‘भूटानी शरणार्थीको इतिहास त्यतिकै हराएर गएको हेर्न सकेनौं’

26644
1313
प्रकाश आङ्देम्बे। फोटो/ विद्यापति मिश्र

भूटानी शरणार्थीका विषयसंग जोडिएका एकपछि अर्को वृतचित्र वा ठुला पर्दाको चलचित्र आइरहेका बेला, हालमा प्रकाश आङ्देम्बेले निर्देशन गरेको चलचित्र ‘देश खोज्दै जाँदा’ को सबत्र चर्चा–परिचर्चा चलिरहेको छ । ललित कलासंग आवद्ध निर्वाशित भूटानीहरूको संस्था इफकेन्स इन्टरनेसनल फाउन्डेसन, इफाका भूटान, लाइनक्रस मुभिस् अनि गन्तव्य थियेटरको सम्युक्त लगानीमा निमार्ण भइरहेको यो चलचित्रले भूटानी मूलका नेपालीभाषी माननिसहरूको इतिहास र निवार्शित भूटानीहरूका शिविरमा भोग्नुपरेका पीडा ज्वालन्तरूपमा समेट्ने निर्देशक आङ्देम्बेको भनाइ छ । हुन त शरणार्थीको नेपाल बसाइको दुई दशकपछि निमार्ण हुन लागेको यस चलचित्र धेरैको चासोको विषय बन्नु कुनै अनौठो कुरा होइन । निर्देशक आङ्देम्बे चलचित्रको सम्पादनका लागि काठमाडौँ आएको अवसरमा चलचित्र ‘देश खोज्दै जाँदा’ का विविध विषयमा भूटान समाचार सेवाका पत्रकार विद्यापति मिश्रले उनीसंग एउटा विस्तृत कुरा–कहानी गरेका थिए ।

प्रकाश आङ्देम्बे। फोटो/ विद्यापति मिश्र

‘देश खोज्दै जाँदा’ खास कस्तो चलचित्र हो?
यो नेपाली कथानक चलचित्र हो । जसको विषयवस्तु भूटानी शरणार्थी शिविरको वास्तविकतामा आधारित छ ।

दर्शकहरूमा यसले के महत्व राख्छ?
दर्शकहरुमा के महत्व राख्छ भन्ने सबलको कुरा गर्दा यो दर्शक स्वयंले प्राप्त गर्ने कुरा हो । तर हामीले शिविरको वास्तविकतालाई कलात्मक  र इमान्दार तरिकाले प्रस्तुत गर्ने प्रयास गरेकाछौं ।

अहिले के भइरहेको छ?
सुटिंग भर्खर सकिएकोछ । नयाँ वर्ष २०७० सालको पहिलो दिनवाटै सम्पादनको मुख्य काम प्रारम्भ भएको छ । साउण्ड मिक्सिंग, कलर करेक्सन, फिल्मको कलर टोन, हाम्रो सिग्नेचनरट्यून, व्याकग्राउण्ड फिल म्यूजिक आदि बारे विश्वस्त प्राविधिकहरुसँग सल्लाह गरिरहेका छौँ ।

चलचित्रको नाम कसरी छान्नु भयो?
म भूटानी शरणार्थी शिविर र त्यहाँ भित्रका प्रतिभाहरुसँग डेढ दशकदेखि नजिक छु । नजिक भएपछि त्यहाँका हरेक कार्यहरुसँग म प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएकोछु । आफ्नै आँखा अगाडि नै हेर्दा हेर्दै क्याम्पहरु आगलागिबाट खरानी भए । तीन वटा शरणार्थी क्याम्पहरु (गोलधाप, टिमाई, खुदुनाबारी) विस्थापित भए । रातदिन सँगै उठवस गरेका नजिकका प्रतिभाहरु बिदा भएर तेस्रो देश लागे । अपसोच, अबको केही वर्षमा सायद शिविर नरहला । यिनै कुराहरूलाई मध्यनजर गर्दा शरणार्थी क्याम्पका वास्तविकता यतिकै हराएर जालान् कि भन्ने कुरामा सम्बन्धित स्रष्टाहरु र कलाकारहरू, शुभेच्छुकहरुसँग कुरा उठ्यो । केही त गर्नै पर्छ भन्ने लाग्यो । सबैसम्म पुग्न कस्तो कार्य उचित होला भन्नेमा निकै समय लाग्यो । अन्तत कथानक चलचित्र निर्माण गर्ने निर्णय गर्‍यौ । यो सोच आएपछि चलचित्रका सहकर्मी स्क्रिप्टराइटर उपेन्द्र सुब्बासँग कथा रिसर्च गर्न थाल्यौ । बहसकै क्रममा तात्कालिक सम्बाद संगीतालय अनामनगर काठमाडौँमा कवि श्रवण मुकारुङ, सञ्चारकर्मी पारसमणी नेपाल, देवेन्द्रराज भट्टराई, रेडियोकर्मी अमरध्वज लामा, संगीतकार पारस मुकारुङ, कवि चन्द्रबीर तुम्बापो आदि बसेको बेला देबेन्द्रराज भट्टराईले यो शीर्षक राम्रो हुन्छ भनेर भन्नु भो । हामीलाई त्यही शीर्षक उचित लाग्यो, अनि राख्यौं ।

भूटानी शरणार्थी समस्यासंग जोडिएका धेरै वृतचित्रहरू निर्माताका लागि आर्थिकरूपले आकर्षक ‘प्रोजेक्ट’ बन्ने गरेका कुरा आइरहेका बेला ‘देश खोज्दै जाँदा’ पनि त्यस्तै चलचित्रको सूचीमा जाँदैन?
पहिलो कुरो शरणार्थी समस्या हाम्रो चलचित्रको विषयभन्दा बढी आत्मिक, भावनात्मक संवेदनाको सम्बन्ध हो ।
आखा अगाडि नै लाखौँ नेपालीभाषी भूटानीहरुको हराउँदै गएको लाचार वास्तविकता हो । इतिहास हो । शुभचिन्तक, स्रष्टाको नाताले आफन्तहरुको इतिहास त्यतिकै हराएर गएको हेर्न सकेनौं र यो चलचित्र निर्माण गरेका हौँ । शरणार्थी शिविरका बारेमा दातृनिकायहरुले आफ्नो अनुकूल डकुमेन्ट बनाए । राजनीतिज्ञ, मानबअधिकारकर्मीहरुले आफ्नै अनुकूल डकुमेन्ट बनाए । नेपाल सरकार र भारत सरकारले आफू अनुकूल डकुमेन्ट बनाए । तर क्याम्पभित्रै बसेका आम भूटानीहरुको वास्तविकतासम्म कोही पनि पुगेनन् । एउटा स्रष्टाको आँखाले यी सबै कुरा नियालिरहेको थियो । उनीहरूको भोगाइमा, देखाइमा शिविरको बसाइ अवधि कस्तो रह्यो । यिनै कुरा प्रस्तुत गरेका छौँ । अन्य बारेमा अहिले सोचेका छैनौ ।

तयारी भइसक्दा लगानी कति हुन आउछ?
अस्ति प्रेसजानकारीमा हामीले सुटिंग भरिको मात्र अनुमानित बजेट ४०लाख नेपाली भनेर भनेका थियौँ । तत्काल सुटिंगको चटारोले वास्तविक हिसाब कति भयो थाहा थिएन । भर्खर मात्र प्रारम्भदेखि आजसम्म कति खर्च भयो भनेर हिसाब निकाल्यौं । नगद लगानी मात्र ठयाक्कै ६४ लाख नेपाली पुग्यो । पोस्ट प्रोडक्सनको खर्च बाहेक । हाम्रो सम्बन्ध र विषयवस्तुको सम्वेदनसिलता देखेर सम्पूर्ण फिल्म युनिटले नै सहयोग गरे । प्राविधिकहरुले कम शुल्कमा सहयोग गरे । कलाकारहरू कसैले पनि पारिश्रमिक माग्नुभएको छैन । १०० जना टिमले तीन महिना(सेट निर्माणदेखि सुटिंगसम्म) निरन्तर खटे । त्यो बाहेक धेरै दृश्यमा सयौँ मानिसहरूले सघाए । शिविरका भित्रका प्रशासनिक संयन्त्र, अग्रज, अनुभवि, स्रष्टा, समाजसेवीहरु र शिविर बाहिरका नागरिक समाज, स्थानीय समाज, समाजसेबि, प्रशासनिक संयन्त्रले विषयवस्तु र तात्कालिक दुर्घटनाको सम्भावना र समाधानको वास्तविकता बताएर सघाउनु भयो । सबैलाई आर्थिक रूपान्तरण गरेर हेर्न हो भने करोडौ नाघ्न सक्छ ।

दमकमा गरिएको पहिलो पत्रकार सम्मेलनमा बोल्दै आङ्दाम्बे । फोटोः तिलक निरौला, विएनएस

कसरी जुट्दैछ त्यत्रो लगानी?
यो सोच सन् २००५ तिर प्रारम्भ भयो । निकटका केही साथीभाइहरुलाई सुनाएँ । केहीले विश्वास गरेँ, केहीले पत्याएनन् । मलाई पत्याउने आधार पनि थिएन । तत्काल डेरामा बस्ने, सडकमा हिड्ने मान्छेवाट यत्रो कुरा कसरी सम्भव हुन्छ ? भन्ने थियो धेरैलाई । दश जना मिलेर तीन तीन लाख उठाउने योजना थियो । स्रष्टा अशोक बस्नेत बाहेक सबै साथीहरू टाढिए । टाढिए मात्रै त हुन्थ्यो । “प्रकाश आङ्देम्बे नपुग्ने सपना देख्छ, यस्तो काम नलाग्ने स्टोरीमा दुनियाँको पैसा डुबाउन खोज्दैछ” भनेर कुरा काट्न थाले । मेरो सपनाको सामु चुनौतीको पहाड उभिएको थियो । मैले धेरैसँग यो बारेमा सहयोग मागें, हारगुहार मागें तर कसैबाट पनि झुटो आशाशिवाय केही मिलेन । शिविरभित्रका कलाकारहरुलाई सम्झेर स्क्रिप्ट लेखेका थियौँ तर सबै कलाकारहरू आँखा अगाडि नै रुँदै तेस्रो देश पलायन हुन थाले । यी सबै कारणले झन्डै डिप्रेशन भयो बिचमा । यतिबेला मलाई साँच्चै नै माया गर्ने, बुझ्ने शिविरभित्रका र बाहिरका स्रष्टा भाइवहिनीहरुले साथ दिए । क्रमश: नेपाल, दार्जिलिंग, सिक्किम र संसारभर छरिएर रहेका स्रष्टाहरुसँग यो विषयमा कुरा हुन थाल्यो । नेपाली जातिका वरिष्ठ र सृजनशिल व्यक्तित्वहरुले डा. तुलसी भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई, मनप्रसाद सुब्बा, विन्द्या सुब्बा, नगेन्द्र गोर्खा, मणिकमल क्षेत्री, राजन मुकारुङ, याम थुलुङ, विद्यापति मिश्रलगायतले मानसिक साथ दिन थाले । मलाई ऊर्जा मिल्न थाल्यो । यही बेला कलाकार, फिल्म मेकर मित्र प्रल्हाद गुरुङसँग भेट हुन पुग्यो । हाम्रो सपना एउटै थियो । हामीले सोचेको विषय एउटै थियो । यसलाई अगाडि बढाऊँ हामी छौँ भन्नु भयो । त्यसपछि हाम्रा मित्र कार्यकारी निर्माता बिरेन्द्र क्षेत्रीसँग(इफकेन्स र लाइन क्रस मुभिज्) भेट भयो । वहाँको प्रयास साथै इफका भूटान र गन्तव्य थिएटरवाट स्कुलिङ भएका भाइबहिनीहरुको स्वेच्छिक र प्रेमिल सहयोग, हाम्रो सपनालाई साथ दिनुहुने आफन्तहरु, केही रकम सापटी, केही रकम ऋणमा जुटाएर यो कार्य गर्‍यौँ ।

चलचित्रका मुख्य विशेषता र आकर्षणहरू के–के हुन?
शरणार्थी विषय आफैँमा सम्बेदनशील र अन्तराष्ट्रिय विषय हो । संसारमा अन्य देशका शरणार्थी आपसी मारामारका कारणले भएका हुन् । भूटानी शरणार्थी राजनैतिक आवाजका कारण भएका हुन् । यो विषय नै फरक छ । मेरो आफ्नो दृष्टिकोणमा भूटानी शरणार्थी, शरणार्थी मात्र होइनन् राम्रा र असल प्रतिभा पनि हुन् । यो विषयलाई हामीले कसरी प्रस्तुत गर्ने भन्ने बारेमा संसारका राम्रा राम्रा महोत्सवहरु नियाल्यौँ, चलचित्रहरु हेर्यौ, फिल्मेकिंग सम्बन्धी कार्यशालामा सहभागी भयौँ र कुनै पनि चलचित्रसँग प्रभाव नपर्ने गरी, स्टोरी टेलिङ आइडिया अरूसँग नमिल्ने गरी हाम्रो आफ्नो तरिका प्रस्तुत गरेका छौँ ।

आङ्देम्बे

कलाकारहरूलाई निःशुल्क भूमिका निभाउन लगाउनु भएको भन्ने कुरा छ नि?
हामीले जम्माजम्मी कमाएको भनेको साथीहरू र इज्जत हो । यही कारणले जब मैले स्टोरी सुनाएँ, बाबु बोगटीले पाँच वर्ष अघिदेखि यो विषयमा साथ दिइरह्यो निरन्तर । हेमन्त बुढाथोकी, अरुणा कार्की, आदि लगायत ५० जना जति सबै कलाकारहरूले राम्रो काम पैसाले पाइदैन भनेर पारिश्रमिकको कुरा नगरी साथ दिए । वहाँहरुलाई हृदयभरीबाट धन्यवाद दिनु बाहेक हामीले केही दिन सकेका छैनौ ।

‘कपोकल्पित्’ दृश्यहरू चलचित्रमा कतिको राख्नुभएको छ?
हामीलाई कसैको आँसु र रोदन सिधै खिचेर विश्व बजारमा जानु छैन । हामीलाई हाम्रो कला र बिचारप्रति विश्वास छ । कला तयारीको लागि जीवनको ५ वर्ष लगानी गरेका छौँ जुन पैसामा साट्न सकिँदैन । हामीले वास्तविकता माथि काम गरेका हौँ । जुन कुरा भोलिको लागि इतिहास हुनेछ । कुनै पनि बहानामा कसैको इतिहासमाथि खेलवाड गर्नु हुँदैन भन्ने कुरामा हामी दृढ छौँ । इतिहास भन्दैमा फेरि यो चलचित्र डकुमेन्टी चाहिँ होइन । यसमा ड्रामा, सस्पेन्स छ । कतिपय दृश्यहरुमा दर्शकले थाहा नपाएका कुराहरू जस्तो पनि ठान्लान् तर त्यो सम्बन्धित दर्शकको अज्ञानता हुन जान्छ । हामीले सोधेर, खोजेर, पात्र स्वयम् भेटेर मात्र काम गरेका छौँ ।

निर्देशकको हिसाबले भन्नुप र्दा नेपाली फिल्मी इन्डस्ट्रीजमा ‘देश खोज्दै जाँदा’ ले कस्तो स्थान ओगट्ला?
म कहिले पनि आफ्नो स्थान खोजेर हिँड्दिन । यो चलचित्र मेरो आफ्नो कारणले मात्र बनिएको होइन । यसमा हजारौँ शुभेच्छुकहरुको आर्शिवाद, प्रेम, साथ, सहयोग छ । प्राविधिकहरुले पनि उत्तिकै साथ दिएकाछन् । कलाकार, सहयोगी सबैले आफ्नो सम्झेर काम गरिदिनु भएको छ । मेरा आदरणीय मितज्यू साम्तेन भूटिया(निर्देशकः लेटर) भूटियाले आफ्नो फिल्महरु छाडेर यस चलचित्रमा निर्देशनका कतिपय पाटोमा सहयोग गरिदिनु भएको छ । सुन्दर सटहरु कम्पोज गर्न सघाउनु भएको छ । हामी सबैले मिहिनेत र मिलेर काम गरेका छौँ ।

कुनै नयाँ तरिका, प्रविधिको प्रयोग गर्नुभएको छ कि?
नयाँ, नौलो, फरक भन्ने गफ दिनु उचित लाग्दैन । सबै सामान्य छन् तर हामीले आफ्नो शैली निर्माण गरेका छौँ । नेपाली चलचित्र क्षेत्रमा भएका सबैभन्दा राम्रा सामाग्रीहरू, ज्ञाता र सम्बन्धित मान्छेको हातबाट चलाएका छौँ । सिंग साउण्ड प्रयोग गरेका छौँ । किनभने शिविरभित्र निस्कने आवाज, सामाग्री र जीवनशैलीको आवाज पैसाले किन्न पाइन्न । त्यसलाई स्पोटमा नै रेकर्ड गरेका छौँ । ट्रली, क्यामेरा, जीप आदिको मोसन र मुभको अर्थ दिएका छौँ । व्याकग्राउण्ड म्युजिक पनि त्यही जीवनशैलीसँग मिल्ने गरी शिविरकै अग्रज कलाकारको आवाज र वहाँले प्रयोग गर्नुहुने बाजालाई रेकर्ड गरेका छौँ ।

भूटानीहरूबाट चलचित्रप्रति कस्तो हौसला पाउँदै हुनुहुन्छ?
म देश, नागरिकता भन्दा पनि प्रतिभा र सृजना माथि विश्वास गर्ने मान्छे हुँ । नेपालीपन र नेपालीमन बाँच्नेमाथि विश्वास गर्ने मान्छे हुँ । जो नेपाली पनि हुनसक्छ । भूटानी पनि हुनसक्छ । या अन्य देशका पनि हुनसक्छन् । पहिलो कुरो हामीलाई यो विषयमाथि चलचित्र बनाउन मन लागेर बनाएका हौँ । मेरो जीवनमा स्वभावैले भूटानी नेपालीहरुसँग आत्मीय सम्बन्ध बन्यो । सृजनात्मक सम्बन्ध बन्यो । वहाँहरुसँग मेरा हरेक काम र सृजनाहरु आत्मीय भएर रहे । यसको अर्थ यो होइन कि, यो चलचित्र भूटानीहरुलाई मात्र तार्गेट गरेर बनाइएको हो ? संयोग त्यस्तो लाग्न सक्ला तर हामीले यो चलचित्र संसारलाई देखाउन मिल्नेगरी बनाएका हौँ । प्रतिभा र सृजनामा हामी संसारको कुनै देशभन्दा कमजोर छैनौँ ।

सम्पादन टोलीका साथ आङ्देम्बे (सौजन्यः नविन प्राचीन)

चलचित्रको एडिटिङ–मिक्सिङ अमेरिकामा हुने हल्ला छ नि, के यो सत्य हो?
पहिलो कुरो मलाई विदेश मोह कहिले पलाएन । कामको सिलसिलामा समयले घुमाएछ भने अलग कुरा हो । प्रतिभा संसारको कुनाकुना पुग्न सक्छ तर व्यक्ति पुग्न सक्तैन भन्ने मान्यता बोक्छु । अचम्म लाग्ला तपाईँहरुलाई कि अहिलेसम्म मैले पासपोर्टसम्म बनाएको छैन भनेर । धेरै देशका धेरै कार्यक्रम र धेरै साथीहरूको निम्तो असफल भएकोछ मबाट । साथीभाइ र आफन्तको करले बल्ल अब बनाउने सोचमा छु, हेरौं के हुन्छ । फिल्म सम्पादनको विषयमा आर्ट डाइरेक्ट प्रल्हादजीसँग वहाँ अध्यनरत वासिंटन सेटल स्थित युनिभर्सिटीको फिल्म स्टुडियोमा काम गर्ने कि भन्ने अनौपचारिक चर्चा चलेको मात्र हो । सृजना भनेको प्रविधिलेभन्दा बढी चेतना र संवेदनाको बोधले सृजिने तत्व हो भन्ने हामीलाई थाहा छ । तसर्थ सम्पूर्ण फिल्मको सम्पादन कार्य काठमाडौँमा एस्लेसा एन्टरटेन्मेन्ट सर्भिसले नै गर्ने भन्ने कुरा पक्कापक्की भयो । यसको फाइनल टचका लागि केही महिनापछि प्रल्हादजी स्वय्म २०० भन्दा बढी देशका कलाकारहरुको सहभागिता फ्रान्सको पेरिसमा हुने अन्तराष्र्टिय पेन्टिंग प्रदर्शनीमा नगएर नेपाल आउने हुनुभएको छ ।

पर्दामा कहिले आउँछ?
बढीमा पाँच महिना लाग्ला ।

अन्तयमा, के भूटानी शरणार्थी पुस्तौदेखि उनीहरूको देश खोज्दै हिडेका मानिस हुन् ?
हामी कलाकर्मीहरु सबैभन्दा पहिले सम्बेदनाको कुरा हेर्छौ । हाम्रो आँखा अगाडि लाखाँै नेपालभाषी भूटानीहरु को जीवन र भोगाई बिस्तारै तितरवितर हँुदै गएको पायांै । सम्बन्धित विषयमा काम गर्नुपर्छ भन्ने जिम्मेवारी बोध ग-यौं ।। संयोगले चलचित्रको नाम देश खोज्दै जाँदा जु-यो । यो एउटा चलचित्रको शीर्षक र सिम्बोल मात्र हो । यसैलाई आधार बनाएर सारा भूटानी शरणार्थीहरुको भोगाइ, जीवनयात्राको समग्रतालाई प्रश्न नगरिदिनुस् । बरु हाम्रो यो कार्यले नेपालीभाषी भूटानी शरणार्थीहरुको यात्राको कुनै कालखण्ड चलचित्रकै रूपमा भए पनि डकुमेन्टेसन भएछ भनेर मनमा गुनिदिनुस् । यति भो भने शरणार्थीको रूपमा लखेटिएका नेपालभाषी भूटानीहरुको मूल सम्बेदनाले निरन्तर खोजिरहेको प्रश्नको उत्तरमा हाम्रो तर्फबाट थोरै भए पनि केही काम भएछ भन्ने हामी ठान्नेछौं ।

26644 COMMENTS

  1. Well, last question is great one which was I too gonna ask. Though, the answer by Angdangbe about the last question and being the tittle of movie is quite not serious one. Anyway, nice concept………….

    Subash, AZ