मैले यसरी अमेरिकी नागरिकता लिने परीक्षा पास गरें : तीर्थकुमारी

26644
1038
नागरिक बनेको दिनः जेठा छोरा खेमबहादुर, छोरी धनरूपा, तीर्थकुमारी, पति भक्तबहादुर र कान्छा छोरा कमल (हातमा कमलको छोरा) / तस्बिर बस्नेत परिवार

मेरो नाम तीर्थकुमारी बस्नेत हो । मेरो जन्म भारतको आसाम राज्यमा भएको हो । म जन्मले बुढाथोकी हुँ । हाम्रा माता-पिताका एक दिदी, एक दाजु, म र एक भाई गरी हामी चार सन्तान हौं ।

नागरिक बनेको दिनः जेठा छोरा खेमबहादुर, छोरी धनरूपा, तीर्थकुमारी, पति भक्तबहादुर र कान्छा छोरा कमल (हातमा कमलको छोरा) / तस्बिर बस्नेत परिवार नागरिक बनेको दिनः जेठा छोरा खेमबहादुर, छोरी धनरूपा, तीर्थकुमारी, पति भक्तबहादुर र कान्छा छोरा कमल (हातमा कमलको छोरा) / तस्बिर बस्नेत परिवार

त्यसबेला छोरीलाई स्कूल पठाउने चलन थिएन । मैले पढ्न पाइँन । १७ वर्षको उमेरमा भूटानका भक्तबहादुर बस्नेतसँग मेरो बिहे भयो । म बुढाथोकीबाट बस्नेत भएँ । श्रीमान हुलाकमा जागिरे हुनुहुन्थ्यो । उहाँले पनि प्राथमिक कक्षाहरूमात्र पूरा गर्नुभएको थियो । म घर-गृहस्थी गर्थें । हाम्रा तीन वटा नानी- दुई छोरा र अनि एउटी छोरी भए । घर-गृहस्थी गर्नेले पढ्ने मौका कसरी पाउनु र ?

हामी अरूजस्तै सन् १९९३ मा भूटानबाट लखेटियौं । मेरो जेठो छोरो खेम त ठूलै थियो, कान्छो कमल ८ वर्ष र छोरी धनरूपा ६ वर्षका थिए । हाम्रो १५ वर्ष खुदुनाबारी शिविरमा बित्यो ।

शिविरमा बस्दा २-३ महिना प्रौढ कक्षा गएँ । नानीहरू साना भएकाले पढ्न सकिन । छाडें । कहिले वर्कशप भन्थे, कहिले ट्रेनिङ भन्थे । मैले यस्ता धेरैमा भाग लिएँ । क्याम्प कमिटीको म्यानेजमेन्टमा बसे । निकै काम गरें । मान्छेसँग घुलमिल हुन सिके । नपढेको भए पनि हिम्मत आयो । तेस्रो राष्ट्र पुनर्स्थापनाको फारम भरें । परिवारले पत्तै पाएको थिएन । पुनर्स्थापनामा आउनेमा हामी शुरुकै भयौं ।

हामी सन् २००८ मे २९ मा अमेरिका आयौं । हामी सिधै न्यु ह्याम्सर राज्यको म्यानचेस्टर आएका हौं । अहिले हाम्रो श्रीमान, म, दुई छोरा, दुई बुहारी, छोरी र एक नाति गरेर आठ जनाको परिवार छ ।

यहाँ आएपछि मैले सोचे, ‘यतिका समय त्यत्तिकै बित्यो । पढ्न कहिल्यै पाएको होइन । अब यहाँ अंग्रेजी चाहीँ पढ्छु । यो चाहीं सिक्छु ।’

म म्यानचेस्टर, युनियन स्ट्रिटको न्यु अमेरिकन लर्निङ सेन्टरमा भर्ना भएँ । त्यहाँ सन् २००८ देखि नै जान थालें । अस्ति यसै वर्ष (सन् २०१३) मार्चदेखि त्यता जान छाडे । यता म्यानचेस्टरको पश्चिम, ड्युब्युक स्ट्रिटमा होलिक्रस लर्निङ सेन्टरमा सन् २०१० मा भर्ना भएँ, अझै जाँदैछु ।

शुरु-शुरुमा युनियन स्ट्रिट जाँदा हराइएला भनेर यहाँबाट ठाडो उत्तर लाग्यो, अनि त्यहाँबाट सिधा पूर्व लागेर लर्निङ सेन्टर पुग्थे । हिउँ, गर्मी केही भनिनँ । नियमित कक्षा लिएँ । मैले यी दुइटा सेन्टरमा अंग्रेजी सिके ।

अमेरिका आएको पाँच वर्षमा शरणार्थीले नागरिकता पाउँछन् । मलाई लाग्यो, ‘म भारतमा जन्मे । त्यहाँको नागरिक हुन पाएकै थिइँन, बिहे भयो । भूटानले भएको नागरिक अधिकार लुछ्यो । नेपालमा शरणार्थी भएर बसियो । नागरिक हुने कुरै भएन । अब अमेरिकाको नागरिक त हुनैपर्छ ।’ पालो आयो, अमेरिकाको नागरिकता लिनुपर्ने जाँचको ।

नागरिकता पाउने जाँच अंग्रेजीमा दिनुपर्ने हुन्छ । मैले यसका लागि पनि कक्षाहरू लिएँ । मैले जाँच दिएँ । पास भएँ । म पास भएपछि मेरा उमेरका साथीसँगी र दिदी-बहिनीलाई पनि जाँगर चलेको छ ।

मलाई विश्वास छ, ‘कोशिश गर्‍यो भने गर्न सकिंदो रहेछ ।’

सौजन्यः राजेश कोइराला

(सन् २०१३ अगस्तको ‘अक्षरिका’ मा प्रकाशित लेखको संशोधित रुप – सम्पादक)