आगलागीबाट त्रसित शरणार्थीको पीडा

26644
946

‘अब त चाँडै अमेरिका लगे पनि हुन्थ्यो, महिनैपिच्छे आगलागी हुने यस्तो ठाउँमा बसेर के पो गर्न सकिन्छ र ?’ मोरङस्थित भूटानी शरणार्थी शिविर शनिश्चरेको सेक्टर जी कि मुना वाग्ले शरणार्थी शिविरमा अब बसेर केही गर्न नसकिने भन्ने कुरा दिक्क मान्दै सुनाउँदै थिइन् । तेस्रो मुलुक पुनर्वास अन्तर्गत अमेरिका जाने सुरसारमा रहेकी वाग्लेले मात्र होइन, अहिले शरणार्थी शिविरहरुका अधिकांश शरणार्थी शिविरमा बसी साध्ये नहुने गुनासो गर्छन् ।

झापा र मोरङको शरणार्थी शिविरमा महिनैपिच्छे आगलागीको घटनाबाट शरणार्थीहरुमा एक किसिमको त्रास फैलिएको छ भने शरणार्थीहरुको करोडौंको क्षति हुँदै आएको छ । दातृ सङ्घ संस्थाहरुले दिएको सामाग्रीहरुद्वारा निर्माण गरी बसेका शरणार्थीहरुलाई लगातार हुने आगलागीले पीडामाथि पीडा थपिएको छ । पछिल्लो चार महिना भित्रमा भूटानी शरणार्थी शिविरहरुमा आगलागीका घटनाहरू चारैपटक भएका छन् । सो अवधिमा झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेल्डाँगीमा एकचोटी आगलागीका घटना भयो भने मोरङको शनिश्चरेमा तीन चोटीसम्म भएको छ ।

बाक्लो बस्ती खरको छानो, बाँसको बार भएको छाप्रोको कारणले समेत आगो लागेको थोरै समयमा ठुलो क्षति हुनेगरेको छ । भूटानी शरणार्थी महिला मञ्चकी सह कार्यक्रम व्यवस्थापक टिका विश्वा आगलागीको घटना शिविरमा महिनैपिच्छे हुनुमा शरणार्थी र दातृ निकायको कमजोरी रहेको बताउँछिन् । ‘कहिले विद्यालय, कहिले शिविरको छाप्राहरुमा त कहिले सङ्घ संस्थाहरूको कार्यालयहरुमा आलगागि हुँदै आएता पनि कुनै पनि अपराधी अहिलेसम्म फेला पार्न नसक्नु शरणार्थीको सुरक्षाको मामिलामा काम गर्दै आएका सङ्घ संस्थाहरूको कमजोरी हो । अनि, आफ्नै छाप्रामा किन र कसरी आगलागी हुन्छ भन्ने कुरा थाहा नहुनु शरणार्थीको कमजोरी हो’, उनी भन्छिन्, ‘शिविरमा बढिरहेका आगलागीका घटनाहरुलाई निर्मूल पार्ने काम सङ्घ संस्थाहरुबाट भएता पनि किन र कसले शिविरमा आगो लगाउँछन् भन्ने ठोस कुरा भूटानी शरणार्थी सम्बन्धी दातृ निकाय एलडब्लुएफ, यूएनएचसीआर लगायतका सङ्घ संस्थाहरुले फेला पारेका छैनन् ।

करिब दुई वर्षअघिको आगलागीको घटनाको क्षण सम्झँदै टिका भन्छिन्, ‘दुई वर्षअघि झापाको गोलधाप शरणार्थी शिविर र मोरङको शनिश्चरे शिविरमा एकैदिन आगलागी हुँदा शरणार्थीहरुले अमेरिका छिट्टै जान पाइन्छ भनेर आफ्नो छाप्रोमा आगो लगाएका हुन् भन्ने एक किसिमको भ्रम स्थानीय वासिन्दाहरुमा फैलिएको थियो । तर, खास कारण त्यो होइन, हाम्रो पनि छाप्रा खरानी भएको थियो त्यस बेला । हामीले पनि पीडामाथि पीडा पाएका थियौँ । साँच्चै भन्नुपर्दा कुन मूर्खले आफ्नो छाप्रामा आफैँ आगो लगाउँछ ?’

भूटानी शरणार्थी शिविरहरुमा रहेको महिला मञ्च, युवा मैत्री केन्द्र, बाल मञ्च, शिविर व्यवस्थापन समिति लगायतका सामाजिक संस्थाहरुले आगलागी सम्बन्धित जनचेतनामूलक कार्यक्रम शिविरमा ल्याए पनि शिविरमा हुने आगलागीका घटनाहरू न्यूनिकरणको बाटोतर्फ अघि बढेको देखिँदैन । आगलागीको घटनासँगै शिविरमा विभिन्न प्रकारको आपराधिक घटनाहरू समेत बढिरहेको छ । भूटानी शरणार्थी महिला मञ्चका कार्यक्रम व्यवस्थापन नरबहादुर सुवेदी शिविरमा बस्न आफूलाई डर लागेको बताउँछन् । ‘२२ वर्षसम्म यही शरणार्थी शिविरमा बसियो, तर पछिल्लो समयमा आपराधिक घटनाहरुका साथै आगलागीका घटना बढेका कारण आफूमा एक प्रकारको त्रास फैलिएको छ’, सुवेदीले भने, ‘आफू सामाजिक कार्यमा सक्रिय भएका कारण भोलिका दिनमा आफूलाई आपराधिक समूहले केही गर्लान् कि भन्ने डर लागिसकेको छ ।’

बेलडागी–१ शिविरमा भएको आगलागीको एउटा दृष्य (तश्विरः तिलक निरौला, भूटान समाचार सेवा)

भूटानी शरणार्थीहरुलाई सुरक्षा दिनका निमित्त युएनएचसीआरले शिविरहरुमा प्रहरी पोस्ट राखिदिएका छन् । शरणार्थी शिविरमा प्रहरी पोस्ट रहेता पनि शरणार्थीहरुले सुरक्षा पाएको अनुभूति गरेका छैनन् । भूटानी शरणार्थी युवा प्रकाश अधिकारी भन्छन्, ‘प्रहरीले नै लुटपाट गर्न थालिसकेपछि अब हामीले हाम्रो सुरक्षाको विषयमा कोसँग गएर समस्या उठाउने त ?’ अधिकारीले अझ थपे, ‘यदि प्रहरीले शिविरका शरणार्थीहरुसँग समन्वय गरेर सुरक्षालाई मजबुत पार्न सक्छ भने मात्र शिविरमा बढिरहेको आपराधिक घटनालाई निर्मूल पार्न सक्छ । नत्र भने यस्तो घटनालाई निर्मूल पार्न धेरै कठिन छ ।’

भर्खरै मात्र भूटानी शरणार्थी सशस्त्र प्रहरी बेस क्याम्प नजिकमा रहेको भूटानी शरणार्थी महिला मञ्चको कार्यालयमा आपराधिक समूहले सुनियोजित तरिकाले आगलागी गराएका छन् । चैत ४ गते मध्य राति १२ बजे सुनियोजित तरिकाले लागेको आगोले महिला मञ्चले सञ्चालन गर्दै आएको सिलाइ बुनाइ कपडा उद्योगका साथै उद्योग नजिकै रहेको ६ वटा कोठा जलेर नष्ट भएका थिए । उद्योग नजिकै पसल सञ्चालन गर्दै आएका शरणार्थी शिविर शनिश्चरेको सेक्टर सी- ४ छाप्रा नं. ५२ का ३५ वर्षीय कमल खनाललाई मार्ने नियतले गरिएको आगजनीबाट ८० लाख बराबरीको धनमाल क्षति भएको छ भने पसल सञ्चालन गर्दै आएका खनालको मृत्यु भएको छ ।

राति खनाल पसलमा सुतिरहेको अवस्थामा बाहिरबाट उनलाई मार्ने नियतले ढोकाको चुक्कुल लगाएर आपराधिक समूहले सुनियोजित ढङ्गले आगो लगाएको भूटानी शरणार्थी शिविर शनिश्चरेकी शिविर उपसचिव सावित्रा वाग्लेले बताएकी छिन् । खनालको उपचारको क्रममा चैत ७ गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । यता शरणार्थी शिविर शनिश्चरेका शरणार्थीहरुले आगलागीको घटना सुनियोजित ढङ्गले भएको भन्दै घटनाको सत्य तथ्य छानविन गर्नका लागि स्वतन्त्रता र निष्पक्ष टोली गठन गर्नुपर्ने, अपराधीको खोजी गरी कडा कारबाही गर्नुपर्ने, शिविरमा बढ्दै गएको आपराधिक घटनालाई पूर्णरूपमा बन्द गर्नुपर्ने लगायतका नाराहरुका साथ शिविरमा र्‍यालीको आयोजना गरेका थिए । कोणसभा गरी टुंगिएको र्‍यालीमा पूर्व शिविर सचिव चम्पासिंह राई, पथरी जेसीजका अध्यक्ष अशोक शङ्कर, भूटानी महिला मञ्चकी केन्द्रीय महासचिव, रणमाया चम्लागाई, शिविर उपसचिव सावित्रा वाग्ले, शरणार्थी प्रकाश अधिकारी लगायतले आगलागी घटना शंकास्पद भएका कारण यस घटनाको सत्यतथ्य कुरा बाहिर ल्याउन सम्बन्धित पक्षलाई आग्रह गरेका थिए । खनालको मृत्यु हुनेमा षड्यन्त्र रहेको भन्दै अधिकारवादी सङ्गठनका प्रतिनिधि र भूटानी नेताहरूले घटनाको न्यायिक छानविन गर्न आफूहरु अन्तराष्ट्रिय स्तरसम्म जाने बताएका थिए ।

चैत ७ गते खनालको शोकसभामा अधिकारवादी नेताहरूले सो कुरा बताएका थिए । सभामा भूटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल, मानवअधिकार सङ्गठनका पूर्वाञ्चल संयोजक केपी सुवेदी, भूटानी नेता भम्पा राईलगायतले आगलागी घटनाको निष्पक्ष छानविनका लागि आफूहरु अन्तर्राष्ट्रिय अदालतसम्म जाने बताएका हुन् ।

७ गतेको घटनाअघि वितेका चार महिनामा शनिश्चरे शिविरमा दुईचोटी आगलागी भएको थियो । दीपावलीको समयमा सेक्टर डीमा आगलागी हुँदा ४८ छाप्रा जलेर नष्ट भएका थिए भने सो घटनामा ६० बर्षीया रेणुकादेवी दहाल जलेर घाइते भएकी थिइन् । त्यस्तै डेढ महिनाअघि सेक्टर एलमा भएको आगलागीबाट १० छाप्रा जल्नुको साथै सुवास राई घाइते भएका थिए ।

(भूटान समाचार सेवाका संचारकर्मी गिरीको यो लेख नागरिक दैनिकमा २८ मार्च २०१३ मा प्रकाशित भएको थियो)