला घर-बिक्रीको काम गर्नु-हुन्छ । सन् २०१३ नोभेम्बरमा घर-बिक्रीको अनुमति-पत्र लिएयता करिब ५० वटा घर बेच्नुभएको छ । त्यसरी घर किन्नेमा धेरै भूटानीहरू नै हुनुहुन्छ । गौतमसँग अक्षरिकाका सम्पादक राजेश कोइरालाले गरेको कुराकानीः

• तपाईँको विचारमा घरमा लगानी राम्रो हो ?
घर किन्ने निर्णय राम्रो हो । लगानी रहन्छ । बेच्नुपर्दा घाटा हुँदैन । भूटानीहरूको हकमा यो झन् राम्रो हो । भूटानको घर छाड्नुपर्‍यो । शिविरमा बस्नुपपर्‍यो । अमेरिका आइपुगियो । सबथोक नयाँ शुरूवात गर्नुछ । अमेरिकी सपना भन्छन्, घर हुनुलाई । सपना पूरा गर्न पनि किन्नैपर्छ ।

• हामी घर किन्न अलि बढी किन जोड दिन्छौं ?
सपना पूरा त एउटा कुरा भयो । हाम्रो समाज, यसो जमघट हुनुपर्ने । रमाइलो गर्नुपर्ने । पूजाआजा नै भनौं । नाचगान, भजनकिर्तन । अपार्टमेन्टमा अरुलाई बाधा हुन्छ । घर भए, सबै सजिलो ।

• घर किन्दा के कमजोरी छन् ?
अलि हतारिएको जस्तो लाग्छ । नजानी हाम्फाल्ने बानी देख्छु । एउटा बैंकमा मात्र जाने । ऋण दिएन भने चुप लागेर बस्ने । दियो भने पनि सस्तो/महँगो के भयो अर्को बैंकसँग तुलना नगर्ने । यसो गर्नुहुन्न । एउटाले ऋण नदिए अर्कोमा जाने । एउटाले भनेको महँगो भन्यो कि अर्को बैंकमा गएर जाँच्नुपर्छ । घरको मात्र के कुरा ठूलो लगानी भनेको गाडी नै किन्दा पनि यसो गर्नुपर्छ । म साथीहरूलाई धेरै बैंक लैजान्छु । सस्तो कता पर्छ खोज्न मद्दत गर्छु ।

[अमेरिकाबाट प्रकाशित हुने जानकारीमूलक पाक्षिक पत्रिका “अक्षरिका” का सम्पादक राजेश कोइराला भूटान समाचार सेवाका लागि समेत नियमित रुपमा लेख्नुहुन्छ।  यो सामग्री अक्षरिकाको जुलाई, २०१६ अंकमा प्रकाशित भएको छ । – सम्पादक]

Latest News

लेखनाथ जयन्ती सम्पन्न

ह्यारिस्बर्गः २९ दिसम्बरः आइतवारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५...

More Articles Like This