Home नेपाली समाचार न्यु ह्याम्सरमा वृद्धवृद्धाहरू सम्मानित

न्यु ह्याम्सरमा वृद्धवृद्धाहरू सम्मानित

1

न्यु ह्याम्सर – भूट्निज कम्युनिटी अफ न्यु ह्याम्सर (बिसिएनएच) ले जनवरी २१ मा राज्यमा बसोबास गर्ने ६५ वर्षभन्दा बढी उमेरका भूटानी वृद्धवृद्धाहरूलाई सम्मान गर्‍यो ।

मार्टिन लुथर किङ डेको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रमलाई न्यु इंगल्याण्ड फार्म वर्कर्स काउन्सिलले सह-प्रायोजन गरेको थियो । कार्यक्रममा न्यु ह्याम्सर राज्यका भूटानी बसोबास गराइएका लकोनिया ५, कंकर्ड ५२ र ‘म्यानचेस्टर’ का ४८ जना गरी कूल १ सय ५ जना पाकाहरू सम्मानित हुनुभएको थियो ।

कार्यक्रममा उपस्थित महानुभावहरु। फोटो: राजेश कोइराला

कार्यक्रमको सुरूमा ‘प्याथेटिक एक्जाइल’ नामक वृतचित्र देखाइएको थियो । भूटानी शरणार्थीको अमेरिकामा बसोबास थालिएयता यस समुदायलाई सहयोग गर्दै आएका डग हलले नेपालीमा स्वागत मन्तव्य दिनुभएको थियो । हलले सन् १९६० को दशकमा आधा दशकभन्दा बढी समय नेपालमा पिसकोर स्वयंसेवकका रूपमा बिताउनुभएको हो ।

भूटानी पाकाहरूको सम्मान कार्यक्रम यस वर्ष गत तिहारमा खेलिएको देउसीबाट उठेको २ हजार ४ सय डलरले संभव भएको बिसिएनएचका तर्फबाट भगिरथ खतिवडाले प्रष्ट पार्नु भयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘ठूलो इच्छा हुँदाहुँदै पनि गर्न सकिएको थियो । परिस्थिति त्यस्तै भयो । आज ठूलो काम गरेको महसुस भएको छ ।’

सन् २००८ यता यो राज्यमा आइबसेपछि निधन भएका ६ जना पाकाहरूको सम्मान भने एक मिनट मौनधारण गरेर गरिएको थियो ।

‘पानी मीठो’, ‘चोरी भो चोरी भो’, ‘आकाशैको कालो बादल’, ‘कहाँ होला, कस्तो होला’ जस्ता गीतमा स्कूले भाई-बहिनीहरूले आकर्षक नृत्य देखाएका थिए । युवा गायक विधान कालिकोटेले दुइटा गीत गाएर सानादेखि ठूला सबैलाई नचाउन सफल हुनु भएको थियो । रवि मिश्रले गीत र प्रजा गौतमलले श्लोक सुनाउनु भयो । एसबी गुरूङले गीत गाउनुभएको थियो ।

सांस्कृतिक झलक प्रस्तुत गर्दै कलाकारहरु। फोटो: राजेश कोइराला

कार्यक्रमको सबभन्दा लोभलाग्दो पक्ष भने तेस्रो पुस्ताले पहिलो पुस्तालाई सम्मान गरेको रह्यो । सम्मानित पाकाहरू सक्ने मञ्चमा पुग्नु हुन्थ्यो भने नसक्नेलाई बसेकै ठाउँमा पुगेर हाइस्कूल पढ्दै गरेका नाति-नातीनाले सम्मान गरेका थिए ।

कार्यक्रममा समाजसेवी डग हलले बिसिएनएचको आधिकारिक वेबसाइट ‘www.bhutanesecommunitynh.org‘ को सुरुवात गर्नु भयो । वेबसाइट सुरुवात गर्दै बिसिएनएचका टिका आचार्य र अन्य पदाधिकारी तथा बिसिएनएचको कार्यालयका कर्मचारीको परिचय गराइएको थियो ।

अन्त्यमा आउँदो गर्मीमा वासिङ्टन डिसी भ्रमणमा जाने योजना बनाएका १० जना हाइस्कूलका छात्र-छात्राले बेचेका राफल चिट्ठा खेलाइएको र त्यसको पुरस्कार वितरण गरिएको थियो। सन् २०१२ डिसेम्बरसम्म ६३ हजार ५ सय २४ जना भूटानीहरु अमेरिका आइसक्नु भएको छ भने न्यु ह्याम्सर राज्यमा करिब २ हजारको बसोबास छ ।

राजेश कोइराला

1 COMMENT