पहिचानको माग गर्दै आन्दोलनमा उत्रिएका १८ जना भूटानी शरणार्थीहरूलाई नेपाल प्रहरीले सोमवार गिरफ्तार गरेको छ ।
भूटानी शरणार्थी शिविर, बेलडाँगीमा आमरण अनसनमा उत्रिएका उनीहरूलाई इलाका प्रहरी कार्यालय, दमकका प्रहरीहरूले गिरफ्तार गरेका हुन् ।
गिरफ्तारीपछि शरणार्थीहरूले हिरासतमै आमरण अनसन शुरु गरेको समूहका संयोजक पूर्ण गौतमले जानकारी दिएका छन् ।
आफूहरू खाँटी शरणार्थी भएको दाबी गर्दै अनसनमा बसेवापत पक्राउ गरिएका ‘परिचय पत्र छूट समूह’ का सदस्यहरूमा ११ जना महिला छन् ।
विश्वको कुनै पनि मानवले पहिचानसहित बाँच्न पाउने अधिकारलाई नेपाल सरकारले हनन गरेको भन्दै नेपाल मानवअधिकार संगठनका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक केपी सुवेदीले विरोध जनाएका छन् । उनले तत्काल माग पूरा गर्न र अनसनकारीहरूलाई रिहा गर्न प्रेस विज्ञप्तिमार्फत आग्रह पनि गरेका छन् ।
अनसनकारीहरूले शिविरमा बुधवार हुने शिविर व्यवस्थापन समितिको निर्वाचन बिथोल्न खोजेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयले दिएको आदेशमा प्रहरीले अनसनकारीलाई नियन्त्रणमा लिएको हो ।
परिचयको माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएका शरणार्थीहरूमध्ये २ हजार १ सय ६ जनाले फारम भरेकोमा एक हजार ८ सय शरणार्थीले परिचय पत्र प्राप्त गरिसकेका छन् ।