Tuesday, September 21, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

सामाजिक सञ्जाल ऐना हो

Must Read

स्कूलमा एउटा वादविवादको विषयमा धेरैलाई पक्ष-विपक्ष लिएर बोलेको याद हुनसक्छ, ”विज्ञान बरदान हो की अभिशाप ।” सम्झौं त, तपाईं यसलाई बरदान की अभिशाप मान्नुहुन्छ । मानव, ठाउँ, सामान, हावापानी आदिको कुरा गर्दा हामी गुण-अवगुण, फाइदा-बेफाइदा आदिका कुरा गर्छौं । सबै चिजको दुई पाटा छन् ।

सेलफोन र सेल्फी बयान

विज्ञानले हामीलाई धेरै प्रविधिहरू दियो । जीवन सजिलो बनाइदियो । एउटा ज्वलन्त उदाहरण, आधुनिक सेलफोन । हात-हातमा सेलफोन सम्पर्क सजिलो भो, अरू धेरैथोक सहज भो । यो हातमा पर्न थालेपछि सेल्फी खिच्ने चलन बढ्यो । जेसँग पनि सेल्फी खिच्नेहरूले बेलाबखत नराम्रो परिणाम भोगेका छन् । यसको उदाहरण: इराक, अफगानिस्तान युद्धमा दिवंगतको शरीरसँग सेल्फि खिच्ने अमेरिकी सेनाका मानिस कार्वाहीमा परेको घटना धेरैले सुनेको हुनुपर्छ ।

मरेपछि आफ्नो शरीरमा आफ्नो अधिकार दाबी गर्न सक्दैन, मानिस । यही मौका छोपेर हामी तम्सिन्छौं, फोटो खिच्न, भिडियो उतार्न, यस्तै । फोटो खिच्दा के बिग्रियो ? भिडियो उतार्दा के नै गयो ? केही भएन । तपाईंले माया गर्नुभयो । सम्झनाको चिनो राख्नुभयो । तर नाता-सम्बन्ध नभएको मानिसको फोटो वा भिडियो, खास प्रयोजनका लागि होइन भने नउतारेकै राम्रो ।

तर त्यही फोटो, अनि त्यही भिडियो: फेसबुक, व्हाट्सअप ग्रुप, ट्विटर, इन्स्टाग्राम, बल्क म्यासेज सर्विसेस जस्ता आजकलका सामाजिक सञ्जाल (सोसल मिडिया) मा हालिदिनु भयो । वास्तवमा के हुन्छ भने यस्ता माध्यमले हामीलाई मनोवैज्ञानिक रूपमा उक्साउँछन् । जसले उक्सायो, हामी उक्सीहाल्ने त होइनौं । तर उक्सीन्छौं । हो, यो उक्साहटमा यहाँ गलत भयो । हामीलाई आफ्नो ”आरामदायी अवस्था” (कम्फोर्ट जोन) मा गरेको कामको परिणाम नसोच्ने मनोवैज्ञानिक स्थिति पैदा गरिदिनु ती माध्यमको बलियो पक्ष हो ।

यसरी त्यही फोटो, अनि त्यही भिडियो सोसल मिडिया हालेर उहाँको शरीरले उहाँको अधिकार दाबी गर्न नसक्ने भएपछि हामीले उहाँको मजाक उडायौं । निरर्थक भयो । गलत भयो । उहाँको सम्मान भएन यो । अपमान भयो । ज्युँदो हुँदा नगरेको अपमान अहिले गर्‍यौं ।

त्यसैले त यति बेला, ”सोसल मिडिया: बरदान हो की अभिशाप” भनेर वादविवाद गर्न आवश्यक भएको छ ।

आफूलाई प्रश्न

मानिसहरू यो कामलाई नकाम भन्छन्, बेकाम भन्छन् । किन भन्छन् त यसो ? हामीले विचार गर्ने गरेका छौं । सामाजिक सञ्जालमा दिवंगतका शरीरका फोटा वा भिडियो राखिदिनुअघि यी विषयमा यसो मनन गरेका छौं:

  • के मैले दिवगंतको परिवारलाई सोधेर फोटा वा भिडियो लिएको हुँ ?
  • होइन, यो फोटो वा भिडियो: फेसबुक, इन्स्टाग्राम आदिमा हाल्न जरूरी होला ?
  • यसले मेरा सञ्जालका साथीमाझ सुखद खबर पुर्‍याउँछ?
  • के यो सबैको चासोको कुरा हो ?
  • यसो गरे भनें साथी-भाईले मेराबारेमा के सोच्दा हुन् ?
  • के साना नानीले कतै हेरे भने यसले के असर गर्दो हो ?

सामाजिक सञ्जालप्रतिको तपाईंको यस्ता बानीलाई ”सामाजिक सञ्जाल बानी” (सोसल मिडिया ह्याबिट) भनिन्छ । यसबाट यस्तो काम गर्नेको बौद्धिकता झल्कन्छ । अरूले ”यो कस्तो मान्छे रहेछ, बा !?” भनेर सोच्छन् वा भनि पनि हाल्छन् । त्यसैले अरूलाई जोख्ने मौका नदिएकै राम्रो । अरूलाई भन्ने मौका नदिएकै राम्रो । आफूतिर औंला ठड्याउने मौका नदिएकै राम्रो ।

वास्तवमा सामाजिक सञ्जाल ऐना हो । त्यहाँ मेरो रूप देखिन्छ, तपाईंको रूप देखिन्छ, जो सामुन्ने पुग्छ: उसको रूप देखिन्छ । आफ्नो रूप अरूका लागि हाँस्ने विषय नबनाएकै ठिक ।

कानुनको कसिँदो मुठ्ठी

प्रविधि हातमा छ भनेर सजिलै अपलोड गर्ने बानीले कुनै पनि अप्ठ्यारोमा पार्न सक्छ । सोसल मिडिया ह्याबिटका कारण धेरै मानिस सामाजिक, कानुनी आदि अप्ठ्यारामा पर्न थालेका उदाहरणहरू प्रशस्त पाउन थालिएको पनि छ । सामाजिक सञ्जाललाई अझै पनि नयाँ नै भन्न सकिन्छ । प्रयोग गर्दै जाँदा यसलाई केलाउने प्रयास गरिन्छ । नियमको परिधिमा बाँध्ने प्रयास गरिन्छ र गरिदैं पनि छ । यसको दुरूपयोग रोक्न विभिन्न देशले कानुन पनि ल्याइसकेका छन् । हामीलाई थाहा नपाई आइसकेको पनि हुनसक्छ । हामीले माफी माग्ने समय नपाउन सक्छौं । पछिल्ला समाचारहरूमा पाइएका केही कानुन र त्यससँग सम्बन्धित प्रसंगहरू:

  • अमेरिकाको वेस्ट भर्जिनिया यस्तो कानुन ल्याउने प्रयासमा छ । कानुन नभए पनि यस्ता घटनाका दोषी कार्वाही भएका छन् ।
  • युट्युबमा आफ्ना भिडियो राखेर युट्युबर बनेका लोगान पलले मृतकको तस्बिर राखेका कारण केही महिनाअघि मात्र ठूलो विवादमा परे ।
  • फ्रान्समा दिवंगतको शरीरको फोटो सामाजिक सञ्जालमा राख्न नपाउने नियम बनाइएको छ ।
  • गत सेप्टेम्बरमा दिवंगतको शरीर फेसबुकमा राख्ने ४३ वर्षीय ओमेगा म्वाईकाम्बो नामका व्यक्तिले जेलको हावा खानुपर्‍यो ।

विवेक नै ठूलो

मृत्युलाई उत्सव होइन् । मर्यादित बनाउने चलन धेरै ठाउँमा छ । हामीले यसलाई गहन भएर नियालेका छैनौं । पत्रिकामा समवेदना छाप्दा मानिसहरू दिवंगत व्यक्ति जवान छँदाको फोटो राख्न मन पराउँछन् । पुलुक्क मात्र हेर्नेले सोच्दो हो, ”कति सानै उमेरमै बितेछन् वा बितेछिन् ?!” तर जन्म र निधनको मिति हेरेपछि खुल्छ । उहाँ उमेर पुगेर बित्नुभएको रहेछ । सम्मान गर्नेले यसो पनि गर्छन् ।

हामीले मिडिया वा भनौं न सोसल मिडियाको दुरूपयोग गरेका त छैनौं ? हामी दिनानुदिन निर्दयी बन्दै गएका त छैनौं ? मानवले सोच्ने दिमाग मानव-उत्पत्तिसँगै पाएको हो, यो प्रविधि अनि सोसल मिडिया निकैपछि । किन दिमाग पहिले प्रयोग नगर्ने ?

केही देशले बुझी-नबुझी सामाजिक सञ्जालमाथि नै प्रतिबन्ध लगाएका छन् । उनीहरूले ठिक गरे वा गरेनन्, हामी त्यस विषयमा नजाऔं । हामीले यस्ता सञ्जालको प्रयोग गर्न पाएका छौं, बुद्धि पुर्‍याएर गरेको राम्रो । त्यसैले अब हाम्रो कर्तव्य के बाँकी रह्यो भने विज्ञानको अद्‌भुत देनलाई रचनात्मक कार्यहरूमा प्रयोग गर्नु ।

 

Latest News

भाषा सिकाउने दोस्रो किताबका बारे

हाम्रो नेपाली भाषा भाग २ आएको छ । खिम खतिवडाले तयार पारेको यो पुस्तक अप्रिल १५, २०१८ मा आयोवाको...

More Articles Like This