Wednesday, September 22, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

संयोगान्त, तर आँखा रसाउने लेखन: छाप्रो नम्बर ५५

Must Read

दुइटा सेक्टरका छाप्रो नम्बर ५५ मा बस्ने दुई मानिस संयोगले कथामा जोडिन पुग्छन् । समयसँगै कथामा वियोग हुन्छ । तर कथाको संयोगान्त हुन्छ । अनि पाठकले ढुक्कले सास फेर्छन् ।

रमेश दियालीको उपन्यास ‘छाप्रो नम्बर ५५’ थोरै भूटान, धेरै नेपालको पथरी शरणार्थी शिविर, बेलडाँगी, आम्दा अस्पताल, उपचारका लागि भारत, अनि केही अमेरिका हुँदै एउटी दलित किशोरीको वरपर घुमिरहेको कथा हो । सिंगो उपन्यास शिविरको कष्टकर जीवन, जातीय विभेद आदिमा घुम्छ । पूरै पढ्नुभयो भने यसले बेला–बेला रूवाउँछ । तर पढ्न थालेपछि नटुङ्ग्याइ छाड्नै सक्नु पनि हुन्न ।

दियाली नयाँ लेखक हुन्, र उनको यो पहिलो उपन्यास, पहिलो कृति पनि हो । उपन्यासको भाषा सरल र मीठो छ, कहीकतै तर एकदमै कम अप्ठ्यारा शब्द भेटिन्छन् ।

गंगाको सेरोफेरो
कथा गंगा दमाईसँगै अघि बढ्छ । सानैमा आमा गुमाएकी, बाबुले पालेकी । रोगी बाबु शरणार्थीको रासन पाउँछन् र सानोतिनो लुगा सिलाउने काम गर्छन् । गंगा स्कूल जान्छिन् । गंगाको भेट देव भन्ने केटोसँग हुन्छ । माया बस्छ । शिविरमा दिने रासन पर्याप्त नहुने भएकाले मान्छेहरू बाहिर काम गर्न जाने गर्थे । देव पनि बागलुङ जान्छ । उसको खबर आउँदैन । यो वियोगमा अर्को पात्र आउँछ । उक्त पात्र रहँदैन । बाबु पनि बित्छन् । पुनर्वासमा मान्छे जाने क्रम जारी रहेका बेला उनी पनि जाने वा नजाने भनेर दोधारमा रहन्छिन् । केही लाग्दैन, जाने निर्णय गर्छिन् र अमेरिका आउँछिन् ।

शिविरकै सम्झना
आगलागीले छाप्रा जलेका, हुरीले उडाएका, रेडियोमा नेपाली गीत बज्ने, ऊन कात्ने काम, रामायण पढ्ने, बिहेको जग्गे, पूजापाठ, रासनको लाइन, कक्षाकोठाबाहिर घाममा पढ्ने स्कूले, केटाकेटीको वनभोज, चप्पलको फित्ता चुढिने, रिक्सामा झुण्डिएर टाढासम्म पुग्ने केटाकेटीहरू, पिपलको रूख, आम्दा अस्पतालको भर, अनि त्यो आम्दा गन्हाएका घटना आदिले त्यही माटोको सुगन्ध दिन्छ । उतै पुर्‍याउँछ ।

बिहेमा श्लोक (सिलोक) भट्याएको प्रसंग रमाइलो छ, ‘बिहानै र बेलुका जलुकाको तिउन, मेरा माइती दुःखी थिए, के को दाइजो दिऊन ..’, ‘गाई चर्न गए मथुरा वनमा, के के हुन्छ थाहा छैन मनमा ।’

जातभातमा भेदभावका कुरा पानी थाप्न जाँदा झेल्ने गंगाले कति मान्छेबाट छोरीलाई झैं माया पाएकी छन् । कोही मान्छे जातभन्दा माथि देखिन्छन्, कोही निकै रसातलमा ।

भोग्नेका लागि यी घटना नौला नलाग्न सक्छन् । तर शब्दले बिझाउँछन्, मन बारम्बार भक्कानिन्छ ।

लेखन–शैली
दियालीले उपन्यासमा धेरै पात्रहरूमा वास्तविक मानिसमा उतारेका छन् । बिम्वहरूको प्रयोग बारम्बार भएको देखिन्छ । साँचो लेखेर पाठकप्रति न्याय गरेकै देखिन्छ ।

कहीँकहीँ उनले घटनाका केही वर्णन पछि गर्नाले पाठकले, ‘ए, यसो गरिदिएको भए हुन्थ्यो नि !’ भन्ने जस्तो लाग्छ । एउटा पात्रलाई उपचार गर्न सिलिगुडीबाट रेलमा बैंङ्ग्लोर लगिन्छ । पाठकलाई जाँदा यात्रा समय कति लाग्यो होला ? भन्ने भइराखेको हुन्छ । तर फिर्दा मात्र समय लेखेकाले, ‘होइन, यो समय त जाँदा लेख्या भए हुन्थ्यो नि !’ जस्तो भने लाग्दो रहेछ । यस्ता बेमेल १–२ ठाउँमा भेटिन्छन् ।

किताबको रूप
यसको प्रकाशन मञ्जरी पब्लिकेशन, काठमाडौंले गरेको हो । आवरण रंगीन छ र टाइम्स क्रियशन, काठमाडौंले सजाएको छ ।

सोह्र (१६) अध्यायमा बाँढिएको उपन्यासको मूल्य नेपाली रूपैयाँ ३१५ छ । पुस्तक एम्याजनमा पनि छ, र मूल्य २० डलर । २३२+४ पृष्ठमा लेखकको २ पृष्ठ मन्तव्य मात्र छ । बाँकी कथा छ ।

आफू महिला भएर आफ्नै कथा लेखेको भनेका छन्, लेखकले । लेखकको मन्तव्यको अन्तमा छ, ‘यो उपन्यास अब तपाईं पाठकको भयो । मारे पाप, पाले पुण्य ।’ उनले महिला पात्रलाई न्याय गरेका छन् । हामीले पाले पुण्य नै हुने देखिन्छ ।

(अक्षरिका, जनवरी २०१९ बाट)

Latest News

Exploring- Baudha, Ishaai, Hindu, Musalman: Music Video

Religion, to be precise, is the organization of spirituality into something that became the hand maiden of conquerors. In...

More Articles Like This