26644
1894
Chintamani Acharya. Photo/Rup Pokhrel

“मेरो जीवनका ३७ वर्ष मैले भूटानमै बिताएँ । जन्मेर ज्ञान पसेदेखि छोडेका दिनसम्म कति घटना भए होलान्, कति रमाइला दिन आए, कति रुने दिन आए…बयान गरी साध्य होला र ? मलिन आँखाहरु तन्काएर ठूला पार्दै उनले प्रश्नकर्तातर्फ दृष्टिकेन्द्रित गरे । त्यसपछि सनन्न लामो सास तानेर फेरि बोल्न थाले । …सामान्य रूपमा मेरो जीवन दोरोखा प्राइमेरी स्कूलबाट शुरु भएको मलाई याद छ । पहिले दोरोखा मिडल स्कूल भन्थे…त्यसपछि सरकारी तहमा दोरोखा प्राइमेरी स्कूल बन्यो । म एकली आमाको छोरो, कान्छो परें । एकजना दाजु मभन्दा सातवर्ष जेठो हुनुहुन्छ तर, दाजुले पढ्नै पाउनुभएन । गरिबी र अन्य बाध्यताले गर्दा अरुको हलो जोत्नुपर्ने, अर्काको गोठालो बस्नुपर्ने…विविध कुराहरु झेल्नुपऱ्यो । चैने धेरै कुराहरु त सम्झिँदा खपी सक्नु हुँदैन ! मलाईं चाहिं कान्छो भाइ भनेर, कान्छो नानी, अब आमाको पनि कान्छो छोरो, दाजुको पनि ममात्रै भाइ भएकाले प्यारो थिएँ ! सबैले माया पोखे । पढ्न पाएँ । तर, मैले पनि सजिलै पढ्न पाएको चाहिं होइन । म स्कूल जान थाल्नुको एउटा छुट्टै रोचक कथा छ । एकजना लोकनाथ आचार्य नाम गरेका गाउँले दाइ थिए । हामी साँलदाजु भन्थ्यौं, ती लोकनाथ साँलदाजुले मलाई पढ्न हौसला दिएका हुन् । उनीचाहिं त्यसबेला त्यही तीन-चार कलासजति पढेका थिए होलान् विचारमा, खाता-किताब अँगालोभरि बोकेका हुन्थे, अनि हाम्रा गाउँमा त्योबेला त्यति धेरै पढेको मान्छे कोही थिएन । घडी लाएको मान्छे देखियो भने गाउँमा ठूलै हल्ला हुन्थ्यो । रेडियो पनि थिएन । मेरी आमा र माइजूले स्वस्थानीको व्रत लिनुहुन्थ्यो । स्वस्थानी पढ्न बेलुकी बोलाइएको हुन्थ्यो लोकनाथ साँलदाजुलाई । म आमाका छेउमा बसेर सुन्थें । साँलदाजुले बसेर पढ्दा म उनका मुखमा हेरिरहँदो रहेछु । कहिलेकाहीं उनले पल्टाएका पानातिर पनि हेर्थें तर, पढ्न थाल्यो कि उनका ओठ हल्लिएकामा मेरा आँखा गइहाल्थे । यो मान्छे त कसरी यो खाता, यो कागजसँग बोल्दैछ, यो कसरी भयो भनेर मेरो मनमा कुरा खेल्थे । ‘ऊ त त्यहाँ राम्रैसँगले बात मार्छ !’  यो कुरो मेरा लागि अचम्मै भयो । तीनचार दिनसम्म लगातार यो क्रम चलेपछि उनले पनि विचार गरेछन्…अनि एकदिन आमासामु आएर भने-साइँली आमा…! मेरी आमालाई साइँली आमा भन्थे । साइँली आमा; यो भाइले त साह्रै पढ्नलाई इच्छा गऱ्यो । यसले पढ्ने रहेछ, मसँगै स्कूल पठाइ  दिनुहोस् । उनले त्यसो भनेको म पनि सुन्दैछु । आमा झट्टारिँदै आएर भन्नुभो,“होइन होइन, यो केटाका छेउमा त्यसो नभन् है, पढेपछि पराई हुन्छ । पढेपछि सरकारले लान्छ । म कहाँ दिन्छु मेरो कान्छो छोरो अर्कालाई !” जमाना त्यस्तै थियो है त्योबेला…आमा ठूल्ठूलो स्वरमा बोलिरहनुभयो, “पढेपछि सरकारी मान्छे हुन्छ…बाबु-आमा कता हो देख्न-भेट्न पनि पाइँदैन; मेरा दुइटा छोरा छन्…म त पढाउँदिनँ …!” आमाको हप्काइ खाएर साँलदाजु चुपचाप आफ्नो बाटो लागे । त्यसपछि त मैले नै पिरोल्न थालें आमालाई, हैन आमा साँलदाजुले भनेजस्तो म स्कूल जान्छु आमा; अब मलाई बिहान खान छिट्टो दिनू-भन्न थालें । एकदिन बिहान बाटैमा साँलदाइ भेटेर स्कूल जाने अठोटमा थिएँ, कसरी आमाले बुझ्नुभो, खाना पकाउन निकै ढिलो गर्नु भो त्यो दिन ! किनभने खान पाएपछि स्कूल जान्छ भनेर । मेरो पालो खाना-साना छोड्दिएर लागें बाटो, एउटा पातीघारीमा गएर लुकेर साँलदाइको बाटो हेरिरहें । मूलबाटोमा उनी आएपछि झ्याम्मिदै गएर अँगाले । त्यसरी उनीसँग स्कूल जाँदै आउँदै गरिरहें एक महिनासम्म ! त्यसबेलासम्म स्कूलमा को आयो को गयो, मतलब हुँदैन’थ्यो । एक महिना बितेपछि स्कूलमा नाम लेख्नुपर्ने कुरा आयो । घरबाट अभिभावकहरु लिएर आउनु भनियो । घरमा गएर आमालाई भन्दा उहाँले मान्नुभएन । मैले यही कुरा स्कूलमा गएर नाम्चु सरलाई सुनाएँ । नाम्चु लेप्चा, भारतको कालेबुङबाट आएका टिचर थिए उनी । म त सानै थिएँ-पछि पत्तो भो, उनी स्कूलमा पढाउँदा पढाउँदै हाम्रै गाउँका ज्वाइँ भएका रहेछन् । मणिराज राई मण्डलकी बहिनी विवाह गरेर मण्डलका ज्वाइँ भएकाले उनलाई गाउँले नै ज्वाइँ मान्थे । त्यत्रो स्कूलमा उनी एकला टिचर थिए । मैले आमाका कुरा लगेर उनलाई सुनाएँ-स्कूल छुट्टि भएपछि उनी आफैं मसँग हाम्रो घरमा आए र आमालाई सम्झाइ-बुझाइ गरे । त्यसको भोलिपल्ट आमाले स्कूलमा गएर मेरो नाम लेखाइदिनु भयो । त्यहाँ एकवर्षजति पढेपछि अलि मास्तिर सरकारी स्कूल खुल्यो-दोरोखा प्राइमेरी स्कूल । गुप्ता हेडमास्टर आए, अरु अरु टिचरहरु थपिए । जोंखा टिचर पनि आए । गुप्ता हेडमास्टर मर्फी भन्ने रेडियो लिएर गाउँमा आउँदा ‘रेडियोभित्र बोल्ने मान्छे हेर्न’ गाउँका सबै भेला भएका थिए । घडी बाँधेर हिँडेको एकजना मान्छे मात्र देखेको थिएँ । एकजना सरकारी मान्छे थिए डिल्लीराम तिम्सिना । उनको हिँडाइ र बोलाइ अरुको भन्दा अर्कै थियो । यसरी म त्यो स्कूलमा कलास ३ मा पढ्दैथिएँ । दाजुको विवाह भइसकेको थियो । विवाहपछि दाजु छुट्टिनु भो । एकली आमाको भरथेग गर्न मैले पनि पढाइ त्यतिमै छोडेर निस्किनुपऱ्यो ।  तर, त्यो समयमा मजति पढेकाहरुले सरकारी जागिर पाउँथे । म चैंने आमा छोडेर कतै गइनँ । मजति पढेको मान्छे गाउँमा अरु कोही नभएकाले मलाई नै मण्डल, कारबारीले साथ लिए । बैदार भन्थे मलाई । कारबारीको बैदार, मण्डलको बैदार हुँदै म ड्रुङ्पाको अफिसम्म लेखनदास भएर काम गर्नपाएँ । तर, पछि जोङ्दा र ड्रूङपाका बीचमा के कुरा मिलेन, मलाई त्यहाँबाट नजाँनिदो गरी हटाइयो । गाउँले सबैले रुचाएको थिएँ रहेछु म शायद; त्यसपछि डीवाइटी मेम्बर भएँ ।  पछि साम्ची-दोरोखाको सडक खन्ने प्रोजेक्टमा लाजेपसम्म भएको थिएँ । कसो कसो गर्दा गर्दै त्यसपछि म व्यापारमा लागें । अलैंची, सुन्तलाको व्यापार खूब चल्थ्यो ! बंगलादेशसम्म हाम्रो व्यापार निकासी हुन्थ्यो ! व्यापार गर्दा गर्दै म बिनाकारण पटक पटक पक्राउ परें । आन्दोलन र राजनीति गरेको आरोप लगाउँथे तर, मलाई व्यक्तिगतरूपमा आन्दोलन भनेको गाडीदस्तो, जहाजजस्तो, अथवा कुनै जनावरजस्तो-कस्तो हुन्छ केही थाहा थिएन ! टेलिफोन, टेलिभिजनको त कुरा छोडौं, घडी-रेडियो पनि दुर्लभ भएको गाउँको मान्छे म ! व्यापार गर्नथालेपछि मात्र अलि अलि गाउँ र जिल्लाभन्दा बाहिरका कुरा सुन्ने-बुझ्ने भएको  थिएँ । अझै पनि राजनीति के हो, पार्टी के हो, केही पनि थाहा थिएन । तर, मैले नै भूटानमा नयाँ राजा बन्न खोजेको हुँ-भन्नेजस्तो गरी आरोप लगाइयो ममाथि । आफ्ना कुराको सुनुवाइ नै नहुने, उनीहरुका कुरा सुनेर जसो भन्यो त्यसै गर्नुपर्ने ! म जिल्लामै काम गरिसकेको भूतपूर्व कर्मचारीको त्यो गति भयो भने अरु गाउँका सोझा-सिधा मान्छेको कुन हालत भयो होला…सम्झिँदा आज पनि आँशु झर्छ । पहिले आफैंसँग काम गरेका डासोहरु, कर्मचारीहरु मलाई नचिनेझैं गरेर सताउँथे । नभएका आरोप लगाउँथे । व्यापारमा आफ्ना पार्टनरहरुको पैसा बुझाउन जाँदा पैसासँगै मलाई पक्रिएर सबै जफत गरियो । हिरासतमा बसेको बेला उता मेरो व्यापार घाटा कति भयो कति सोचेर नसकिने हिसाब छ । दोस्रोपटकको हिरासतबाट छुटें तर, फेरि पनि पक्राउ गरिँदैछ भन्ने सूचना पाएँ । पहिले पहिले कुनै अपराध नभए पनि जेलमा परेका मान्छेहरु जेलभित्रै मारिएका घटनाहरु मैले गाउँघरमा सुनेको थिएँ । पहिले आफैं काम गरेको जिल्लाका अधिकारीहरुबाट म फेरि पक्राउ पर्नसक्ने सूचना पाएपछि चाहिं मैले सन् १९९२ मा देश छोडेको हुँ !”

__

Chintamani Acharya, 65, is originally from Maney Gaon, Dorokha-Samchi, Bhutan and based in Pittsburgh, Pennsylvania at the time when this story was Compiled.

Story compilation by Bhakta Ghimire for BNS.