भूटानी तान्दै ओहायो राज्य, पुनर्स्थापितमध्ये एक तिहाइ पुग्ने

‘म मे महिनाको शुरुमै यहाँ ओहायोमा हाजिर भएँ । न्यु मेक्सिकोको बसोबास लामो रहेन ।’
– हरि सुवेदी
‘ओहायोले हाम्रा सबै पो लगिसक्यो त । म्यानचेस्टरभन्दा कंकर्डका बढी गए होलान् ।’
– देविका भण्डारी, न्यु ह्याम्सर
‘होइन के छ त्यो ओहायोमा हाम्रा पनि मान्छे त्यतै सर्दैछन् । तपाईंहरूका तिर के छ ?’
– घन दुलाल, सल्ट लेक सिटी, युटा
‘म भने नर्थ डकोटाबाट ओहायो सरेको हुँ । मन्दिर जान साढे ३ घन्टा जानुपर्ने, समाज पनि चाहियो । सबै खोज्दा यतै पो सरियो ।’
– अवि अधिकारी, सिनसिन्याटी
‘म दिनको १५/१६ जना नयाँ मान्छेका लागि इन्टरप्रिटेसन गर्छु । कोही कहाँबाट कोही कहाँबाट सर्नुभएको भेट्छु ।’
– मनोरथ नेपाल, एक्रोन
अमेरिकामा पुनर्स्थापित भूटानीहरू ओहायो सर्ने क्रम यतिबेला तिव्र छ । यो मध्य-पश्चिम राज्यलाई धेरैले दोस्रो घर बनाउनुका धेरै कारणमाः सस्तो घर, नातागोता, कामका अवसर, नागरिकता निकाल्न अलि सहज, मौसम आदि हुन् ।
यो बसाइँसराइको विषय विश्वविद्यालय अनुसन्धाता, पत्रपत्रिका आदिका लागि नयाँ भएको छ ।
संख्या कति ?
अप्रिल ३०, २०१६ सम्म अमेरिकामा पुनर्स्थापित भूटानीको संख्या ८६ हजार ८ सय २८ पुगेको छ । स्टेट डिपार्टमेन्टको यहि तथ्यांकअनुसार ओहायो (Ohio) मा पुनर्स्थापित हुनेको संख्या ७ हजार ५ सय ५४ मात्र हो । ओहायोका यी ठाउँमा पुनर्स्थापितको संख्या यत्ति होः
एक्रोन – २,२४६
बिचउड – १२२
सिनसिन्याटी – ९०३
क्लिवल्यान्ड – ९९०
क्लिवल्यान्ड हाइट्स – ३१९
कोलम्बस – २,३६६
क्युयाहोगा फल्स – १४९
डेटोन – ९६
युक्लिड – २
फिनीटाउन – ५
केन्ट – १०८
लेकउड – १८१
लिबर्टी टाउनशिप – ४
मिडिलटाउन – १
माउन्ट हेल्दि – ६
रेनोल्ड्सबर्ग – ८
रकी रिभर – १२
साउथ युक्लिड – २२
स्टो – ५
स्ट्रिट्सबरो – ४
ओहायोमा यो संख्याको केही गुणा बढी भूटानी भइसक्नुभएको छ । यी अंक कहिँकतै कामै नलाग्ने भएका छन् ।
कोलम्बसस्थित एउटा सामाजिक संस्थाको निर्वाशनमा भोट खसाल्दै एक भूटानी महिला (फायल तश्विर : रोसन संकर)
कोलम्बसस्थित एउटा सामाजिक संस्थाको निर्वाशनमा भोट खसाल्दै एक भूटानी महिला (फायल तश्विर : रोसन संकर)
यति नै भन्न गाह्रो
एशोसियटेड प्रेसले सन् २०१६ जनवरीमा तयार पारेको एउटा समाचारमा भनेको छ, ‘ओहायोमा १५ हजार भूटानी पुगिसके ।’
स्थानीय दिस विक कम्युनिटी न्युजको नर्थ ल्याण्ड न्युजका लागि कोलम्बसमा मात्र १५ हजार पुगेको अनुमान गर्छ । पत्रकार जोन हार्पर अगाडी लेख्छन्, ‘भूटानी तथा दक्षिण एशियाली शरणार्थीहरूले एक्रोन आसपासका सार्वजनिक विद्यालयहरूको रुप नै फेरेका छन् । एक्रोन नर्थ हाइस्कूलमा आधा विद्यार्थी एशियाली मूलका भइसके ।’
स्थानीय डब्लुकेएसयु ८९.७ रेडियोको रिपोर्ट भन्छ, ‘स्थानीय नर्थ हिल क्षेत्रमा मात्र ५ हजार भूटानी बस्छन् ।’
एक्रोनका बासिन्दाका लागि दोभाषे (इन्टरप्रिटेसन) गर्दै आउनुभएका मनोरथ नेपाल भने एक्रोन र कोलम्बसमा मात्र १५ हजार पुगेको अनुमान गर्नुहुन्छ ।
भूटनिज कम्युनिटी अफ सिनसिन्याटीले गरेको एउटा सर्वेक्षणमा ४ सयभन्दा केही बढी परिवार यस शहरमा फेला परेको थियो । औसत ४ जनाका दरले एउटा परिवार गन्ति गर्दा १ हजार ६ सय देखिन्छ, जुन सरकारले बसाएको भन्दा करिब दोब्बर हो । चुपचाप बसेको परिवार यो सर्वेक्षणमा नपरेको अवि बताउनुहुन्छ ।
स्थानीय समाचार-माध्यम, समुदायका अग्रजहरूको तथ्याङ्कलाई जायज हिसाब हेर्ने हो भने ओहायोले २०/२२ हजारभन्दा बढी भूटानीलाई तानिसकेको छ । यो क्रम हेर्दा कम्तिमा ३५-४० हजार पुग्ने, तर त्यति संख्यामा नरोकिने पनि देखिन्छ ।
सराइको रूप
न्यु मेक्सिकोबाट ओहायो सरेका हरि सुवेदी भन्नुहुन्छ, ‘म त ओहायो सरेँ । न्यु मेक्सिकोमा अब ४ घर जति बाँकी हुनुहुन्छ ।’ सरकारी तथ्यांकअनुसार न्यु मेक्सिकोमा कूल १ सय २८ मात्र पुनर्स्थापित हुनुभएको छ । त्यहाँ निमट्यान्न हुने देखिन्छ । अमेरिकामा ४१ राज्यमा मात्र भूटानी पुनर्स्थापना गरिएको छ ।
पहिलोपटक पुनर्स्थापित भएको संख्या सरकारसँग हुन्छ । बसाइँ सरेको बुझ्ने उपाय राज्यको आप्रवास हेर्ने निकायहरूसँग छैन ।
अवि (अभिनाश) अधिकारी भन्नुहुन्छ, ‘पहिलोपटक आउँदा पो यो परिवार यति मितिमा आयो । यति जनाको परिवार छ र यहाँ बस्छ भन्ने थाहा हुन्छ । अहिले त अर्को राज्यबाट केही पैसा लिएर आयो । घर बैना गर्‍यो । किन्यो । सर्‍यो । कसैले पत्तो पाउँदैन ।’
सबै राज्यबाट सर्नेहरू भेटिन्छन् । थोरै संख्यामा पुनर्स्थापित गराइएका राज्यहरू यो बसाइासराइबाट बढी प्रभावित हुने देखिन्छन् ।
किन सर्दैछन् ?
एशोसियटेड प्रेसले आफ्नो जनवरीको समाचारमा भनेको छ, ‘मान्छे थोरै पैसा भए पनि घर किन्दैछन् ।’
मनोरथ भन्नुहुन्छ, ‘मैले न्यु ह्याम्सरमा घर किन्ने कोशिस गरें । ३/४ हजार डलर बैनासैनामा गुमाएँ । यता सस्तो हुने देखेर ३ वर्षअघि यता सरे ।’ ओहायो सर्नुको मुख्य कारण घर नै देखिन्छ । घरकै लागि नेपालले सिकागो, टेक्सस, क्यालिफोर्निया आदिबाट सरेका मानिस फेला पार्नुभएको छ ।
घर किनेर बसिसकेका, नागरिकता लिनसक्ने/लिइसकेका, अलि लेखापढी राम्रो भएका वा शुरूवातीभन्दा राम्रो काम (सिपमुलक काम) गर्न सक्ने, आदिले भने बसाइँ सर्न जाँगर चलाएका छैनन् ।
भूटानी समुदायमा करिब ३५ प्रतिशत अंग्रेजीमा साधारण कुराकानी गर्न सक्ने थियो । पुनर्स्थापनाका लागि स्वास्थ्य-जाँच, अध्यागमनका काममा दोभाषेको प्रयोग गर्ने करिब ९० प्रतिशत भएको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिरभेन्सन (सिडिसी) को रिपोर्टमा उल्लेख छ । अंग्रेजी कम जान्नेहरूले शुरुवाती काममा लाग्नुपर्छ । यसका लागि ओहायो सजिलो छ ।
‘एउटा जागिर नभएको सात दिन नबित्दै अर्को काम पाउँछ,’ धेरैको बुझाइ छ ।
अर्को कारण, पाँच वर्ष भएपछि नागरिक हुन चाहनेलाई ओहायोले निकै तानेकोछ । चिकित्सकले दिने कागज र कानुनी सहायतामा अलि सजिलो भएको छ ।
नातागोता र समाज खोज्ने चलन, अंग्रेजी बोल्न नसक्नेलाई योभन्दा ठूलो के पो हुनसक्छ र !
यहाँको मौसम ठिक्क छ । न तातो न धेरै चिसो । यहाँको सबभन्दा गर्मी ६२.५ डिग्री फहरेनहाइट, सबभन्दा चिसो ४३.३ डिग्री फहरेनहाइट, र औसत तापक्रम ५२.९ डिग्री फहरेनहाइट छ ।
आफू एक्लै पर्ने डर
थोरै घर-परिवार भएका ठाउँमा अब एउटा डर पलाएको छ । ‘सबै गए भने म के गर्छु,’ भन्ने छँदैछ ।
साल्टलेक सिटीका घन दुलालको भनाइ जस्तो, ‘होइन के छ त्यो ओहायोमा हाम्रा पनि मान्छे त्यतै सर्दैछन् । तपाईंहरूका तिर के छ ?’
फिर्ने पनि होलान्ः नारद अधिकारी
नारद अधिकारी म्यासाच्युसेट्समा बस्नुहुन्छ । उहाँको अनुमानमा ओहायो बसाइासराइ उहाँ बस्दै आएको राज्यलाई ठूलो असर पारेको छैन । म्यासाच्युसेट्समा २ हजार ९ सय १४ जना पुनर्स्थापित देखिन्छ । धेरै भूटानीका शिक्षक, अग्रज रहेका अधिकारीसँगको कुराकानीः
० तपाईंको विचारमा यो बसाइँसराइको कारण के होला ?
घर-खरिद सस्तो, कामका प्रशस्त विकल्प, आफन्तहरू बढी, नागरिकता पाउन कानुनी सहायता सहज भएको भेटेको छु ।
० किन यस्तो संख्यामा चाहिं सर्नुभएको हो ?
हामीलाई यता आउनुअघि प्रशिक्षण (ओरिएन्टेसन) मा जे भनिएको हुन्छ । यहाँ जीवन त्यस्तो सजिलो हुँदैन । समयमा काम निस्कनुपर्ने, पाँच वर्ष पुग्दा नागरिकता लिनुपर्ने कुरा त यहाँ आएपछि मात्र थाहा हुन्छ । जादू जस्ता कुरा यहाँ हुँदैनन् । साथीहरू हतारिनु भएको हुनसक्छ ।
० यो खोलो फर्केला त ?
सरेकाबाट सुनेका समस्या पनि छन् । मलाई लाग्छ- जहाँ पहिले आयो, त्यो ठाउँ प्यारो हुन्छ । बाटोघाटो सजिलो भइसकेको हुन्छ । यताउता आफ्नो जस्तो भइसकेको हुन्छ ।
यो ओहायोको भेल सधै उहि गतिमा नरहला । आर्थिक रुपमा दिगो भएपछि, हातमा नागरिकता पाएपछि विस्तारै अन्त फर्कने क्रम पनि देखिन सक्छ ।
मिजुरीको सेन्ट लुइसमा ७० हजार बोस्नियाली, जीवनभर बसाइँसराइ ११ पटकसम्म
पुनर्स्थापनापछि मानिसहरू फेरि कुनै खास ठाउँमा सरेका उदाहरण प्रशस्त छन् । यसको एउटा बलियो उदाहरण हुन्- बोस्नियाली । सन् १९९० को दशकमा अमेरिकाले बोस्नियालीलगायत पूर्व-युगोस्लाभियाबाट करिब एक लाख ४६ हजार शरणार्थीलाई पुनर्स्थापना गर्‍यो । यसमा एक लाख ३० हजार त बोस्नियाली थिए ।
पुनर्स्थापित बोस्नियालीहरू मिजुरीको सेन्ट लुइसतिर तानिए । सन् २०१३ को तथ्यांक-अनुसार सेन्ट लुइसमा मात्र करिब ७० हजार बोस्नियाली बसोबास गर्छन् ।
बोस्नियाबाहिर ठूलो संख्यामा बोस्नियाली रहेको ठाउँ नै सेन्ट लुइस हो । सेन्ट लुइसको कूल जनसंख्या करिब ३ लाख २० हजार छ ।
सन् १९६०/७० मा यहाँ १५ परिवार बोस्नियाली आएर बसेका थिए । पछि आउनेहरूको आकर्षण पहिले आएर बसेका नै भए । त्यहाँ बोस्नियालीको आफ्नै भाषाको पत्रिका, संग्रहालय, टेलिभिजन, रेडियो छन् ।
अमेरिकाभित्र बोस्नियाली पत्रिकाको व्यवसाय करिब त्यहाँ मात्र छ । त्यहाँको संग्रहालय बोस्नियामा भएको नरसंहारप्रति समर्पित छ ।
विविधता भन्दै विभिन्न ठाउँमा पुनर्स्थापित शरणार्थीहरू विस्तारै कुनै खास ठाउँहरूमा केन्द्रित हुने गरेका उदाहरण अरु शरणार्थी समुदायमा पनि छ ।
सन् २०१० को जनगणनाअनुसार अमेरिकामा कम्बोडियाली मूलका करिब २ लाख ७७ हजार मानिस छन् । त्यसमध्ये सबभन्दा बढी क्यालिफोर्नियामा मात्र करिब ८६ हजार छन् भने म्यासाच्युसेट्समा करिब २५ हजार, वासिङ्गटनमा १९ हजार, मिनेसोटामा ८ हजार, रोड आइल्यान्डमा ५ हजार छन् ।
उता अमेरिकामा १६ लाख ७५ हजार भियतनामी छन् । यत्रो संख्याको यो समुदाय भने निकै छरपस्ट देखिए पनि निकै ठाउामा हजारौंको संख्यामा केन्द्रित भएको पाइन्छ । कूल भियतनामी-अमेरिकीमध्ये क्यालिफोर्नियामा मात्र ४० प्रतिशत र टेक्ससमा १२ प्रतिशत छन् ।
अमेरिकामा बसाइँ-सराइ
अमेरिकामा एउटा मानिस ११ पटकसम्म बसाइँ सर्ने अध्ययनले देखाएको छ । १८ वर्षमा दुई पटक सरेको मान्छे ३० वर्ष पुग्दा ६ ठाउँ सर्नसक्छ ।
सौजन्यः अक्षरिकाको मे, २०१६ अंक

Be the first to comment

Leave a Reply