नेपाली-भाषी भूटानी साहित्यिक आकाशमा अर्को कृतिः ऐनामा देश

26644
14491

सञ्चारकर्म, भाषाकर्म गर्दागर्दै सि.एम. निरौला कथाकारका रूपमा आएका छन् । उनको कथाकृति ‘ऐनामा देश’ आएको छ । आएको छ, के भनौं, दुई महिनाअघि ह्यारिसबर्ग, पेन्सलभेनिया घुम्न जाँदा कथाकार भेटिए । लेखकबाटै पुस्तक पाएँ । पढेर दुई अक्षर लेख्न जाँगर भएका मानिसका हातमा किताब राखेपछि लेखकले किताबको समीक्षाको लालसा गर्नु स्वभाविक हो ।

‘ऐनामा देश’का २४ कथा भूटान, नेपाल, हुँदै अमेरिका आइपुग्छन् । विषयान्तरको प्रसंग उठ्दा कथा राष्ट्रियता, सामाजिक भावना, कुरीति अनि कुसंस्कार, लैङ्गिक विभेदता, जातिय र धार्मिक विविधता आदिको सेरोफेरोमा छन् । खोक्रो आडम्बरको छाला भिरेर स्वयंलाइ राष्ट्रवादी, समाजवादी अनि बौद्धिक वर्गमा पर्छु भनेर ठान्नेहरूको धज्जी उडाएको पाइन्छ । शरणार्थीजस्तो कहालीलाग्दो जीवन जीउनुपर्दाको पीडा एकापट्टी त अर्कापट्टी सात समुद्र बिरानो मुलुकमा भाषा र संस्कृतिको समस्यामा छट्पटिनुको पीडा, यी दुवै पीडाका कारण र निवारण यदाकदा कथाकारले उदृत् गरेका छन् । सरल र सुलभ भाषाको प्रयोग गरी, सजिलैसँग बुझ्न सकिनु कथाको सबल पक्ष हो भने कथालाइ थप वर्णनात्मक विश्लेषण नगर्नु र सलल बगेको अवस्थामा बिचमै दुई पात्रहरूको संवाद काटिनु र कथाले अर्कै मोड लिनु कथाको दुर्वल पक्ष हो । हो, यहीँनेर कथाकारको परिपक्वता देखिँदैन ।

‘ऐनामा देश’ कथासंग्रहभित्रको एउटा कथा हो । यस कथामा लेखकले आफ्नो प्राणभन्दा प्यारो देश छोड्नुपर्दाको पीडा व्यक्त गरेका छन् । देशविहिन किन हुनु प-यो ? के साँच्चिकै सार्छोप र ङालोङहरूले हामी लोछाम्पाहरूमाथि अन्याय र अत्यचार गरेकै थिए त ? थिए भने के सबैले ? उक्त प्रश्नहरूको उत्तर यस कथाको शिर्षकमा पाइन्छ । कथाअनुसार सबै सार्छोप र ङालोङहरू तानाशाही थिएनन् । कतिपयहरू लोछाम्पाहरूको हित र भलो चाहन्थे । जस्तै कथामा भनिएको छ, “तर सबै चाहिँ त्यस्ता थिएनन् है, मलाइ गेलेफुमा एकजना डासुले त देश नछाड्न भनेको थियो तर सबै हिँडेपछी हिँड्नैप-यो” । (पृष्ठ : २) मास्तिरको माइलो हरिबहादुरको छोरो हर्के, मनमायाको छोरो मनबहादुर आदी सबैले होहल्लाको भरमा देश छोडेका र कथाकार स्वयं पनि होहल्लाको भिक्टिम भएर देश छोड्नु परेको बताएका छन् । कथाकार र माथि लिखित नामहरू केही प्रतिनिधि पात्र मात्र हुन् । प्राय: सबै त भन्न मिल्दैन – दक्षिण भूटानीहरूले तत्कालिन समयमा देश छोड्नुपर्दाको हविगत यही हो त ?

‘अधुरो प्रेम’ अर्को कथा हो । उक्त शिर्षकमा कथाकारले शरणार्थी जीवनको कष्टकर समयमा पनि नारी र पुरूषबिच के कसरी प्रेमको आभास गरिन्थ्यो भनेर उक्त समाजको विम्ब उतारेका छन् । अहिलेजस्तो फेसबुक र स्न्यापचाटको जमाना थिएन, उसबेला । सेतो स्कूले सर्टमा पनि प्रेमको आनन्द पाइन्थ्यो अभिव्यक्त नगरेता पनि । यिनै सुन्दर भोगाइ र शरणार्थी क्याम्पको झझल्को आउने वातावरण निर्माण गर्न सक्नु नै कथाको सबल पक्ष हो । यद्यपि कथाकी पात्र शर्मिला जो उसबेला कथाकारको सेतो स्कूले सर्ट चोरेर लाउँदा प्रेमको परम आनन्द पाउने गर्थिन्, आज करिब पन्ध्र वर्षपछी भेट्दा उनि एक विवाहित भएर पनि अर्को एक विवाहित पुरूष जस्लाई उनले बाल्यकालमा एकतर्फी मन पराउने गर्थिन्, उसँग आज पनि सोह्र-सत्रे जवानी झैं प्रेम र प्रणयका कुरा गर्न आतुर हुन्छिन् ।

अर्को कथा ‘काठमाडौँ नाइट बस’ मा लेखकले राजनीतिक संघर्ष, तत्कालिन पार्टीले शरणार्थी शिविरमा निम्त्याएको समस्या र त्यसको हल गर्न खोज्दा जीवनमा आइपरेको अप्रत्याशित एवं ऐतिहासिक घटनालाई मर्मस्पर्शी तरिकाले समावेश गरेका छन् । यसमाथि धेरै राजनीतिक छलफल गर्ने जमर्को गरिन मैले । तर पनि कथामा केही राजनीतिक पात्रहरूको पूर्ण परिचयको अपूर्णता भेट्टाएँ, जस्तैः टेकनाथ रिजाल र बलराम पौड्याल को थिए ? उनीहरूले भूटानी राजनीतिक क्षेत्रमा के कस्तो योगदान दिएका छन् ? लेखकले यी प्रश्नहरूलाई मद्यनजरमा राख्दै उहाँहरूको परिचय दिएको भए सुनमा सुगन्ध हुन्थ्यो ।

प्रेमरूपी भावना प्रकट गरेको छ ‘माया’ नामक कथाले । गोकर्णले इभानालाई एकोहोरो औधी मन पराउँछ । मान्छेको मनै न हो, कहिले कहाँ गएर टुङ्गिन्छ थाहा नै हुँदैन । गोकर्ण र इभानाको प्रेममा पनि यस्तै पाएँ । सुरूमा इभानाले गोकर्णलाई मन नपराएता पनि अन्त्यमा उसको प्रेमले सफलता पाएको छ । पुरूष पात्रको सबै नेपाली नाम हुँदाहुँदै महिला पात्रको नाम मात्र चाहिँ किन अंग्रेजी राखेको होला ? पढ्दै जाँदा यस प्रश्नले घोचिरह्यो र उत्तर मैले कहिँ भेट्न सकिन । भरसक कुनै सँच्चा नेपाली नाम जस्तै फूलकुमारी, बास्मती, राधिका, सुन्तली आदी राखेर कथामा उनको सौन्दर्यताको थप वर्णन गरेको भए अझ गहकिलो हुन्थ्यो ।

वर्षौंदेखि नारीहरूमाथि भइरहेको अन्याय-अत्याचार र सामाजिक उछृङ्खलताविरूद्ध दरिलो प्रहार हो, कथा ‘नोटबुक’ । एसिडले गर्दा नारीहरूको सुन्दर रूप कुरूप हुनुपरेको र पटकपटक नारीहरूको अस्मिता गुम्नुपरेको कथा सुनेर कथाकारको मुटुभित्र यसविरूद्ध आवाज उठाउने राँको दन्किएको पाइन्छ । कथाले नारीवादी स्वरलाई मुखकृत गरेको पाइन्छ । यिनै दबाइएका नारीहरूको प्रतिनिधित्व गर्दै कथामार्फत कथाकारले पौराणिक कालदेखि नै नारीहरूमाथि उत्पीडन भइरहेको कुरालाई थप पुष्टी गर्न खोजेका छन् । युगौंदेखि आएको यो लैंगिक विभेदता कहिलेसम्म ? अब त अन्त्य हुनैपर्छ नत्र जहाँ नारीकी सम्मान हुँदैन त्यहाँ कदापी सुख र शान्ति हुँदैन । ‘नोटबुक’ कथा यसै भन्छ ।

‘रङ्गभेद’ कथा अत्यन्त मार्मिक, सम्वेदनशील र सान्दर्भिक छ । बाहिरबाट हेर्दा अमेरिका जस्तो देखिन्छ त्यस्तो भने पटक्कै छैन । गरिब र धनीबिचको विभेद, भाषाको समस्या र रंगभेदको विभेदले आक्रान्त पारेको छ, हाम्रो समाजलाइ । कुनै रङ्ग विभेद र भाषाको समस्यामा चपेटिएका छन्, कथाका पात्र रूपेश । कथाकारले रूपेशलाई कार एक्सिडेन्ट पर्दाखेरि सहयोग पनि गरेका छन् । कथाको अन्तिममा कथाकारका निजी मित्र अमेरिकी वकीलले पनि यो रङ्गभेद एक जटिल र घिनलाग्दो समस्या भएको प्रष्ट्याउँछिन् । उनी भन्छिन्, “रेसिज्म सक्स” । रूपेश यस कथाका प्रतिनिधि पात्र मात्र हुन् । यस्ता समस्या संयुक्त राज्य अमेरिकामा हज्जारौंले भोग्नुपरेको छ र यसबाट सजिलै हार नखान कथाकारले पाठकलाई प्रोत्साहन गरेको पाइन्छ ।

‘विद्वान नोकर’ समाजको सत्यघटनामा आधारित कथा शिर्षक हो । एकातिर अर्काको कुरा काट्ने र उसको आत्मसम्मानको धज्जे उडाउने व्यक्तिहरूको व्याख्या गरिएको छ भने अर्कातिर आफू स्वयंलाई सर्वैसर्वा ठान्नेहरूको व्यवहारको वर्णन गरेका छन् । दिनभरी मजदुर भएर काम गर्नेहरूको घरमा हातमुख जोर्न समस्या हुन्छ अनि बाहिर भने आफू ठुलै दर्जाको काम गर्छु भनेर स्वाङ पार्ने व्यक्तिहरूमाथि चोटिलो प्रहार गरेका छन् ।

Copies of the book. Photo courtesy/Bhanu Dhungana.

‘मलाम जाँदै गर्दा’ नामको कथामा कथाकारले एक सामाजिक परिवेशबारे पूर्वीय र पाश्चात्य दर्शनको दृष्टिकोणबाट व्याख्या गरेका छन् । कथाको प्रारम्भमा पास्चात्य मुलुकमा मलाम जाँदा कोट पेन्ट र टाई लगाइने अनि पूर्वीय मुलुक विशेष गरी हिन्दूहरूको काजकृयामा जाँदा उक्त पोशाक नलगाइने कुराको प्रष्ट पारेका छन् । मध्यान्हतिर कथामा युवाहरूले आफ्नो कला र संस्कृतिको अवहेलना गरिरहेका छन् भन्दै तीव्र आलोचना गरेका छन् । पूर्वीय हिन्दू दर्शनअनुसार पैँतालिस दिनदेखि सोह्र दिनमा झरेको काजकृयालाई अझै घटाएर कि ९ दिन या ३ दिनमा समाप्त गर्न शास्त्रअनुसार हित छ ? यिनै प्रश्नहरूले लेखकको मन विचलित पारेको पाइन्छ यस कथा शिर्षकमा ।

प्रत्येक मान्छे एउटै हुन् । चाहे त्यो धनी होस् या गरिब, उच्च जातको होस् या तल्लो जातको । जात कसले र किन बनायो ? छुवाछुत र जातीय भेदभावले हाम्रो समाजलाई सभ्य र उन्नतिभन्दा पनि कतै अद्योगतितर्फ पो लगिरहेको छैन ? यिनै प्रश्नहरूको एकमुष्ठ उत्तर हो, ‘मकै बारीकी बाटुली’ कथा ।

‘धिक्कार छ आमा तिमीलाई’ कथामा पाँच आमाहरूको वर्णन गरिएको छ । भूटान आमालाई भने कायर र निर्दयी भनी धिक्कारेका छन् । कारण आफ्नै कोखमा आफ्नै सन्ततीको शोषण र दमन भएको हेरिरहनुभएकाले । तर मैले व्यक्तिगत रूपमा भन्नुपर्दा भूटान आमालाइ धिक्कार्नु कथामा कथाकारले त्यति शोभनीय र समय सान्दर्भिक लागेन । किनभने आमा कहिल्यै पनि दण्डकी पात्र हुँदिनन् । उनी पुजनीय तथा सम्मानकी पात्र हुन् ।

‘हेरिसबर्ग’ कथामा अमेरिकाको पेन्सलभेनिया राज्यको राजधानी शहरअन्तर्गतको यथार्थ चित्रण हो । यहाँ करिब बिस हजार नेपाली-भाषी भूटानी अमेरिकीले बसोबास गर्छन् । कतै धर्ममा बेचबिखन, युवापुस्ताले वयोवृद्धहरूको सम्मान नगर्ने, बौद्धिक वर्गहरूले पनि युवापुस्ताहरूलाई माया र आदर नगर्ने जस्ता समस्याहरूको उठाएका छन्, कथामार्फत ।

‘टिकटककी केटी’ यस कृतिको अन्तिम कथा हो । कथामा वर्तमान सामाजिक सन्जाल जस्तै टिकटकले निम्त्याएको विकराल समस्या र त्यसको हल दिएका छन् । कहिलेकाहिँ अपरिचित व्यक्ती जोसँग केवल टिकटक वा फेसबुकमा परिचय भएको छ उनिहरूलाई मनपेट दिएर घरको सबै वास्तविकता बताउनु आफनै खुट्टामा बन्चरो हान्नु रहेछ भन्ने यस कथाको मुख्य आशय पाइयो ।

‘बिरालाको बस्ती’, ‘खुसी फर्किएको दिन’, ‘कथा बस्तीकी शर्मिला’, ‘अन्योल’, ‘संस्कार सुधार’, ‘सेते’, ‘बोका र खसी’, ‘कमला’, ‘ऊ बेला’, ‘समाजसेवी दाइ’, ‘कविता भित्रको कथा’, ‘पुरुषवाद’ समेत कथा भएको यो कृतिको आवरण रंगिन छ । कूल १०६+४ पृष्ठको पुस्तकको मूल्यः १२ डलर र नेपालका लागि २५० रूपैयाँ राखिएको छ । पुस्तकको प्रकाशक राधिका धिताल निरौला (कथाकारकै अर्धाङ्गिनी) छन् भने मुद्रण सिग्देल अफसेट प्रेस, तनहुँ, नेपालमा सन् २०२१ मा गरिएको हो ।

सम्पूर्ण कथाहरू पढिसकेपछी कथाकारलाई साधुवाद भन्न मनलाग्यो, नेपाली-भाषी भूटानी साहित्यिक आकाश फराकिलो पार्न आफ्नो बुताले भ्याएअनुसारको कथाकृति लेखेकोमा !