दशैं-तिहार अर्को वर्ष पनि आउँछ

26644
1278

दशैंका सांस्कृतिक/ ऐतिहासिक पक्षहरु जे जे भए पनि सामान्य बुझाइमा दशैं भनेको सुख, खुशी र आनन्दको उत्सव हो । तर, यो वर्षको उत्सव केही फिक्का हुने यो बेलाको परिवेश छ ।  कोभिड-१९ नाम दिइएको एउटा विश्वव्यापी हैंजा-संक्रमणले आजको परिवेश बिगारिदिएको छ । मान्छेसित धन नभए पनि ज्यान स्वस्थ छ भने आनन्दित हुन सकिन्छ भन्ने कुरो तपाईं हामीलाई कसैले सिकाइरहनु पर्दैन ।

त्यसो हुनाले अर्को वर्षसम्म बाँचिएला नबाँचिएला, दशैं त मोजमस्तिका साथ मनाउनैपर्छ भन्ने जिद्धि नगरौं । आफन्तहरु पनि प्रविधिको प्रयोगमार्फत भेटघाट गर्न सकिन्छ ।  उहिले प्रविधिको विकास नहुँदै विकास भएको सामाजिक संस्कृतिको प्रतिविम्ब मात्र हो दशैं । हामी सबै स्वस्थ भई बाँचिराखे दशैं त अर्का अर्का वर्षहरु पनि हाम्रो अगाडि आई नै रहनेछ !

शुरु शुरुमा कोभिड-१९ को संक्रमणबाट मानिसहरु धेरै त्रसित थिए । तर, यतिबेला यसलाई मानिसहरुले उपेक्षा गर्न थालेका छन् । हल्का रूपमा लिन थालेका छन् ।

त्यसको तात्पर्य, हैंजाको प्रभाव घटेको छ भन्ने होइन । अहिले पनि मानिसहरुको अधिक चहल-पहल बढ्यो भने यो रोगको सङ्क्रमणलाई रोक्न सकिँदैन । कोभिड संक्रमित व्यक्तिलाई उपचारमा ढिलाइ भएमा बँचाउन सकिँदैन भन्ने स्वास्थ्य विशेषज्ञहरुको सल्लाह सबैले मान्नुपर्ने हुन्छ । अहिलेको परिस्थितिमा स्वास्थ्यकर्मीहरु नै यस धर्तीका देउता वा भगवान हुन् जसका अगाडि आपतको घडीमा मानिसहरु नतमस्क हुन्छन्/हुनै पर्दछ ।

स्वास्थ्य विशेषज्ञहरुका अनुसार कोभिड संक्रमित व्यक्तिको स्वास-प्रश्वासमा अक्सिजनको मात्रा घट्तै जान्छ । मानिसले आफैं आफ्नो शरीरले ग्रहण गर्ने अक्सिजनको मात्रा थाहा पाइरहेको हुँदैन । शरीरमा आवश्यक अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम भएपछि त्यो मानिसमा रोगप्रतिरोधक क्षमता घट्तै जान्छ र उसको मृत्युको सम्भावना बढ्दै जान्छ ।

विश्वका कति देशमा स्वास्थ्यकर्मीहरुले कोभिड संक्रमितलाई ९० प्रतिशतभन्दा तल अक्सिजनको मात्रा झरेपछिमात्र उपचार शुरु गरेका कारण मृतकहरुको संख्या कहाली लाग्दो रूपमा बढेको केही विशेषज्ञहरुको दाबी छ । रोगीको शरीरमा अक्सिजन ९० प्रतिभन्दा माथि हुँदै उपचार गरिएमा रोगी मृत्यु नहुने कुरा कोभिडको असर कम भएका केही देशहरुले उदाहरण पेश गरिसकेका छन् । नेपालमै पनि यस्तो उदाहरणीय काम भएको छ पत्र-पत्रिकामा लेख र समाचारहरु पढ्न पाइँदैछ ।

अमेरिकामा पनि पहिलेको मान्यता के थियो भने अक्सिजनको मात्रा ९० प्रतिशतसम्म घटुञ्जेल अस्पतालहरुमा रोगीलाई सामान्य रूपमा राखिन्थ्यो । त्यसो गरिनाले संक्रमितहरु अचानक सिकिस्त हुँदै उनीहरुको शरीरको अक्सिजन तल तल झर्दै ७० सम्म पुग्थ्यो भने उनीहरु आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा पुग्थे । तर, अहिले उपचारमा सचेतना विकास भएको छ र मर्नेहरुको संख्या पनि धेरै घटेको छ । यद्यपि, संक्रमणको क्रममा कुनै कमी आएको छैन ।

एकजना नेपाली स्वास्थ्यविज्ञका अनुसार कोभिडको सवालमा ‘Contact Camp’ अति महत्वपूर्ण हुन्छ । यसको अर्थ कोभिडबाट संक्रमित व्यक्तिसित तपाईंले कति समय बिताउनु भयो भन्ने हो । दश मिनटभन्दा बढी तपाईंले कुनै कोभिड संक्रमित व्यक्तिका निकटमा बिताउनुभयो भने तपाईंलाई कोभिड सर्ने लगभग निश्चित हुन्छ । तर, दश मिनटभन्दा कम समय सम्पर्क हुँदा कोभिड सर्दैन भन्ने पनि होइन । त्यसैले भौतिक दूरीलाई कोभिडबाट जोगिने अर्को मूल आधार मानिएको छ ।

अहिलेसम्म कोभिड एक व्यक्तिबाट अर्को व्यक्तिमा कुन कुन माध्यमले सर्छ भन्ने कुरामा विश्वका स्वास्थ्य विशेषज्ञहरु एकमत छैनन् । तर, मूलरूपमा सासबाटै सर्छ भन्ने कुरामा चाहिं सबैको मतैक्यता देखिन्छ । यही भएर मुखौटो लगाएर मुख छोप्ने चलन विकसित भएको हो । तर, मानिसहरु कानमा मुखौटोको उजिण्डो सिउरिन्छन् मात्र, मुख-नाक राम्रो गरी ढाकेर हिँड्दैनन् ।

‘मुखौटोको उपयोग’ हाम्रो लागि समस्याको विषय बनेको छ । आपसमा बोलीचाली गर्ने क्रममा कि मुखौटो खोलिन्छ कि त चिउँडोसम्म झारिन्छ । यो आदतले नजिकै भएको मानिसलाई पनि सकस हुन्छ । यो हरकतले नै किटाणु एकजनाबाट अर्कोमा सर्छ । त्यसकारण मुखौटोलाई कसरी प्रयोग गर्ने भन्ने कुरा नै आजको सबैभन्दा ठूलो सरोकारको विषय हो । मुखौटो प्रयोगको शैली र प्रवृत्तिमा सचेतना हुनुपऱ्यो ।

बजारको किनमेल गर्दा विचार गरौं
यो चाडपर्व र उत्सवको समय हो । यतिबेला बुढा-पाकादेखि केटाकेटीसम्म बजारमा जान्छन् । सामान किन्ने क्रममा सामान छान्नेदेखि सामानको मोलतौल गर्दै गर्दा १५ देखि २० मिनेटसम्म वा त्योभन्दा अधिक पनि निकट व्यक्तिसित हाम्रो सम्पर्क हुन्छ ।

दोकाने र ग्राहकमध्ये कोही सङ्क्रमित हुन सक्छन् । त्यस्तो अवस्थामा दोकानवालाले भीडलाई कसरी व्यवस्थापन गरेको छ भन्ने जस्ता कुराले फरक पार्दछ । दोकानमा जानुभन्दा अगाडि हात धुने र स्यानिटाइजरको व्यवस्था गरेको छ कि छैन भन्ने कुराले पनि फरक पार्छ । यदि कसैलाई थोरै पनि लक्षण छ भने त्यसरी दोकानहरुमा नजानु नै कल्याणकारी काम हुनसक्छ किनभने आफूलाई संक्रमणको आशंका भएको कुरा अरुलाई थाहा पनि हुँदैन । अरुबाट मात्र जोगिने होइन, आफ्नो कारणले अरुलाई घातक हुने कामबाट स्वयं पनि जोगिनु राम्रो हो ।

कोभिड-१९ किटाणु कुनै पनि प्रकारको धातुजस्तो वस्तुमा ४० देखि ४८ घण्टासम्म टिक्छ । कपडामा पनि झण्डै दुई दिनसम्म रहने अध्ययनले जनाएको छ । हामीले किनेर ल्याएका सामानलाई ५/६  घण्टासम्म घाममा सुकाउने वा लण्ड्रीको वार्मरमा राखिएमा किटाणुहरु मर्छन् भन्ने वैज्ञानिकहरुको अनुमानित मान्यता रहेको छ । यसकारण सामान किनेर ल्याएपछि घरमा कसरी भित्र्याउने र कसरी राख्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । कुनै पनि कपडा धुन मिल्ने भए धोइ-सुकाइ गरेर मात्र भित्र लानु राम्रो हो । धुन नमिल्ने भए पनि केही घण्टा सुकाएर प्रयोग गर्नु उचित कदम हुन्छ ।

टीका ग्रहण गर्ने क्रम
टीका लगाउँदा सबैले शतर्कता अपनाउनु श्रेयश्कर हुनेछ । टीका लगाउने र टीका थाप्नेमध्ये कोही संक्रमित छन् कि भन्ने कुरामा पूरै ध्यान दिनुपर्छ । कसैलाई खोकी लागेको वा रुघा लागेको छ भने सकेसम्म टीका नै नलगाएको राम्रो हुन्छ ।

यस्तै शुरुमा सबैले राम्रोसँग साबुनपानीले हात धुने र मुखौटो लगाएर टीकाको आदान-प्रदान गर्न सकिन्छ । घरमा धेरै मानिस छन् भने वा एउटाले धेरै मानिसलाई लगाउनुछ भने एउटालाई लगाइसकेपछि हात धोएर वा स्यानिटाइजर लगाएर अर्कोलाई लगाउन सकिन्छ ।

आफैंप्रति अधिक-विश्वासको घमण्ड गर्नु मूर्खता हो । जो जिद्धि वा ढिप्पि गरेर संक्रमणको सम्भावनाप्रति उदासीन हुन्छन्, तिनीहरु बढी संक्रमित भएका छन् । अस्पतालहरुमा बिरामीको उपचार गर्ने लाखौं स्वास्थ्यकर्मीहरु थिए । तर, जो जो सतर्क रहे उनीहरु नै सुरक्षित रहे । सतर्क नहुनेहरु अरुलाई उपचार गर्दा गर्दै आफैं संक्रमित भएर बिते पनि । त्यसर्थ, आफ्नो अगाडि भएका व्यक्तिमा कोभिडको संक्रमण ‘छ कि’ भनेर सतर्क हुनु नै संक्रमणबाट बँच्ने मूल उपायमध्येको एक हो ।

‘आफ्नो मान्छे र अर्काको मान्छे’
‘फलाना त आफ्नै पर्छन्, तिनलाई कोरोना छैन । भेला हुँदा केही पनि हुँदैन !’ गाउँतिर यस्ता कुरा थुप्रै सुनिन्छन् । तर, रोग वा हैंजाले आफ्नो र अर्काको भनेर नाता-सम्बन्ध छुट्याउँदैन । कोही व्यक्तिहरु घर बाहिर गई जागिर गर्ने, कामकाजमा हिँडिरहने भएर पनि कोभिडबाट जोगिएकै छन् तर, कोही ५/६ महिनादेखि घरभित्रै रहँदा पनि कोभिड संक्रमित भइरहेका घटनाहरु प्रशस्तै देखिएका छन् ।

सामान्य रुघाखोकी र कोरोनामा फरक
कोरोनाको खोकी जहिले पनि सुख्खा प्रकारको हुने स्वास्थ्यविज्ञहरुको भनाइ छ । विज्ञ र अनुभवी पीडितहरुको भनाइ अनुसार यस्तो अवस्थाको खोकीमा नाकमा तरल वा सिँगान बग्दैन । स्वास फेर्न गाह्रो हुन्छ । छातीमा एकदमै गह्रुँगो अनुभव गर्छ । आफ्नो फोक्सोमा बाक्लो तरल पदार्थ अथवा लेदो प्रकारको केही जमेको छ र त्यसैकारण हावा छिरेन कि भन्ने अनुभूति हुन्छ । तर, उनीहरुको नाकबाट सिँगान बग्दैन, स्वाँ-स्वाँ बढी हुन्छ । कोरोनाको खोकी एकदमै लामो समयसम्म रहन्छ । खोक्न खोज्दा पनि खोक्न सकिँदैन । बढ्दै बढ्दै गएर पछि बोल्न पनि गाह्रो हुन्छ । तर मौसमी रुघामा खोकी थोरै लाग्छ बढी लाग्छ । नाकबाट सिँगान बग्छ । त्यो भनेको हामीमा भइरहने सामान्य एलर्जी र भाइरल इन्फेक्सनले गर्दा हो ।

अहिले दशैं र तिहारजस्ता चाड-बाडको समय छ । सबै मानिसहरु आफन्तबीच एकापसको भेटघाटमा व्यस्त छन् ।

यो महामारीको समय हो । भावनामा बग्न हुँदैन । आफू बाँचिरहे मात्र आफन्तको सरोकार पनि रहन्छ । त्यसो हुनाले यही वर्ष दशैं-तिहार  आएर जान्छ अनि सकिन्छ भन्ने जस्तो गरी व्यवहार नगरौं । मिल्नेसम्म आफैंसित, आफ्नै चित्तसित सम्झौता गरौं । किनभने दशैं-तिहार त अर्को वर्ष पनि आउँछ । तर, लापरबाही गरेमा त्यो दशैं देख्न तपाईं हामी रहने छैनौं ।