नयाँ देश र परिवेशमा नयाँ संस्कारको थालनी

4
201

अलग्ग लुकेर परम्परागत ढाचामा मन्त्र जप्दामात्र धर्म र संस्कार मानिन्छ भन्ने मान्यतालाई तोड्दै अष्ट्रेलियाको एडिलेडमा पुनर्वास भएको एउटा भूटानी परिवारले नयाँ संस्कारको थालनी गरिदिएको छ।

भूटान मानवाधिकार मञ्च (पीएफएचआरबी)-का पूर्व उपाध्यक्ष गोपाल घिमिरेको एडिलेडस्थित निवासमा दिनको करिब 2 बजेपछि घरमा निम्तारूहरूको ताँती लाग्यो। अधिकांश निम्तारूहरूलाई के लागि निम्त्याइएको हो भन्ने जानकारी नै थिएन।

‘‘मलाई लाग्यो त्यहाँ कुनै महत्त्वको कुरा हुँदैछ, हुनसक्छ कुनै सभा-बैठक हुनेहोला’’, एक निम्तारूले अफ्नो गाडीबाट ओर्लँदै भने। ‘‘मलाई त त्यहाँ पार्टी (भोज) छ भन्ने लाग्यो’’, अर्काले भने। तर घिमिरेको घर पुगेपछि असामञ्जस्य धेरै बढेर गयो। एकपटिको भित्तामा अडेसिएको एउटा टेबुल छ, जसमा चाना पारिएका फलफुल, फूल, चामल राखिएको छ र एउटा दियो पनि बालिएको छ। टेबुलमाथिको आलमारीमा एकपटि घिमिरेका पूर्वजहरूको नामावली टाँगिएको छ भने अर्कोतिर उनकी आमा र श्रीमतीका पूर्वजहरूको नामावली क्रमशः टाँगिएको छ। यी सबैको बीचमा उनका स्व. पिता तुलारामको नाम छ र यस कार्यक्रमको नामचाहिं ‘पितृ स्मृति दिवस’ राखिएको छ। एडिलेडभन्दा करिब दुई घण्टा दूरीको मोटरयात्राबाट आएका सुशिल पोखरेलको आगमनपछि उनले मन्त्र भने र फेरि दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुरुवात गरियो।

जोगेन गजमेर, रतन गजमेरलगायतका निम्तारू अतिथिहरूलाई स्वागत गर्दै घिमिरेले कार्यक्रबारे खुलासा गर्दामात्र सबैलाई थाहा भयो कि यो कार्यक्रम उनका पिता तुलाराम घिमिरेको श्राद्धमा केन्द्रित रहेछ। अतिथिहरूलाई सो श्राद्धमा बोलाइएको रहेछ। पूर्व निर्धारित योजना अनुसार स्व. तुलाराम घिमिरेको आत्मा-शान्तिको कामनामा 2 मिनट मौन धारण गरी  परिवारले पितृ स्मरण गर्यो अनि मंगलाचरणपछि कार्यक्रम समापन गरियो। परम्परागत नियमले हो भने अघिल्लो दिन नै सरोकारवालाको केश काटिन्थ्यो, श्राद्धको दिन पिण्डदान हुन्थ्यो, के के हो के के!    

बिस्तारै घिस्रिएर बढ्नुभन्दा रूढ परम्परालाई तोड्न यसरी फड्को मार्नु नै उचित हुने ठोकुवा गर्दै  घिमिरेले भूटान समाचार सेवासित भने,‘‘यो 15 वर्ष अघिदेखिको लामो सपना थियो, मेरो परिवारलगायत मित्रहरूको बलियो सहयोगमा मैले यसलाई बिपना बनाइछाँडें। हामी अहिले नयाँ देश र नौलो परिवेशमा छैं जहाँ परम्पराभन्दा कामदारी ठूलो कुरो छ।’’  उनले अझ थप्दै भने,‘‘हामीले जे गरे नि न्यायसंगत र तर्कयुक्त हुनुपर्छ अनि आफूले जे गर्या छ आफ्ना छोरा-नातिलाई सुनाउँदै जानुपर्छ। नयाँ कुराको थालनी यसरी नै त हुन्छ नि।’’ भूटानी समाज आज जुन परिवेशमा छ त्यस अनुरूप आफ्ना परम्परागत संस्कृतिहरू समयानुकूल परिवर्तन नगर्ने हो भने  आगामी पुस्ताले पूरै यसलाई त्यागिदिने खतरा रहेको आशंका उनले व्यक्त गरे। ‘‘मेरो छोरा कारमा चढेर काममा जान्छ, सबैसँग रमाएर एउटै टेबुलमा बसेर परिवारमा झैं खान्छ, साथीहरू लिएर घरमा आउँछ। कथित तल्लो जाति भनेर कसैले कसैलाई दैलोमा छेक्न सक्दैनँ।’’ स्व. तुलारामकी 84 वर्षीय श्रीमती सरस्वती घिमिरेले आफ्ना छोरा गोपाललाई एडिलेडमा आएदेखि नै यस्तो नयाँ कामको थालनी गर्न घच्घचाएकी थिइन्। ‘‘मलाई एउटा छिमेकीले हामीले जोसुकै जातिलाई घरमा पस्न दियौं भन्ने कारण देखाएर एक मेरो घरमा चिया पिउन मानेनँ, त्यो कुरा मलाई मानवताविरुद्धको गम्भीर अपराध झैं लाग्यो।’’ आँखाबाट आँसु झार्दै वृद्धा सरस्वतीले भनिन्। उपस्थित सबै अतिथिहरूले घिमिरेको कदमप्रति समर्थन र सद्भाव जनाउँदै अब उसो आफ्नै समाजभित्र तल्लो-माथिल्लो जातिको नाममा कुनै किसिमको भेदभाव भए त्यसविरुद्ध चोटिलो संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।

4 COMMENTS

  1. गोपाल घिमिरेले ८५ वर्ष पुगेकी बुढी आमालाई पिताको श्राद्धमा सार्वजनिक भोजमा सामिल गराए । जात र जातिको उचनीच व्यवहारलाई हटाउने प्रयास गरेकोमा धन्यवाद । समाजमा यस्ता कुराहू हुँदै जानु पर्छ तबमात्र भेदभावसहित समाजको सिर्जना गर्न सकिन्छ ।
    गोपालजीले मृत्यु भएको पितालाई श्रद्धाञ्जलीमा नयाँ कामको थालनी गरेर सबैबाट धन्यवाद पनि पाए तर, ती बुढी आमालाई परिवारले दिने गरेको यातानातर्फ कसैको ध्यान गयो की गएन ? ती बुढाीआमा बेलडाँगी बस्ता धुरुधुरु रोएको हामीले देखेका छौं । छोराबुहारीबाट गरिएको हेँला र सधैं आमाले मात्रै काममा दलिनुपर्ने दुःख देखेका छौं । यहाँ त समाजले दिन्न थियो वहाँ पुगेर फेटा गुथ्ने जमर्को गरे राम्रै होला तर, मरेको पिताको नाममा श्रद्धाञ्जलीमा सार्वजनिक भोज सुवाएर स्याबासी थाप्ने प्रयास र समाचारमा आउने धृष्टता गर्नु भन्दा जिउँदै रहेकी बुढीआमाको सेवा सुश्रुषा गरेर आशिर्वाद थाप्ने काम गर्नु भयो भने मात्र गोपालजीको प्रयास सफल भएको ठानिने छ ।