Wednesday, September 22, 2021

We recently launched so if you see any technical glitches please email us at: dtimsina@bhutannewsservice.org

घर–आँगनमा गरिने धार्मिक अनुष्ठानमा के समस्या भयो ?

Must Read

तेस्रो मुलुक पुनर्स्थापनापछि आफ्नो आस्था कायम राख्ने धेरैलाई कति धार्मिक अनुष्ठान सजिला भएनन् । पहिलो त यहाँ पनि त्यसरी नै आफ्ना धार्मिक कर्म गर्न पाइने हो वा होइन भन्ने भयो । किनभने धर्म, संस्कृतिकै कारण आफ्नो देश छाड्नु परेको थियो । डर थियो । जब आफ्ना धार्मिक काम गर्न पाइन्छ भन्ने धेरैलाई ज्ञान भयो । आफ्नै तरिकाले मनाउने प्रयास गर्दा सजिलो भने भएन । घरमा यस्तो अनुष्ठान गरिँदा अरुलाई बाधा हुनुहुँदैन भन्ने शुरुमा कसैले बुझाइदिएनन् । यहाँका नियम बुझ्न अलि समय लाग्यो । अहिले अधिकांशले धेरै सजिलो भएको महसुस गर्नुभएको छ ।

को परे, अप्ठ्यारामा ?
सन् २०१८ नोभेम्बर अन्तसम्म अमेरिकामा पुनर्स्थापितको संख्या ९६ हजार १ सय ४७ पुगेको छ । पुनर्स्थापितमध्ये करिब ५७ प्रतिशत हिन्दू, २२ प्रतिशत बौद्ध, ११ प्रतिशत इसाई र १० प्रतिशत किराँत धर्मावलम्बी हुनुहुन्छ । सबै नै सानोतिनो अप्ठ्यारो पर्नुभएको हामीले देखेका छौं ।

के सजिलो ? के अप्ठ्यारो ?
घरभित्र २-४ जना मिलेर अरूलाई बाधा नपुग्ने गरी गरिने जन्मोत्सव, भेटघाट कार्यक्रमले केही अप्ठ्यारो पार्दैन । तर धेरैको संख्यामा भेला हुनुपर्ने धार्मिक अनुष्ठानले भने अप्ठ्यारो पारेको देखिएको हो ।

घरहरुले बोक्नसक्ने तौल हामीले कहिल्यै ख्याल नगरेको तथ्य हो । के एउटा सामान्य घरको तेस्रो तलामा एक सय मानिस भेला हुन सकिन्छ ? प्रश्नको उत्तर सजिलो छैन । त्यसैले घरले बहन गर्ने तौललाई हेक्का राख्नुपर्छ ।
घरभाडामा बस्ने मानिसले जति आफ्नो घर भएकाले सतर्क हुनु नपर्ला । तर घर भएकाको समस्या फरक छन् ।

केही उपाय छन् त ?
घर–आँगनमा अनुष्ठान गर्नुपरे हामीले मुख्य रुपमा दुई निकाय र व्यक्तिलाई सम्पर्क गर्न आवश्यक हुन्छ, ती हुन्ः
१. नगर (सिटी)कार्यालय,
२. स्थानीय प्रहरी तथा
३. आफ्नो छरछिमेक

सम्पर्क मात्र गरेर भएन कुरा बुझाएको हुनुपर्छ । सिटी हल र स्थानीय प्रहरीमा निवेदन दिनुपर्ने हुनसक्छ । अनि छिमेकीलाई के गर्न लागेको हो भनेर बुझाएको हुनुपर्छ ।

नगरहरुले छरछिमेकमा पालना गर्नुपर्ने नियमको संहिता बनाएका हुन्छन् । यसको अध्ययन गरेः कति शुल्क तिर्ने ?, के गल्ती भएमा कति जरिवाना ?, अरू प्रावधान के के छन् ? आदि बुझ्न सकिन्छ ।

प्रहरीलाई जानकारी गराउनु पर्छ । आफ्नो कार्यक्रम के हो ? के के हुन्छ भन्ने स्पष्ट पार्दा जस्तो सजिलो केही हुन्न । अर्को चाही प्रहरीलाई बुझाउन सक्नुभयो भने नगरका नियम, फोहोर व्यवस्थापन, छरछिमेकमा गर्ने व्यवहार जस्ता धेरै जुक्तिहरु सिक्न पाइन्छ ।

अनुष्ठानबारे अंग्रेजी र नेपाली दुवै भाषामा पर्ची बनाएर बाँढे छरछिमेकी, नगरका हाकिम, राज्यस्तरका प्रतिनिधिलाई बुझाउन सजिलो हुन्छ । उहाँहरुलाई स्वागत गर्न पाइन्छ । यो यहाँको समाजमा समायोजन हुने तरिका पनि हो ।

पोकापोकी फोहोर व्यवस्थापन सजिलो हुँदैन । यसका लागि ठूलो बाकस जस्तो भाँडो (डम्पस्टर) भाडामा लिन सकिन्छ ।

अनि भाडामा बस्ने वा सीमित ठाउँ भएका व्यक्तिले सामान्य–भन्दा सामान्य कुरा जुत्ता–चप्पल छरपस्ट छाडिदिनु हुँदैन ।

घरमा कार्यक्रम गर्नेले सार्वजनिक कार्यक्रम गर्ने मापदण्ड पूरा गरिदिनुपर्छ । यसको अनुष्ठान गर्नुअघि नै तयारी हुनुपर्छ ।

अर्को पक्ष भनेको छिमेकीले बुझेको छैन वा उनको स्वीकृति छैन भने हल्ला, र गाडी पार्किङ्गको विषयलाई उनले बोलाउने प्रहरी हो । घर भएका बस्तीमा दशौं वा सयौं गाडी पार्किङ्गका ठाउँ पक्कै हुँदैनन् । निम्तालुले पार्किङ्ग तोकिएको ठाउँमा गरून् ।

सामान्य खालको भेटघाटमा पनि हल्ला हुने सामग्रीको प्रयोग नभएको राम्रो मानिन्छ । राती ८ बजेदेखि बिहान ८ बजेसम्म सुत्ने समय हो भनेर पनि सोच्नुपर्छ । यो भयो, घरभित्रका कुरा । घरबाहिरका सन्दर्भमा भन्नुपर्दा हल्ला गरेर बाधा त पक्कै गर्नुभएन । तर निश्चित समयमा मात्र माइक, स्पिकर आदि चलाउन मिल्छ ।

के बुझ्नुपर्छ भने सानोभन्दा सानो कार्यक्रमले पनि अरुलाई बाधा गर्न सक्छ, र त्यसका विषयमा उजुर गर्न सकिन्छ । कतिपय ठाउँमा निश्चित आकारभन्दा ठूलो पाल राख्न अनुमति लिनुपर्ने हुनसक्छ ।

निस्कने फोहोर एकातिर भयो, अर्कातिर जताततै चुरोटका ठूटा फ्याँक्ने, थुक्ने, अगरबत्ती, मैनबत्ती बाल्ने र अन्य प्रदूषण कसरी कम गर्ने आयोजक चनाखो हुर्नैपर्छ । आगलागी हुनसक्ने भएकाले चुरोटको ठूटा फ्याँक्दा वा अगरबत्ती, मैनबत्ती बाल्दा सतर्क हुनु नै पर्छ ।

सार्वजनिक हलको प्रयोग
अहिले यस्ता अनुष्ठान सार्वजनिक हलमा गर्नेको संख्या बढेको छ । सभ्य समाजका लागि यो उत्तम उपाय हो । समुदायका सदस्यले बुझ्न थाल्नुभएको छ । यसरी कार्यक्रम गर्दा पनि पालना गर्ने हलका नियम छन् । यसमा पनि सिटी हल र स्थानीय प्रहरीसँग सम्पर्क गर्ने तथा खाँचो परे निवेदन दिनुपर्ने हुनसक्छ । हलमा प्रयोग गर्दा हामी पार्किङ्ग, अरु दायित्वहरु, उजुरीबाट बच्छौं ।

(अक्षरिका, डिसेम्बर २०१८ को अंकबाट)

Latest News

लेखनाथ जयन्ती सम्पन्न

ह्यारिस्बर्गः २९ दिसम्बरः आइतवारका दिन यहाँको स्थानीय साहित्यिक संस्था त्रिवेणी साहित्य मञ्चले नेपाली परिष्कारवादी कवि शिरोमणि लेखनाथ पौडेलको स्मृतिमा १३५...

More Articles Like This