भाषा र साहित्यप्रति नेपालीभाषी भूटानीहरू सचेत

2
343

नेपालबाट तेश्रो देश पुनर्वासमा पठाइएका भूटानी शरणार्थीहरूले ती देशमा पुगेर पनि आफ्नो भाषाको उत्थान र संरक्षणमा सक्रियता देखाइरहेको पाइएको छ । भूटानी शरणार्थीहरूको सन्दर्भमा पुस २७ गते शनिवार अर्थात् जनवरी ११ मा काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले नेपालीहरू जहाँ गए पनि र जुन देशका भए पनि आफ्नो भाषा र साहित्यको विकासका लागि दत्तचित्त रहेको समेत बताएका छन् ।

डिस्कोर्स पब्लिकेशनले आयोजना गरेको “नेपाली सन्दर्भमा शरणार्थी साहित्य कार्यशाला गोष्ठी” का वक्ताहरूले भूटानी निरङ्कुश सत्ताले बलपूर्वक नेपालीभाषी भूटानीहरूको भाषा र साहित्यमाथि हस्तक्षेप गर्दै देशनिकाला पनि आफ्नो भाषा र साहित्यको संरक्षण र संवद्र्धनका लागि नेपालीभाषी भूटानीहरू सचेत र सक्रिय रहेको समेत बताए ।

पुस्तक विमोचन कार्यक्र्रममा उपस्थित श्रष्टाहरू  तश्विरः विनोद ढुङ्गेल/विएनएस
पुस्तक विमोचन कार्यक्र्रममा उपस्थित श्रष्टाहरू
तश्विरः विएनएस

सो अवसरमा पुनर्वासका सिलसिलामा हालै मात्र संयुक्त राज्य अमेरिकामा पुग्नुभएका साहित्यकार शिवलाल दाहालको “अलविदा बेलडाँगी” कृति पनि विमोचन गरियो । कृतिमा दाहालले भूटानदेखि नेपालसम्म भोगेका घटना तथा भावनाहरूलाई प्रस्तुत गरिएको छ । नेपाली सन्दर्भमा शरणार्थी साहित्यको चर्चा गर्दै सो बौद्धिक कार्यशालामा कार्यपत्रसहित दाहालको पुस्तक विमोचन गर्नुका साथै विगतमा प्रकाशित पुस्तकहरूको समेत चर्चा परिचर्चा गरियो ।

कार्यक्रमका वक्ताहरूले भूटानी शरणार्थी समस्यालाई तेश्रो देश पुनर्वासको माध्यमबाट नेपाल र भूटानभन्दा टाढा–टाढा पु¥याइए पनि भूटानी शरणार्थीका विषयमा थुप्रै कृतिहरू तयार गर्न सकिने संभावना औंल्याए । उनीहरूले तेश्रो देश पुनर्वासमा गएका शरणार्थीहरूले पनि यस विषयमा प्रशस्त कलम चलाउने आशासमेत व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार डा. अभि सुवेदीले शरणार्थी साहित्यलाई विद्रोही साहित्यको संज्ञा दिँदै यस्तो इतिहास कहिल्यै नमर्ने बरु अन्त्य हुँदैहुँदै पुनः शुरुवात हुने विचार व्यक्त गरे । “जुन दिनदेखि भूटानी नेपालीभाषी विस्थापित भए, त्यही क्षणदेखि उनीहरू ट्रान्जिटमा रहेका थिए र तेस्रो मुलुक पुनर्वास हुनु पनि उनीहरूले ट्रान्जिट फेरेका मात्रै हुन्”, डा. सुवेदीले भने ।

पत्रकार जेबी विश्वकर्माले शरणार्थी र जातीय विभेद अहिले अन्तर्राष्ट्रिय मुद्दा बनेको बताउँदै राज्य भएका र नागरिकता बोकेका दलितको पीडा शरणार्थीको भन्दा कम नभएको विचार व्यक्त गरे ।

गीता त्रिपाठीले आफु महिला भएकाले निकै संघर्ष गरेर उठेको ठान्दै गर्व लाग्ने गरेको भए पनि भूटानी शरणार्थीका वास्तविक कथा पढेपछि आफूले कुनै ठूलो कष्ट नै नभोगेको अनुभूति भएको बताइन् । अझसम्म भूटानी शरणार्थी महिलाका कथा बाहिर नआएको उनको भनाइ थियो ।

कार्यक्रममा अतिथि डा. शान्ता कार्कीले नेपाल र भूटानमा मात्र नभएर अमेरिकामा पनि नेपालीभाषीहरूका बीच जातीइ छुवाछूत कायम नै रहेको आफ्नो अनुभव सुनाइन् ।

कार्यक्रममा शिविर यात्राको अनुभव प्रस्तुत गर्दै पूर्व भूटानी शरणार्थी वाई.एन. चौँलागाईंले आफू एकै दिन २८ जनासम्मको मलामी गएको विगतको दर्दनाक अवस्थाको स्मरण गरे । भूटानी शासकहरूले नेपालीभाषी भूटानीलाई दिएको अमानवीय यातना, शिविरका शुरुका दिनहरूका पीडादायी घटनाहरूको वर्णन जति गरे पनि कमै हुने अनुभव सुनाए । डा. सुवेदीका अनुसार वाई.एन. चौँलागाईंले लेखेको पुस्तक “साक्षी” ले शरणार्थीको पहिलो वर्ष आगमनको कथा भनेको छ भने “अलविदा बेलडाँगी” ले विलयको अर्थात अन्त्यको कथा भनेको छ ।

यसै गरी ‘सपनाको समाधि’ का उपन्यासकार डा. तारालाल श्रेष्ठले भूटानी शासकहरूले ग्राण्ड डिजाइनका आधारमा भूटानका झण्डै एक चौथाइ नागरिकलाई अनागरिक बनाइएको र एक जनालाई पनि स्वदेश फिर्ती नगरिएको घटना विश्वमै एक मात्र रहेको बताए । उनले आफू गैरशरणार्थी र गैरदलित भए पनि शरणार्थी र दलितका बारेका पक्षमा सदैब बोलिरहने अठोट व्यक्त गरे ।

हाल फिलिपिन्समा रहेर धानका विषयमा अनुसन्धान गरिरहेका भूटानी शरणार्थी डा. गोविन्द रिजालले सन् १९९३ मा गङ्गाराम लामिटारेको अध्यक्षतामा नेपाली भाषा परिषद, भूटान गठन भएको र पछि त्यसलाई नेपाली साहित्य परिषद, भूटान नामकरण गरिएको स्मरण गरे । “अमेरिका गएका नेपालीभाषी भूटानीहरूले पनि आफ्ना छोराछोरीलाई फरर्र नेपाली पढ्न र लेख्नसक्ने बनाउन चाहेका छन्”, डा. रिजालले भने, “बीस वर्ष पहिला नै काठमाडौँमा शरणार्थीका बारेमा यसरी बहस हुनसकेको भए शायद भूटानी शरणार्थीले त्यति धेरै अपहेलना खेप्नुपर्ने थिएन कि !” 

2 COMMENTS