शीर्षकः साक्षी
लेखकः वाई. एन. चौलागाई
पृष्ठ संख्याः २३९
मूल्यः अमेरिकी डलर १५ (कुरियर खर्चसहित)
साक्षी पुस्तकको एक अंश
हामी त्यो समूहमा मिसिइसकेका थियौँ । पछिल्तिर उभिएका एक जवानले मेरा कानमा खुसुक्क भने, “सर, यो त पागल हो, यसका कुरामा नआउनुहोला ।’’
म झस्किए“ । उनी केके बरबराउँदै, हँसाउँदै थिए । मैले उनका छेउमा गएर बिस्तारै भनेँ, “राजु भाइ, तपार्ईँको कविता मलाई खुब राम्रो लाग्यो….”
“तपार्ईँले मेरो कविता मन पराउनु’भो । तर, म धन्यवाद दिन्नँ, किनभने त्यो मसँग छँदैछैन । मान्छेहरू आफूसँग नभएको चीज दिँदैनन्, होइन र, सर ! कि कसो ?” यति भनेर उनी डल्लो परेर हाँस्न थाले । उनलाई त्यस हाँसोमा अरूले पनि सघाए । केहीबेर म ट्वाल्ल परेर उभिरहे“ ।….
केहिबेरपछि उनले भने, ‘‘हामीले होस्टेलमा रहँदा भुटानमा आन्दोलन सुरु भएको कुरा थाहा पायौ“ ।….बाह्रौँ कक्षाको अन्तिम परीक्षा दिएपछि स्कुल बिदा भयो । घर पुगेकै साँझ बुबाले भन्नुभयो, ‘राजु, तँलाई थाहा छैन होला, गाउँका टाठाबाठा मान्छे र युवाहरू आजकल प्रहरीले धमाधम समाउँदै छ । एकदम सतर्क भएर रहनुपर्छ है बाबु ।’
‘हुन्छ बुबा, म घरै त बस्छु । बाहिर कहीँ जानुछैन । आफ्नो खेतबारीमा काम गर्दा कसले के गर्ला र ?’ मैले यसो भनेको थिएँ ।
मेरी आमाले भन्नुभयो, ‘त्यसो भनेर कहाँ हुन्छ र राजु, हिजो राती पल्लो घरे मोक्तान साहिँलाको छोरो दीपेन्द्र अनि कार्की बाको कान्छो नाति काजीमान दुवैलाई बिनाकारण लिएर गएछ । तिमीले लुकेर बस्नुपर्छ । पुलिस आइहाले पनि कतै लुकिहाल्नुुपर्छ । हामी घरमा छैन भनौँला ।’
मैले लुकेरै बस्नुपर्ने रहेछ भन्ने बुझेँ ।