0
963
Chintamani Acharya. Photo/Rup Pokhrel

“म डेढ वर्षको हुँदै बाबा बेपत्ता हुनुभएकोले एक्ली आमाले हुर्काएको कान्छो छोरो म । आज ६५ वर्ष पुग्दा पनि बाबाको कतै दिसोपत्तो लागेन-सम्झिँदा खल्लो लाग्छ । अनि बिहेको कुरा गर्दा आफैंलाई तन्देरी जस्तो पनि लाग्छ ! मेरो विवाह, म अंग्रेजीको साल जान्दिनँ, नेपालीकै संवत पनि थाहा छैन ! तर, म अठाह्र वर्षको थिएँ । त्यो बेलाको समय; अठाह्र वर्षसम्म बिहे नहुनु भनेको फल नदिने ठिमाहा अन्न फुलेर सुक्नु जस्तै थियो । हाम्रो गाउँभन्दा पारी म्योना ब्लक, पुङ्था भन्ने गाउँमा कुवीरलाल रेग्मी निकै नाम चलेका ‘महाजन’ हुनुहुन्थ्यो ! आफ्ना बाबा नभएकाले गाउँकै आफन्तहरुले मागी दिएर उहाँकी छोरी अन्तरी मैले बिहे गरेको हुँ । आजसम्म हामी सुख र आनन्दले साथमा जिएका छौं । हाम्रा चारजना सन्तान छन्, दुइ छोरी र दुइ छोरा । सबैभन्दा जेठो सन्तानको रूपमा छोरी थिइन् पूर्णमाता । उनको असली नाउँ पुण्यमाता तर, ड्रूक्पा कर्मचारीहरुले नाम बिगारेर पूर्णमाता बनाइदिए । पछि सुधार्न सकिएन, त्यतिकै चलेर आयो । उनले दोरोखा प्राइमेरी स्कूलमा तीन कलाससम्म पढेपछि अरु पढ्न पाइनन् । त्यसपछिको जेठो सुपुत्र दुर्गालाल, अनि कान्छी छोरी बेनुमाया ! दुर्गालाल दुइ कलास पढ्दै थियो भने बेनुमायालाई स्कूल भर्नामात्र गरिएको  थियो । देश छोड्नु परिगो । सबै छोडियो ।  बेनुमाया पछिको कान्छो नेत्रप्रसाद सानो काखे बालक लिएर नेपाल आइयो । म अठाह्रको हुँदा मभन्दा चारवर्ष सानी मनमाया बिहे गरेको मैले । १४ वर्षकी मनमाया, उता ससुरालीमा महाजन थिए, खान-लाउन प्रशस्त थियो । उसलाई माइतमा स्वर्ग थियो । तर, म गरीब, आर्थिक हिसाबले एक्दमै तल्लो तहको मान्छे थिएँ । एकली आमाको बलबुतामा हाम्रो के जेथो थियो होला र ? मेरा घरमा आएपछि भनेका बेला खान पुगेन, भनेजस्तो लाउन पुगेन ! उनलाई कति असहज भयो होला ! त्यो कुरा मैले महसूस गरें ।  म आफूभित्र यिनलाई सुख र वैभव दिन सकिनँ भन्ने पश्चाताप सधैं भइरहन्थ्यो तर, उनले कहिल्यै पनि गुनासो गरिनन् ! मनमायाका मनमै गुनासो नभएको हो अथवा भएर पनि मलाई नसुनाएकी हुन्, त्यो उनै जानून् तर, मैले उनको दुखेसो र गुनासो सुन्नु परेको छैन । मनमायाको मन साँच्चै फराकिलो छ; आजसम्म त्यतिकै समुद्र छिन् । मेरी आमा २८ वर्षकी हुँदा म जन्मिएको रे । बाबा बेपत्ता भएपछि  मभन्दा ७ वर्ष ठूलो मेरो एकजना मात्र दाजु र मलाई छात्तीमा चेपेर एक्ली आमाले बनीबुतो गरी हुर्काएकी हुन् । विगत खोतलेर सम्झिँदा सही नसक्नु हुन्छ । मुटुमा गाँठो परेर आउँछ । तर, हाम्रा छोराछोरीका लागि मैले भोगेजति दुःख भोगाउँदिन भन्ने लागेको थियो; जीवनको पछिल्लो चरणमा हामी दुवै मिलेर त्यो कुरा पुऱ्याएका छौं जस्तो लाग्छ ! शरणार्थीजस्तो अभावग्रस्त जीवनको संघर्षशील घडी पनि हामीले समझदारीमै उतारेका हौं । अबको जमाना छोरा-छोरीको हो; जसो गर्छन् उनीहरुकै जिम्मा !”

__
Chintamani Acharya, 65, is originally from Maney Gaon, Dorokha-Samchi, Bhutan and based in Pittsburgh, Pennsylvania at the time when this story was Compiled.

Story compilation by Bhakta Ghimire for BNS.